काठमाडौं १ असार / शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयअन्र्तगतको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले यसै शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पारित गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा कक्षा ११ र १२ को पाठ्यक्रम विवादित बनेको छ। पहिलो जीवविज्ञान समूहका विद्यार्थीलाई गणित अध्ययनबाट वञ्चित गरी उत्पादित जनशक्तिलाई स्वदेश तथा विदेशमा समेत विज्ञानको अन्य समूहको विषयबस्तुमा उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। त्यस्तै, सोही समूहको अर्को पाठ्यक्रममा जीवनोपयोगी शिक्षा नामाकरण गरी थप विषयबस्तु अध्ययनको व्यवस्था गरिएको छ। तर कुन समूहका विद्यार्थीले कुन विषयलाई जीवनोपयोगी शिक्षाको रुपमा अध्ययन गर्ने स्पष्ट व्यवस्था नहुँदा विज्ञहरुले यसको आलोचना गरेका छन्।
नेपाल प्रध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले कक्षा ११ र १२ उच्च शिक्षाको जग भएको बताउँदै नयाँ पाठ्क्रमले विद्यालय र विश्वविद्यालयबीचको समन्वय नगरेको औंल्याए। उनले विषय मात्र थपेर जीवनोपयोगी नहुने स्पष्ट पारे। ११ र १२ मा व्यवस्थापन, शिक्षा, विज्ञान, मानविकी लगायतका विभिन्न समूह हुने भएकाले जीवनोपयोगी शिक्षा व्यवहरिक हुने नहुने विषयमा पाठ्यक्रमले अन्योलता देखाएको जनाए।
‘जीवविज्ञानबाट गणित हटाइँदा ती विद्यार्थीले मेडिकल बाहेकका बिएससी सिएसआइटी, बिएसस्सी एग्रीकल्चर, भेटिनरी साइन्स, म्याथमेटिकल साइन्सलगायतका विषयमा उच्च शिक्षा अध्ययन गर्नबाट वन्चित हुनुपर्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘पाठ्यक्रममा थपिएको जीवनोपयोगी शिक्षा भनेको के हो? यसको स्पष्ट व्याख्या नै छैन। विद्यालय शिक्षाको अन्तिम तह कक्षा १२ उत्तीर्ण भएपछि विद्यार्थी कुन विषयमा अघि बढ्ने भनने अन्योल भयो।’
त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले हाल विद्यार्थीले कक्षा ११ र १२ मा पाँच विषय मात्र पठनपाठन गर्दै आएकामा हाल अब सात विषय अध्ययन गर्नुपर्दा थप भार पर्ने जनाए। उनले पाठ्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीलाई जीवनोपायोगी शिक्षा विज्ञानमा त्यति उपयोगी नहुने जनाए। ‘विज्ञानका विद्यार्थीलाई कपाल काट्न, पार्लर , वा यस्तै अन्य सीप सिकाएर के काम ?,’ शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले पारित गरेको नयाँ विद्यालय संरचनाको पाठ्यक्रममा मुख्य कमी यो कुन धार अंगालेको छ त्यही स्पष्ट नभएकाले कार्यान्वयनमै चुनौती थपिने औंल्याए। शिक्षाविद् कोइरालाका अनुसार नयाँ पाठ्यक्रम प्रारुप एकल वा बहु कुन धार हो त्यो स्पष्ट छैन। उनले बाम सरकारले ल्याएको पाठ्यक्रम प्रारुपमा उनीहरुले भन्दै गरेको जनवादी, व्यवहारिक, वैज्ञानिक र उत्पादनसँग जोड्ने विधिलाई पठनपाठनको माध्यममा जोड्ने युक्ति छलफलबिना ल्याइएकाले ठोस रुपमा लिन नसकेको हो।
‘जीवनोपयोगी ज्ञान विद्यालय शिक्षामा दिनु सकारात्मक हो तर कसरी कार्यान्वयन गर्ने यो प्रष्ट हुनुपर्छ,’ शिक्षाविद् कोइरालाले सचेत गराए, ‘ठूलो समस्या पाठ्यपुस्तक र पाठ्यक्रम बनाउने शिक्षक हुन्। तिनै शिक्षकलाई आधार मानेर पाठ्यक्रम प्रारुप ल्याइयो तर शिक्षकहरुसँग समेत छलफल वा राय लिएको छैन।’ कक्षामा पढाउने शिक्षकलाई समेत तयारी नगरी पाठ्यक्रम बनाउँदा यसले ठूलो दुर्घटना हुन सक्ने उनी बताउँछन्।
रूबी रौनियारले नागरिकमा लेखेको खबर ।
प्रतिक्रिया