काठमाडौं - प्रारम्भिक बालविकासका बारेमा नीतिगत छलफल र आगामी रणनीति तय गर्न आयोजित एसिया प्रसान्त क्षेत्रीय सम्मेलन शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा शुरु २ दिने सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक बालविकास सरकारको उच्च प्राथमिकताको क्षेत्र मध्ये एक भएको बताए ।
नेपालको संविधानले सबै बालबालिकाको लागि प्रारम्भिक बालविकास र शिक्षाको सुनिश्चितता गरेको स्मरण गराउँदै ओलीले देशले तय गरेको विकास र समृद्धिको उद्धेश्य प्राप्तिमा गुणस्तरीय प्रारम्भिक बालविकासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उद्घाटन कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै सुनिश्चित गरेको बाल अधिकारका विषयलाई केन्द्रमा राखेर प्रारम्भिक शिक्षाका कार्यक्रम सञ्चालन भईरहेको बताए । सम्मेलनले दिने सुझावहरुले यस तर्फ नेपाललाई थप पृष्टपोषण हुने अपेक्षा गरेको उनले बताए ।
सम्मेलनको सह आयोजक एसिया प्रसान्त क्षेत्रीय प्रारम्भिक बाल विकास सञ्जाल ARNEC को सञ्चालक समितिका अध्यक्ष डा. शेल्डन शेफरले सम्मेलनबाट प्राप्त ज्ञान र नेपालको अनुभवले यस क्षेत्रका लागि आवश्यक नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा मार्ग निर्देश गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा अर्को सह आयोजक संस्था युनिसेफको दक्षिण एसियाका क्षेत्रीय निर्देशक जिन गगले प्रारम्भिक बालविकास बहुक्षेत्रीय विषय भएको उल्लेख गर्दै यसका चुनौती कुनै निश्चित क्षेत्र, मन्त्रालय वा संस्थाले मात्रै सामना गर्न नसक्ने बताईन् ।
सम्मेलनको बारेमा थप जानकारी दिन उद्घाटन सत्र पछि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
उक्त अबसरमा शिक्षा मन्त्री पोखरेलले प्रारम्भिक बाल विकास भनेको कुनै एक मन्त्रालयसँग मात्रै सिमित छ भन्ने बुझ्न नहुने बताउँदै यही अवधारणाले कार्यक्रममा अन्य मन्त्रीहरुलाई पनि आमन्त्रण गरेको उल्लेख गरे ।
सम्मेलनमा प्रारम्भिक बाल शिक्षा तथा विकास सम्बन्धी विद्यमान नीतिहरू बारे छलफल गर्ने, सरोकारवालाहरू बिच यस सम्बन्धी अभ्यासहरूको समीक्षा गर्ने, राष्ट्रिय तथा अन्तराट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र यस क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्ने उद्देश्यहरू रहेका उनले बताए ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृह मन्त्री रामबहादुर थापा, पूर्व शिक्षा मन्त्रीहरु गोपालमान श्रेष्ठ, धनिराम पौडेल, गंगालाल तुलाधर, सहित शिक्षा प्रशासक तथा शिक्षा विद्हरुको उपस्थिती थियो ।
सम्मेलनमा विभिन्न ४० देशका नीति निर्माताहरु, उच्च पदाधिकारीहरु, विका सनियोगका पदाधिकारीहरु, अनुस्न्धानकर्ताका साथै प्रारम्भिक बालवकास हेरचाह र शिक्षाका क्षेत्रमा कार्यरत संस्थाहरुका प्रतिनिधिहरु सहित ७ सय जनाको सहभागिता रहेको उनले बताए ।
सम्मेलनमा किरिवाटी, ताजकिस्तान, उज्वेकिस्तान र माल्दिप्सका शिक्षा मन्त्रीहरु सहभागी हुने पक्का भईसकेको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।
सम्मेलनसँगै प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि एशिया प्रशान्त क्षेत्रीय नीतिको बैठक समेत हुने भएको छ ।
प्रारम्भिक बाल विकासका क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा भएका अनुसन्धान र प्रयोग बारेमा सम्मेलनमा हुने ज्ञान आदान प्रदानले महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको शिक्षा सचिव खगराज बरालले बताए ।
सम्मेलनको सह आयोजकका रुपमा एसिया प्रसान्त क्षेत्रीय प्रारम्भिक बाल विकास सञ्जाल ARNEC, UNICEF र UNESCO रहेका छन् । सम्मेलनमा ४ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । उक्त रकम मध्ये ५० लाख नेपाल सरकारको र बाँकी ४ करोड रुपैंया विभिन्न संघ संस्था तथा सहभागिहरुबाट समेत संकलन गरिएको यूनिसेफका शिक्षा विज्ञ डा. दिपु शाक्यले जानकारी दिए ।
सन् २०१७ मा कम्बोडियामा आयोजित प्रारम्भिक बालविकासका लागि एसिया प्रसान्त क्षेत्रीय सञ्जाल को अन्तराष्ट्रिय सम्मेलनमा तत्कालीन शिक्षा मन्त्री धनिराम पौडेलको नेतृत्वमा सहभागी भएको नेपाली प्रतिनिधि मण्डलले आगामी सम्मेलन नेपालमा गर्ने प्रतिबद्धता जनाए अनुसार सम्मेलन भएको हो ।
प्रतिक्रिया