Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

रोकिएको शिक्षक सरुवा फुकाउने तयारी, निकटकालाई अवसर दिने ध्याउन्न

मंगलबार, २२ जेठ २०७५

काठमाडौं - दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवाको काम फुकाउने तयारी शुरु भएको छ । एक साताको समय दिएर शिक्षक सरुवा गर्ने गरी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आन्तरिक तयारी अन्तिम चरणमा पुर्याएको श्रोतले जनाएको छ । आफू निकट शिक्षकहरुलाई अवसर दिने गरी छोटो समय राखेर सूचना जारी गर्ने गरी तयारी गरिएको उक्त श्रोतको दावी छ ।

शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनको अन्तिम तयारी गरिरहेको छ । विज्ञापन भईहाल्यो भने सरुवाको काम फेरी धकेलिने र गठन गर्ने तयारीमा रहेको दरबन्दी मिलान सम्बन्धि उच्च स्तरीय आयोगले काम शुरु गरेपछि सरुवा गर्न नमिल्ने भएकोले तत्कालै गर्न मन्त्री हतारिएका श्रोतको दावी छ । विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत भईसकेको अवस्थामा असोज पछि शिक्षक सरुवा गर्न नसकिने भएकोले यही विचमा आफू निकटका शिक्षकलाई भनेको ठाउँमा सरुवा गराउन मन्त्री हतारिएका उक्त श्रोतको दावी छ ।

'भन्नलाई दरबन्दी यकिन गरेपछि मात्रै सरुवा गर्ने भनेर रोकियो तर त्यो काम शुरु नै नगरी फेरी सरुवा गर्ने तयारी भएको छ' उक्त श्रोतले भन्यो 'छोटो समय राखेर सूचना गर्ने अनी आफू निकटका शिक्षकलाई सेटिङ्मा सरुवा गर्ने तयारी भएको छ ।'

मन्त्रीको सचिवालयले तयार पारेको आफू निकटका शिक्षकहरुको सूचीका आधारमा सरुवा गर्ने गरी सेटिङ् मिलाईएको उक्त श्रोतको दावी छ । सरुवाको जिम्मा विभागलाई दिने की जिल्ला स्थित शिक्षा समन्वय इकाई मार्फत् नै गराउने भन्ने कुराको निर्णय हुन बाँकी रहेको उक्त श्रोतले बतायो ।

'शुरुमा शिक्षा विभागबाटै सरुवा गर्ने तयारी भए पनि देश संघीयतामा गएको अवस्थामा अधिकार केन्द्रिकृत गरेको आरोप लाग्ने अनुमान गरेर तत्कालका लागि ईकाइ मार्फत् नै गराउने बारेमा पनि छलफल भईरहेको छ' उक्त श्रोतले भन्यो  'यस अघि नै ईकाइहरुमा आफू निकटका प्रमुख तोकिसकिएकोले मन्त्रीको सचिवालयले पहिल्यै तयार पारेको सूचीका आधारमा सरुवा गराउन कुनै अप्ठ्यारो नहुने तर्क पनि आईरहेको छ, बेलुका सम्म निर्णय होला ।'

विश्वविद्यालय अनुदान आयोगको ५ दिने कार्यक्रममा भाग लिन बुधबार भारत जानु अघि नै शिक्षा मन्त्री पोखरेलले उक्त सूचना सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसैले सम्भवत मंगलबार अवेर सम्ममा शिक्षक सरुवाको सूचना सार्वजनिक हुने उक्त श्रोतको दावी छ ।

केन्द्रबाटै दरबन्दी मिलानको काम सक्ने भन्दै शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न गत चैत २१ गते शिक्षा विभागले तत्कालिन जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

पढ्नहोस् : शिक्षकका तीन काम गर्न जिशिकालाई रोक

यस अघि शिक्षा विभागले करार शिक्षक नियुक्ति गर्ने अधिकार शिक्षा विकास तथा समन्वय इकाईलाई दिईसकेको छ । भर्ना अभियान सञ्चालन भएको अवस्थामा विद्यालयमा बालबालिका भित्रिने तर शिक्षक नहुने अवस्था आएको तर्क गर्दै विभागले गत जेठ ४ गते उक्त रोक फुकुवा गराएको थियो । दरबन्दी यकिन भएर आयोग खुलुञ्जेल सम्म समय लाग्ने भएकोले तत्काल पठन पाठनमा समस्या नहोस् भनेर इकाईलाई अधिकार दिईएको विभागको तर्क थियो ।

पढ्नहोस् : करार शिक्षक नियुक्ति गर्न समन्वय इकाईलाई अधिकार

लामो समय देखि शिक्षकको दरबन्दी मिलानको काम हुन नसक्दा चाहिएको ठाउँमा शिक्षक नहुने र नचाहिएको ठाउँमा थुप्रो लाग्ने हुँदै आएको छ । पोखरेलले शिक्षा मन्त्रालय सम्हाले पछि दरबन्दी यकिन नगरी शिक्षक नचलाउने निर्णयलाई सकारात्मक ठानिएको थियो । तर विना दरबन्दी यकिन हुन लागेको यस पटकको सरुवाले पनि उक्त समस्या समाधान गर्ने आधार देखिएको छैन ।

प्रतिक्रिया