Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विदेशमा शिक्षा

चीनकालागि छात्रबृत्ति आवेदन खुल्यो

बुधबार, २७ फागुन २०७१

काठमाडौं २७ फागुन / चीनमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रबृत्ति खुलेको छ । चीन सरकारले ईञ्जिनीयरिङ्, एग्रिकल्चर र मेडिसिनमा मास्टर्स, पीएचडी र पोष्ट डक्टरेक्ट तहका लागि उपलब्ध गराएको छात्रबृत्तिमा अध्ययनका लागि आवेदन दर्ता गर्न मन्त्रालयले सूचना जारी गरेको हो । प्राप्त छात्रबृत्ति कोटामा खुल्ला प्रतियोगिताबाट छनौट गर्नु पर्ने भएकोले आवेदन खोलेको मन्त्रालयले जनाएको छ ।

उक्त छात्रबृत्तिका लागि फागुन २९ गते देखि चैत ५ गते सम्म म्याद तोकिएको छ । मन्त्रालयको वेबसाईट www.scholarship.moe.gov.np  अथवा www.moe.gov.np  मार्फत अनलाईन दरखास्त दिन सकिने छ ।

छात्रवृत्ति मध्ये छात्रवृत्ति नियमावली अनुसार साधारण तर्फ ५५ प्रतिशत र आरक्षण तर्फको ४५ प्रतिशत वितरण गरिने छ । तर आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदायका व्यक्ति उपलब्ध नभएमा नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका व्यक्ति समेत उपलब्ध नभएमा साधारण समूहका व्यक्तिलाई उक्त स्थान प्रदान गरिने जनाईएको छ  ।

मास्टर्समा १३, पीएचडीमा २२ र पोष्ट डक्टरेक्ट तहका लागि एउटा कोटा प्राप्त भएको मन्त्रालयले जनाएको छ । सामुदायिक विद्यालय तर्फको आरक्षण समूहमा समावेश हुन एस।एल।सी। उत्तीर्ण गरेको विद्यालय सामुदायिक हो भनी जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको सिफारिस पत्र,  सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले विपन्नताको कारण खुलाई छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को अनुसूची १ ख अनुरूपको ढाँचामा २०७१ फागुन २१ देखि २०७१ चैत्र ५ गतेसम्म जारी गरेको विपन्नताको सिफारिस पत्र र आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी तोकिएको निकायबाट सिफारिस पत्र समाबेश गर्नु पर्ने जनाईएको छ ।

प्रतिक्रिया