हामीसँग भएका दुई वटा नकारात्मक चित्र छन्, जुन नकारात्मक चित्रहरुलाई हल नगरीकन बजेट जति थपे पनि शिक्षा लगायत अरु क्षेत्रमा सुधार हुँदैन ।
पहिलो
पार्टिहरु संस्थागत हिसावले चल्दैनन् । पार्टिहरु अहिले जसरी चलिरहेका छन्, जसरी जिम्मेवारीको बाँडफाँट गरिएको छ, यहि तरिका कायम रहने हो भने, शिक्षामा बजेट थपेर काम छैन । केही प्रतिफल दिदैंन । किन भने राजनीति आफ्नो मुल तत्वबाट, अन्तरबस्तुबाट च्युत भएको छ । राजनीतिमा गुटको प्रतिनिधित्वको कुरो छ, परिवारको प्रतिनिधित्वको कुरो छ, नातागोताको प्रतिनिधित्वको कुरो छ अर्थात् राजनीति भित्र सामन्तवाद जबरजस्त छ ।
राजनीति भित्रको सामन्तवादका विरुद्ध हामी लडेनौं र पूँजिवादी संस्कारबाट उठेनौं भने मेरो विचारमा शिक्षामा जति पैसा हाले पनि काम गर्दैन ।
दोश्रो
शैक्षिक वातावरण अर्थात् शिक्षकको कुरो, पाठ्यक्रम, पाठ्यपुस्तक, पढाउने तरिका, नतिजालाई केन्द्रमा मानेर गुणस्तरको परिभाषा गर्ने तरिका लगायतका यावत कुराहरु यथावत राख्ने हो भने पैसा जति खन्याए पनि काम छैन ।
त्यसकारण यी दुई वटा पाटोलाई हामीले नयाँ ढंगबाट सोचेर नयाँ ठाउँमा लगानी गर्न सक्छौं भने निकाश देला अन्यथा मैले चाँही निकै नै सकस पूर्ण देखेको छु ।
म राजनीतिक कार्यकर्ता हुँ । मैले यसो किन भनिराखेको भने, मन्त्रालयहरु पनि गुटका प्रतिनिधिहरुलाई भागवण्डा गरिन्छन्, मैले यसो भनिरहँदा काँग्रेसका साथीहरु खुसी हुनुहोला, उहाँहरुको पनि हालत यही हो । हाम्रो संस्कार नै यस्तो भयो । योग्यता के हो ? क्षमता के हो ? विषय विज्ञता के हो ? उसले दिने आउटपुट के हो ? भन्ने कुरा राजनीतिमा खास धेरै ख्याल गरिएको छैन । अरुको के भनौं हाम्रो पार्टीले अझ धेरै ख्याल गर्दैन । विषयगत मन्त्रालयमा मन्त्री बनाउने विषयमा हामी प्रवेश गरौं न । अवस्था त्यस्तै छ ।
शिक्षाका सवालमा कुरा गर्दा पैसा बढाउनु पर्ने छ । हामीसँग पैसा छैन । भने पछि एउटा खतरा के आउन सक्छ भने, यसै त हामी अप्ठ्यारो ठाउँमा छौं नेपालको राजनीतिक भूराजनीतिक भनेर पढिराखेकै छौं । अप्ठ्यारो ठाउँमा छौं । ९१ दशमलब ७ प्रतिशत आयातमा निर्भर भएको देश । पैसा छैन हामीसँग । अब पैसा चाहिन्छ भन्ने नाममा विदेशीले दिन्छन् भन्ने नाममा अनावश्यक सर्तहरु थुपारिने खतरा धेरै छ । त्यो विषयबस्तुमा ध्यान दिउँ ।
श्रोतसँग जोडिएको अर्को महत्वपूर्ण कुरा मन्त्री, प्रधानमन्त्री सांसदहरु एउटा निर्वाचन क्षेत्र केन्द्रित हुने र पैसा जति निर्वाचन क्षेत्रमा खन्याउने कुराबाट माथि उठ्नु पर्यो ।
म साँसद हैन त्यही भएर भनेको नठान्नु होला । किन भने साँसदको खास काम कानून बनाउने हो । हिजो स्थानीय तहको विकास निर्माणमा अहिलेको जस्तो पूर्ण अथोरिटि थिएन र ठिकै ठिकै लाग्या हो । तर त्यसको अभ्यास ठिक छैन । अहिले एकातिर हामीले स्थानीय तह बनाईसक्यौं र अर्को तिर फेरी सांसदहरुलाई बोराका बोरा पैसा दिन थालियो भने त्यसको के हुने हो ? यो गर्नु हुँदैन । जे काम हो त्यही गर्ने हो । सांसदहरुले कानून बनाउने स्थानीय तहले विकास गर्ने हो ।
त्यसैले यस कोणबाट हामीले काम गर्न सक्यौं भने अघि बढ्ला । यसका लागि सोच्ने तरिका पनि परिवर्तन गर्नु पर्छ । त्यस पछि बल्ल पैसाको कुरो आउँछ । सोच्ने तरिकामा परिवर्तन नगर्ने, सोच्ने तरिकामा नयाँ पन नआउने अनी पैसा मात्रै थोपरेर त केही नतिजा आउँदैन ।
माओवादी केन्द्रका नेता न्यौपानेद्धारा सोमबार काठमाडौंमा अयोजित कार्यक्रममा ब्यक्त विचार ।
उक्त कार्यक्रमका बारेमा थप खबर पढ्नुहोस् :
प्रतिक्रिया