Edukhabar
विहीबार, १३ मंसिर २०८१
बहस

निरक्षरता उन्मूलनका लागि सभासद्द्धारा लिखित प्रतिबद्धता

शुक्रबार, २० चैत्र २०७१

सभासद्हरुको विचार सहित

काठमाडौं २० चैत / सत्ता सञ्चालन र संविधान निर्माण प्रकृयाका बारेमा असहमत भए पनि मुख्य दलहरु निरक्षरता उन्मूलनका लागि एकजुट भएका छन् । निरक्षरता उन्मूलनका लागि सत्ता साझेदार सहित मुख्य विपक्षी दल आवद्ध सभासद्हरुले प्रतिबद्धता जनाएका छन् । यो बर्षलाई नेपाल सरकारले निरक्षरता उन्मूलन बर्षका रुपमा मनाउने निर्णय गरेको छ । यस बर्ष विभिन्न १७ जिल्लामा सघन रुपमा कार्यक्रम सञ्चालन भएको छ ।

कैलाली, बाँके, दाङ्, कपिलबस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, नुवाकोट, सर्लाही, महोत्तरी, धनुषा, सिराह, सप्तरी, मोरङ् र झपा जिल्लामा गरी १४ लाख ९७ हजार ३ सय ७२ जना निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देशै भरी गरी १७ लाख ४५ हजार ३ सय ३४ जना निरक्षर छन् । सघन कार्यक्रम नभएका जिल्लामा विद्यार्थी परिचालन तथा एक एक गरी निरक्षरता हटाउने योजना छ ।
सबैका लागि शिक्षा पुर्याउने काम शिक्षा मन्त्रालयको मात्रै हो जस्तो गर्ने प्रबृत्तिको अन्त्य गरी समाजका सबै क्षेत्र र निकायलाई जिम्मेवार बनाउन सभासद्को प्रतिबद्धता लिईएको हो । केन्द्रको सहयोगमा नेपाल पत्रकार महासंघले काठमाण्डौंमा साक्षर नेपाल अभियानमा सभासद् र आमसञ्चारको भूमिका विषयक अन्र्तकृया गरेको थियो ।

सन् २०१५ भित्र सबैका लागि शिक्षा पुर्याउने अन्र्तराष्ट्रिय प्रतिवद्धता गरेपनि बाँकी ८ महिनामा उक्त वाचा पुरा हुने नहुने अन्यौल बढिरहेको बेला उक्त प्रतिबद्धता लिईएको हो । राज्यका सबै निकाय र क्षेत्रबाट प्रभावकारी सहयोग नपाएको केन्द्रले बताउँदै आएको छ । उक्त कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले अक्षर नचिनेकालाई अक्षर चिन्न आवश्यक किन हुन्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको र चिनेकालाई नविर्सन बनाउनु चुनौति रहेको बताए । यसका लागि सञ्चार जगत सहित कर्मचारी, स्थानीय सरकार, दलका नेता कार्यकर्ता, शिक्षक स्थानीय संघ संस्था लगायत सम्बन्धित सरोकारवालालाई जिम्मेवार बनाउनु पर्ने बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले यस अघि नै समान रुपमा कार्यक्रम  गर्दा गर्दै पनि १७ जिल्ला कमजोर भएपछि यस बर्ष सघन रुपमा कार्यक्रम सञ्चालन गरिएको बताए । उत्तिनै लागत र उस्तै कार्यक्रम सञ्चालन गदौ पनि तराईका जिल्लामा सुधार नभएकोले सभासद्हरुलाई, विशेष ध्यान दिन उनले आग्रह गरे ।

केन्द्रका निर्देशक बाबुराम पौडेलले यो राज्यले घोषणा गरेको अभियान भएकोले राज्यका नीति नियम बनाउने सभासद्हरुको सकृयता अझै बढाउन कार्यक्रम गरिएको बताए ।  सञ्चार जगतले यसमा सहयोग गर्ने उनले अपेक्षा गरे ।

केन्द्रका उपनिर्देशक विष्णु प्रसाद मिश्रले अहिलेको अवस्था र योजनाका बारेमा बताए भने यूनेस्को काठमाडौंका शिक्षा विशेषज्ञ तपराज पन्तले निरक्षरता र यसको उन्मूलनका लागि भएका अन्र्तराष्ट्रिय प्रयास तथा राष्ट्रिय आवश्यकताका बारेमा चर्चा गरेका थिए ।

महासंघका सल्लाहकार धर्मेन्द्र झाले तराईमा मात्रै निरक्षरता रहनुको अर्थ भाषा र अन्य कुराले प्रभाव पारेको हुन सक्ने भन्दै यसको खास कारण पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको चर्चा गरे । उनले सञ्चारकर्मीहरु आफ्नै कर्तब्यको हिसावमा यो मुद्धामा कृयाशिल भएपनि थप कृयाशिल हुन आवश्यक रहेको बताए । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले दलहरु सार्वभौम जनता तथा प्रजातान्त्रिक मूल्य मान्यताका बारेमा प्रतिबद्ध छौं भनेको सन्दर्भमा जनतालाई सार्वभौम बनाउने मुख्य कडि साक्षरता भएकोले सभासद्को प्रतिबद्धता आवश्यक रहेको बताए । 

कार्यक्रममा ब्यक्त सभासद्हरुको विचारको सार संक्षेप :

डा. शिवजी यादव, महोत्तरी, मधेसी जनअधिकार फोरम नेपाल

साक्षरताको सबालमा मधेस किन पछि पर्यो ? यसको खास कारणको खोजि गरी यसलाई न्यूनिकरण गर्न म प्रतिबद्ध छु । ब्यक्तिगत हिसावमा त म कृयाशिल हुन्छु नै मैले पार्टिगत रुपमै यो मुद्धालाई पुरा गराउने छु । संस्थागत हिसावमै हामी कृयाशिल हुने छौं ।

नगेन्द्र कुमार चौधरी, पर्सा, नेकपा एमाले

सभासद्हरु भनेका जिल्लामा हुने हरेक अभियान, खुल्ला दिशामुक्त अभियान देखि निरक्षरता सम्म कृयाशिल हुनु पर्छ । हाम्रो भूमिका धेरै तिर छ । निरक्षरता उन्मूलनको काम समाजसेवा भित्रको उत्तम काम हो भन्ने आत्मानुभूति देखाउनु आवश्यक छ । साक्षर भएकाहरुको जीवन आय आर्जनमा के कसरी लाग्छ भन्न्े कुराहरु सार्वजनिक गर्ने हो भने निरक्षरहरु आर्कषित हुन्छन् । सन् २०१५ भित्र निरक्षरता उन्मूलन गर्न मेरो भूमिका प्रति प्रतिबद्ध छु ।

सिन्धु जलेसा बुढाथोकी, नवलपरासी, नेकपा एमाले

सिकेको कुरा विर्सने मुख्य समस्या भएको छ साक्षरताको । त्यसैले साक्षरता कक्षामा बसेकाहरुले सिकेको कुरालाई विर्से भने फेरी सिकाउने गरी संरचना बनाउनु आवश्यक छ । निरक्षरता उन्मूलनका लागि म त प्रतिबद्ध छु नै हाम्रो पार्टिका अन्य साथीहरुलाई समेत प्रतिबद्ध बनाउन कृयाशिल हुने छु ।

आनन्द प्रसाद ढुङ्गाना, धनुषा, नेपाली काँग्रेस

साक्षरता सम्बन्धि कार्यक्रम मेरै जिल्लामा सञ्चालन हुँदै रैछ, तर मलाई नै थाह छैन । हामीहरु भनेका जनताको घर दैलोमा गएर काम गर्ने प्रतिनिधि हौँ नी तर हामीसँग नै छलफल छैन । शिक्षा विभागले गरीरहेको कामका बारेमा हामीसंग छलफल गरोस् । जुन समाजलाई शिक्षित बनाउन खोज्नु भएकोछ, त्यहि समाज समृद्ध बनाउन हामी कृयाशिल छौं भने हामीसँग सहकार्य र छलफल हुनु पर्यो । लिखित प्रतिबद्धता त गराउनु भयो, तर, ८ महिना मात्रै छ । त्यसैले समन्वय गरौं । जवसम्म राजनीतिक ब्यक्तिको जनताप्रति उत्तरदायित्व महशुस हुँदैन साक्षरता अभियान सफल हुँदैन ।

गिरिराज मणि पोखरेल, महोत्तरी, एमाओवादी

प्रचण्ड नेतृत्वको मन्त्री मण्डलले गरेको साक्षर नेपाल घोषणा गर्ने निर्णय हुँदाको म क्याबिनेट मन्त्री हुँ । त्यसैले यो अभियानमा म शुरु देखि जोडिएको छु । जनताका लागि मिसनकै रुपमा काम गर्ने हाम्रो पार्टिको प्रतिबद्धता हो । परिकल्पना गर्दा भिन्न् ढंगबाट गर्ने भन्न्े थियो । तर संख्यात्मक ढंगले मात्रै साक्षर बनाउने कामको पुनरावलोकन आवश्यक छ । शिक्षक लाईसेन्स लिएका ६ लाख जनशक्ति, विभिन्न तहमा पढ्ने विद्यार्थी लगायतलाइर्ए सहभागि गराएर अघि बढ्नु आवश्यक छ । शिक्षण विधि देखिनै प्रश्न उठेको छ । सुधार गर्नु पर्ने कुरा र आवश्यकताका बारेमा जिल्ला शिक्षा अधिकारी कत्तिको अनूकूल छ मन्त्रालयले हेर्न जरुरी छ । म यो अभियानमा प्रतिबद्धता जनाउँछु ।

रञ्जित कर्ण,सप्तरी, नेपाली काँग्रेस

मिसनका रुपमा लजान सके यो अभियान समयमै पुरा गर्न कुनै कठिनाई छैन । म नेविसंघको अध्यक्ष पनि हुँ, हाम्रा जस्ता संगठनको गाउँ गाउँ सम्म समिति छन् । उनीहरुलाई परिचालन गरेर साक्षर बनाउन सकिन्छ । साक्षर भएर पनि बेरोजगार हुनु पर्ने मान्यताले तराईमा काम गरिरहेको छ । ब्यवसायिकतामा ध्यान दिन सकियो भने साक्षर अभियान पुरा हुन्छ, म यस बारेमा प्रतिबद्ध छु ।

आशा चर्तुबेदी, पर्सा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

२१ औं शताब्दिमा पनि निरक्षर छौं भन्ने कुरा लाजमर्दो हो । महिलाको शिक्षा त्यसमा पनि तराईमा झन् समस्या छ । सामाजिक परिवेश, पुरुष प्रधान समाज, राज्यबाट मधेसले भोगेको पिडाका कारण मधेसमा समस्या भएको हो । गाउँ गाउँ घर घरमा शिक्षाको दियो जलाउनु आवश्यक छ । यसमा म प्रतिबद्ध छु ।

लक्ष्मणलाल कर्ण, पर्सा, सद्भावना पार्टी

मधेसमा निरक्षरता अथवा भनौं शिक्षाको कमी हुनाको मुख्य कारण सबै दाताको भरमा चल्नु हो । सरकारले लगानी नै गरेको छैन शिक्षामा । सबै विद्यालय भवन दाताले बनाएका छन् । अनौपचारिक शिक्षालाई पनि डिग्रीको मान्यता दिनु पर्यो, त्यसो भयो भने, नेपालमा नभए उसले पढेको कुरा विदेशमा गएर गर्छ । मात्रृभाषामा शिक्षा दिने ब्यवस्था गर्नु पर्छ, अनी बल्ल मधेसमा निरक्षरता घट्छ । लोकगित, लोक कथा वा यस्तै अन्य विधिबाट पढाउनु आवश्यक छ । तराईको शिक्षा सुधारका लागि देर भयो तर दुरुस्त  बनाउनुहोस् ।

अनारकली मियाँ, दाङ् एमाले

मैले पनि प्रौढ कक्षा पढाएको थिएँ । मलाई के लाग्यो भने कक्षा बेलुकाको समयमा हुँदा बृद्ध बृद्धाले आँखा नदेख्ने, दिउँसोको समय पढाउँदा १५ बर्ष मुनिका बालबालिका काममा जानु पर्ने भएकोले कक्षामा नआउने समस्या भयो । गरीबिका कारण पढ्न नआउनेलाई कसरी कक्षामा ल्याउने ? चुनौति छ । शिक्षकहरुको शैलीको पनि परिवर्तन आवश्यक छ । सदन देखि जिल्ला सम्म कहाँ कहाँ के गर्न सक्छौं गर्छौं ।

लालबाबु यादव, रौतहट मनोनित सभासद्

म पनि २२ बर्ष शिक्षक भएको ब्यक्ति हुँ । मलाइृ के लाग्छ भने हाम्रा छिमेकी मुलुक ४० –५० बर्षमा कहाँबाट कहाँ पुगे, हामी किन अघि बढ्न सकेनौं ? यो शिक्षाकै कारण हो । बजेट जान्छ तर साक्षरता हुँदैन किन ? अनुगमन गर्नुहोस् । साक्षर घोषणा भएका जिल्लाका सभासद् सँग अन्र्तकृया गरौं, त्यसले अरुलाइृ आईडिया हुन्छ । म चाँही प्रतिबद्ध छु ।

अम्विका खवास राजबंशी, झापा एमाले

मेरो जिल्लामा विशिष्ट पहिचान भएका राजबंशी, सन्थाल, मेचे, ताजपुरिया जस्ता समुदाय छन् । निरक्षर हुने समुदाय पनि यहि समुदायका हुन् । त्यसैले यीनीहरुलाई लक्षित गरी कार्यक्रम गर्नु आवश्यक छ । संसद कोषको बजेट मन्दिर बनाईदेऊ बाटो बनाईदेउ भनेर माग्न आउँछन् तर शिक्षा देउ भनेर कोही आउँदैन । त्यसैले अव म साँसद कोषको रकम समेत साक्षरतामा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

टेकु नेपाली, स्याङ्जा, एमाले

मेरो जिल्ला साक्षर घोषणा भईसकेको छ । तर मैले नै जानकारी पाईन । कसरी कार्यक्तम भयो भन्ने बारेमा । यसको मतलव संयोजन छैन । मलाई के लाग्छ भने साक्षरता कार्यक्रमको जानकारी र अनुगमन गर्नु आवश्यक छ । गएको बजेटको अनुगमन गर्नु पनि महत्वपूर्ण छ । साक्षर भए पुरस्कार दिईनेछ, अथवा जिवन चलाउन कही सघाउ पुर्याउने गरी खर्च दिने ब्यवस्था गरिने छ भन्न्े हो भने निरक्षरहरु पनि कक्षामा आउन सक्छन् ।

डा. वंशीधर मिश्र, रौतहट, एमाले

साक्षरता अभियान भनेको गर्नै पर्ने कुरा हो यसमा सन्देह छैन । तर चुनौति धेरै छन् । हामी अन्त्यन्त जिम्मेवार छौं । सिकाईको विधि र तौर तरिकामा समस्या छ । तराईमा भाषा महत्वपूर्ण कुरा हो । स्थानीय भाषामै सिकाउनु पर्छ । हामीले शिशु कक्षामा पढेको वावा हेर लौ ज्यू गर भन्ने कुरा मैले धेरै पछि मात्रै बुझेँ । हाम्रो समाजमा ज्यू त जिव्रोलाई भनिन्छ । त्यसैले कुन समाज हो त्यो अनुसार पढाउनु पर्छ ।

रञ्जु झा, सप्तरी, एमाले

साक्षरता धेरै अघि देखि सुन्दै आएको हुँ । कागजमा मात्रै नआओस् यो । तर बुझ्नु पर्ने कुरा के छ भने, मान्छे शिक्षा लिन त्यतिखेर जान्छ जतिखेर उसको पेटमा भात पर्छ । सबै भन्दा पहिला गरिवी घटाउनु पर्ने छ । गरिवी हटाउने र शिक्षा दिने कुराको विचमा हामी जनप्रतिनिधि छौं । हामी प्रतिबद्धता गरौं मधेस, जिल्ला मात्रै हैन सम्पूर्ण देश साक्षर बनोस् म प्रतिबद्ध छु ।

प्रतिक्रिया