Edukhabar
बुधबार, २८ कार्तिक २०८१
बहस

सान छाडेर शिक्षक

मंगलबार, ०१ बैशाख २०७२

- श्रीधर पौडेल / ललितपुर १ वैशाख / चाहने हो भने काम गर्न यस बाहेकका थुप्रै विकल्प उनीहरुको अघिल्तिर हाजिर छ । जहाँ जाँदा परिवार पनि खुसी हुन्छ, पैसा पनि कमिन्छ र दुनियाँले भने जस्तो सान सित जिन्दगी पनि चल्छ । तर उनीहरुका लागि अरुले ठानेको सान भन्दा सामान्य पेशामै मन बसेको छ । र त उनीहरु विकट गाउँमा शिक्षक बन्न चाहन्छन् ।

समी मानन्धर, अंकुश उप्रेती, वसन्त मोते, प्रभाकर प्रसाद साह, निहारिका मैनाली र गोपाल झा त्यस्ता युवा हुन् जो सित सामुदायिक विद्यालय सुधारको अवधारणा र जोश दुवै छ । भरखर विश्वविद्यलायको पढाइ सकेका उनीहरु आफ्नो सीप कक्षा कोठामा लैजान चाहन्छन् । र सन्देश दिन चाहन्छन्, हाम्रो सामुदायिक शिक्षा कमजोर छैन । आफूलाइ भर गरेर अघि बढ्ने हो भने हामी गर्न सक्छौं ।

देख्दा एउटा गैर सरकारी संस्था टिच फर नेपालको कदम जस्तो देखिए पनि यी युवाको जोशलाई त्यसमा मात्रै खुम्च्याउनु हुँदैन । जोशिला युवाहरु धेरैले खासै गतिलो नठानेको शिक्षण पेशामा आउनुलाई सकरात्मक मान्नु पर्छ ।

जेशिला युवालाई शिक्षणमा तान्ने काम गरेको हो टिच फर नेपालले । र यो अयिभान सुरु भएको हो २०१३ देखि ललितपुरका सामुदायिक विद्यालयबाट । पहिलो चरणको अभियानमा जोडिएका थिए अमेरिका बसी पढी फर्केका तनहुँका शीशिर खनाल । जसलाई नेपाल फर्केपछि धेरैले टन्न पैसा ल्याएको होला भन्ने ठानेर पछि लाग्नेहरु थिए । उनी आइडिया सुनाउँथे, सुन्नेहरु आइडिया भन्दा बढी उनको पैसाको चियो गर्थे । यसबाट आजित उनी कसो कसो गरी टिच फर नेपाल सित जोडिए र यही भोल्युन्टरी गर्न थाले ।

खनालका भाषामा अमेरिका छाडेर फर्केपछि उनलाई कतिले सन्कि पनि ठाने । उनले भने, त्यतिखेर सम्म ममा नेपाल चिन्ने, पढ्ने र बुझ्ने भूत सवार भईसकेको थियो । गाउँ डुल्दा थाहा पाएँ, यूरोप र अमेरिकामा नभएको सम्भावना हाम्रो गाउँमा छ ।  गाउँमा अरु कुराजस्तै चेतनाको पनि अभाव छ । र त्यही अभावको खाडल पुर्न म शिक्षक बन्नु पर्छ ।

कार्यक्रमको सकरात्मक प्रतिक्रिया पछि टिच फर नेपालले त्यसलाई दोस्रो चरणका रुपमा गत बर्षदेखि सिन्धुपाल्चोकमा कार्यक्रम विस्तार गरेको छ । यी दुई जिल्लाका २५ विद्यालयमा ४९ जना स्वयम सेवक (संस्थाको भाषामा प्रज्ञार्थी) शिक्षकहरु शिक्षणमा क्रियाशिल छन् । र यही वर्षबाट संस्थाले धनुषामा पनि कार्यक्रम विस्तार गर्न लागेको छ । जसका लागि प्राप्त १ हजार ५५ आवेदकबाट २१ जना युवा स्वयम सेवकका रुपमा धनुषाका विभिन्न सामुदायिक विद्यालयमा शिक्षणका लागि जानेछन् । माघको अन्तिमबाट शुरु भएको ४५ दिने प्रशिक्षण कार्यक्रम सकिएको छ र त्यहाँ सिकेको कुरा उनीहरुले आफू काम गर्ने विद्यालयमा लागू गरेर सामुदायिक विद्यालयको सिकाइ स्तरलाई सुधार्ने प्रयास गर्नेछन् ।

विश्वविद्यालयमा राम्रै अंक ल्याएका, अन्य क्षेत्रमा पनि अवसर पाउन र प्रगति गर्न सक्ने तर शिक्षणका लागि धनुषा जाँदै गरेका २१ मध्ये ६ युवा सित उनीहरुलाई केले शिक्षणमा तान्यो ? उनीहरुको सुधार योजना कसरी अघि बढ्छ ? र उनीहरु किन शिक्षक बन्न चाहन्छन् भनेर कुराकानी गरेका छौं ।

ती छ युवालाई यसरी चिनाउन सकिन्छ :

काठमाडौंको बासबारीको सम्पन्न नेवार परिवारमा जन्मे हुर्केकी समी मानन्धरले काठमाडौंबाट विद्यालय प्लस टु सकिन् । १९ वर्षको उमेरमा अर्थ एण्ड स्पेस साईन्समा स्नातक गर्न जर्मनी गइन् । जर्मनीबाटै उनले स्नातकोत्तर पनि गरिन् । जर्मनीमा पाउने सक्ने सम्भावनाहरु छाडेर उनी अहिले नेपाल फर्किन् त्यो पनि मात्रै शिक्षक बन्नका लागि ।

क्यानडा निवासी इन्जिनियर बाबु र व्युटिसियन आमाका छोरा अँकुश उप्रेती धरानमा जन्मे काठमाडौंमा हुर्केबढे र पढे । विराटनगरबाट एसएलसी दिए र पूर्वाञ्चलमै सबैभन्दा बढी अंक ल्याएर सर्वोत्कृष्ट भए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कपषा १२ का टपर उनले हालै काठमाण्डु विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नताक सके ।

सुनसरी इनरुवाको सामान्य परिवारका बसन्त मोतेलाई टेलरिंगको काम गर्ने परिवारले निजी स्कुल पढायो । पढाइमा अब्बल भएकैले उनले निशुल्क पढ्ने अवसर पाए । विराट साईन्सबाट प्लस टु सकेका उनले पुल्चोक ईञ्जिनीयरिङ् क्याम्सपमा छात्रवृत्तिमै स्नातकको हुने अवसर पाए ।

धनुषा रघुनाथपुरको एउटा निजी विद्यालय सञ्चालकका छोरा प्रभाकर प्रसाद साह पनि निजीमै पढेका विद्यार्थी हुन् । साहकै भाषामा उनको परिवार जमिन्दार परिवानै हो । पहिले निजीमा पढे पनि उनले सामुदायिक विद्यालयमा विद्यालय तहको पढाइलाई निरन्तरता दिए । माओवादीले कि पैसा कि छोरालाई माओवादी सेनामा भर्ना भन्न प्रस्ताव राखेपछि उनी जिल्ला छाडेर सिराहको मिर्चैयामा पढेर विद्यालय तह सके । काठमाडौंको युनिभर्सल कलेजबाट साईन्समा प्लस टु र सीजेएमसी कलेजबाट मास कम्युनिकेशनमा स्नातकोत्तर गरे । न्युज २४ टिभी र नेपाल वान टिभीमा सञ्चारकर्मीका रुपमा काम गरे । म कसका लागि काम गर्दैछु ? भन्ने लाग्न थाले पछि उनले सञ्चारकर्मीको काम छाडिदिए र देहादुन गएर स्नातकोत्तर गरे । त्यसपछि उनलाई लाग्यो म मास्टर हुनु पर्छ  ।

काठमाडौं बाहिरको समाज देख्ने बुझ्ने मौका नपाएकी निहारिका मैनाली काठमाडौंमै हुर्कीबढी पढेकी हुन् । कक्षा दश उनले रामो नम्बर ल्याएर पास गरिन् । जेभियर्स ईन्टरन्यास्नल कलेजबाट मनोविज्ञान र सामाजिक कृयाकलापमा स्नताक गरिन् ।

गोपाल झा महोत्तरीको बथनाह गाविसमा जन्मे हुर्के । पिता सामुदायिक विद्यालयका शिक्षक । आमा सामाजिक कार्यकर्ता । सामुदयिक विद्यालयमै पढे । शिक्षणका लागि कैलाली पुगेका पिता सँगै अरुणोदय उच्च मावि खैरीफाँटा कैलालीबाट विद्यलाय तह सके । विरेन्द्र उच्च मावि टिकापुरबाट कक्षा १२ सके र जनकपुरबाट स्नातक ।

र, उनीहरुसित गरिएको कुराकानी यस्तो छ :

परिवर्तन गरेर देखाउँछुः समी मानन्धर - श्री हायर सेकेण्डरी स्कुल, बक्चौराह

तपाइँको उमेरकाहरु यूरोप अमेरिकालाई सपनाको संसार ठान्छन् र त्यतै जान हतारिएका छन्, तपाई जर्मनी भएको मान्छेलाई के कुराले नेपाल तान्यो ?

पहिला नेपालमा बस्दा नेपालका बारेमा खासै ध्यान दिईएन । नेपालका बारेमा कहिल्यै प्रश्न जान्न खोजिएन । म काठमाण्डुमै जन्मे । धेरै कम ठाउँ घुमेको छु । चितवन पोखरा लुम्बिनी मात्रै । अरु ठाउँका बारेमा कहिल्यै ध्यान दिईएन । जर्मनी गए पछि मलाई मान्छेहरुले नेपालका बारेमा प्रश्न सोधे त्यसको जवाफ दिन नसक्दा लाज लाग्यो । आफ्नो देशको बारे आफूालाई नआउने । अर्को चाँही नेपालीनै राम्रो संग बोल्न नआउने । अरु देशका मान्छेसँग बोल्दा यस्तो शुद्ध भाषा बोल्छन्, आफ्नो भाषामा गौरव गर्छन् जुन चाँही मैले गरिन जस्तो लाग्यो । यस्तै कुराले मलाई नेपाल तान्यो ।

कुन ठाउँमा पुगेपछि तपाईलाई यस्तो भावना आयो ?

ठ्याक्कै याद छैन । शायद आफ्नो देशको मायाँ लाग्न थाले पछि होला । जव टाढा बस्न थाले पछि ।

तपाई काठमाडौंमा जन्मे हुर्केको, जर्मनी बसेर फर्केको त्यो दूरदराजको गाउँमा कसरी आफूलाई घुलमिल गर्नु होला ?

एड्जष्ट त जर्मनीमा पनि गर्नै परेको थियो । त्यहाँ पनि गाह्रै थियो । यो त आफ्नै देश भयो जसरी पनि गरिन्छ नी ।

सारा सम्भावना  छोडेर, यो बाटो किन रोजेको तपाईले ? जव की तपाईको पढाई हेर्ने हो भने पनि कमाईको हिसावाले धेरै कमाउन सक्ने क्षमता राख्नु हुन्छ....

पैसा त जति भयो त्यति चाहि राख्छ ।  ५० हजार कमायो रे त्यो पनि नपुग्ने हुन्छ हैन ? तर मेन उद्धेश्य नेपाल फर्केर काम गर्नाको अभावमा पनि मान्छे कसरी बाँचिराखेको छ भनेर बुझ्नु पनि हो ।

भनेको तपाईको यो यात्रा छोटो हो, लामो यात्रा चाँही अर्कै हो ?

हो । पहिलो कुरा त शिक्षा भयो, हाम्रो २ बर्षको अवधिमा दोश्रो बर्षमा मेरो समुदाय मेरो दायित्व भन्ने कम्युनिटी लेभलमा काम गर्नु पर्छ । मैले वातावरण पढेको छु । अस्ति जनकपुर गएर आएँ । हेरेँ मलाइृ चाँही बातावरण र पानी तथा सरसफाईमा काम गर्नु छ । टिच फर नेपाल सकिए पछि पनि म पानी वातावरण र सरसफाईलाई केन्द्मा राखेर गाउँमा वा शहरमा काम गर्छु ।

भने पछि यो एउटा पाईला हो ।

हो । एक दमै सिक्ने अवसर हो यो मेरो जीवनको ।

हाम्रो देशको शिक्षाको हिसवमा हेर्ने हो भने तराईका जिल्ला निकै पछि परेका छन् । तीनै मध्येको एक जिल्ला जाँदै हुनुहुन्छ, के सिकाउनु होला ? के पढाउनु होला ?

सिकाउन त समय लाग्छ । आफूले पनि सिक्नै पर्यो । म विज्ञान पढाउन गईरहेको छु । मैले पनि धेरै सिक्नु पर्छ भन्ने थाह भयो । अव मैले के सिकाउने भन्दा पनि विद्यार्थीलाई सिक्ने ईच्छा जगाउने बनाउन सक्छु की । कसरी बोल्न सक्ने सम्म बनाउने भन्ने चाँही सिकाउन सक्छु होला जस्तो लाग्छ । बच्चाहरुमा जान्न चाहने ईच्छा बढाउँछु ।

म हेर्न आउँछु नी पछि गाउँमै ...

हुन्छ म तपाईलाई परिवर्तन देखाउँछु । प्रश्न धेरै सोध्न लगाउँछु बच्चाहरुलाई ।

विद्यार्थीलाई क्षमता देखाउने अवसर दिन्छु : अंकुश उप्रेती - श्री राजेश्वर निधि उच्च मावि, नगराईन

यस अघि कुनै जागिर खानु भएको थियो ?

कामै भनेर त गरिन तर केयू मा पढ्दा हुने विभिन्न ईन्र्टनसीप देखि अन्य कलेजका काममा मात्रै सहभागि भएँ । जागिर नै भनेर त गरेको छैन ।

टिच फर नेपालको बारेमा कसरी थाह पाउनु भयो र कसरी छनौट हुनु भयो ?

पत्रिकामा छापिएको विज्ञापन हेरेँ । मेरो पढाईमा पनि विज्ञापन पढ्नु पर्ने, त्यो विज्ञापन एक दमै क्याच्चि लाग्यो । भिजन सिजन केही थाह पाएको थिईन तर एप्लाई गरें । छानिएँ ।

तपाइँ प्लस टुमा पूर्वाञ्चल टपर, कलेजमा पनि राम्रै, अरु कामको सम्भावना पनि छ किन यही काम रोज्नु भएको ?

टिचिङ्को प्यासन चाँही पहिले देखि नै थियो । यहाँ टप गरें त्यहाँ टप गरें कलेजमा पढ्दा पनि जागिरको धेरै अफर आउँथ्यो । म त्यो एउटै सिष्टममा बस्दा बस्दा जीवननै त्यो भन्दा बाहिर जाँदैन जस्तो लाग्यो । सिमित घेरा भन्दा बाहिर जीवन जाने भएन क्या । विदेश धेरै घुमेको छु, तर नेपाल घुमेको छैन, नेपालको कल्चर बुझेको छैन । देश पनि चिन्ने मौका मिल्छ । शिक्षाको ज्योति पनि दिन पाईने समाज पनि बुझ्न पाईने ।

पढाए बापत संस्थाले तपाईलाई १५ हजार रुपैंया दिन्छ, तपाई त यो भन्दा धेरै कमाउन सक्नुहुन्थ्यो होला  ...

त्यो पैसाल केही चल्दैन । तर म पैसा भन्दा माथि उठेर आएको हुँ

विना स्वार्थको त मान्छेनै पाहिदैँन तपाई भयंकर निस्वार्थका कुरा गर्नु हुन्छ ...

अव तपाईले थाह पाउनु भएन, म मेरो परिवारको सिमित घेरा भन्दा माथि उठ्न खोजेको । आफ्नो लागि धेरै भयो, देशका लागि अव केही गरौं भन्ने फिलिङ् आयो ।

तपाई मसंगको कुराकानीमा धेरै अँग्रजी शब्द प्रयोग गर्दै हुनुहुन्छ, त्यो दुर दराजमा हुने बच्चा जसलाई तपाई पढाउन जाँदै हुनुहुन्छ उसले तपाईको यो भाषा बुझ्ला त ?

तपाईसंग बोल्दा पो बोलेको त्यहाँ त म बच्चालाई बुझ्छु नी ...इङ्लिस नबुझ्नेसँग त म त्यहि अनुसार डील गर्छु नी ।

के परिवर्तन गर्नु हुन्छ त ?

पढाईमा पास गराउने त हो नै तर त्यो बाहेक नन एकेडेमिक पार्टमा काम गर्छु । शिक्षकलाई सोध्न नडराउन बच्चाहरु टिचरलाइ सोध्न डराउँछन् नी हामी धनुषामा जाँदा त्यहाँ त साइ नेचरका बच्चा देख्यौं ।  बच्चाहरुलाई एक्पोजर दिने कुराहरुमा ध्यान दिन्छु ।

तपाईसँग के बुटि छ उनीहरुलाई खुलाउनका लागि ?

बुटि भन्ने कुरा त हुँदैन कन्टिनीयस एफर्ट नै हो । कोही महात्मा गान्धि नै त हुँदैन नी जन्मदौमा । उनले पनि बुटी त पिएका थिएनन् । कहिल्यै कछाड्ने कहिल्यै हार नमान्ने बानी बनाउने हो । उनीहरुको आनी वानीमा चेञ्ज चाँही पक्कै गर्न सक्छु । अहिलेको तुलनामा दूई बर्ष पछि डास्ट्रिक चेञ्ज पाउनु हुने छ । मेरो प्रतिबद्धता हो यो ।

प्राविधिक र सीप सिकाउँछु : वसन्त मोते - श्री हायर सेकेण्डरी स्कुल, बक्चौराह

कसरी टिच फर नेपालका बारेमा थाह पाउनु भयो ?

पत्रिकाबाट थाह पाएँ । ह्वाट ईफ योर फस्ट जव वाज चेञ्जिङ् दी नेशन भन्ने स्लोगनले मलाई छायो । म कस्तो मान्छे भन्दा खेरी चेञ्ज हुनु पर्छ जस्तो लागिरहन्थ्यो । तर राईट पाथ पाईराखेको थिईन । म स्किलल्सहरु मात्रै कलेक्ट गरिराथेँ । मेरो फरक बाटो खन्न टिच फर नेपालले मलाइृ हतियार दिन्छ जस्तो लाग्यो, जसले आफ्नो रोड खन्न सकौं । सबै नलेज ब्याचलर सम्म कलेक्ट गरे अब यसले औजार दिएको छ यसले आफ्नो बाटो खन्न सक्छु जस्तो लाग्यो ।

तपाई त रोड खन्न त ईञ्जिनीयरिङ् पढेको मान्छे अरु बाटो लाग्न सक्नुहुन्थ्यो नी ..

त्यहि त अलिक फरक नै भयो । यो दुई बर्षमा म एजए टिचर नै हुन गाको चाँही हैन । म मा चाँही लिडरसिप र चेञ्जको पाटो ईन्लाईट गर्न गाको हो । मैले अहिले सम्म एकेडेमिकल्ली बुँझे अब चााही सोसाईटी बुझ्न गाको हो । मेरो आईटी ब्याग्राउण्ड हो त्यो आईटीले चाँँही सोसाईटीलाई कसरी बुझ्ने ? आवश्यकता केहो समस्या के हो ? भन्ने बुझेर उनीहरुलाई प्रविधिको माध्यामबाट समाधान दिएर पछि परिवर्तन गर्ने कुरा हो ।

हुन त तपाई तराईमै जन्मनु भाको मान्छे, धेरै कुरा बुझ्नु भा छ होला, तर त्यहाँ विद्यालयहरुमा हुने जुन किसिमको संरचना छ नी त्यसमा तपाईको विचार कसरी प्रवाह हुन सक्ला त ?

हो म तराईकै मान्छे हुँ, तर टिच फर नेपालले हामीलाई के सिकाई  दिएको छ भने, हामी जहाँभएर पनि फेक्जिवल हुन सक्छौं । ठूलो समस्या छ भने, हामीले चेञ्जनै गर्नु पर्छ भन्ने हैन तर हाम्रो तर्फबाट के गर्न सकिन्छ त्यो मुख्य हो ।

तपाईको विद्यालयमा हुने परिवर्तन कहिले देख्न सकिएला ?

हामीले हाम्रा बच्चाहरुका लागि भिजन सेट गरेका छौं । एउटा एकेडेमिक भिजन अर्को नन् एकेडेमिक भिजन छ । भनेको उनीहरु प्रति ज्ञानको तत्परता र चिजलाई चाँही जे जस्तो छ त्यो देख्ने आँखा दिने अनि त्यस पछि समाजमा पनि कसरी मिलाउने कसरी राम्रो ब्यवहार गर्ने र राम्रो मानिस कसरी बन्ने भन्न् ओभरअल कुरा सिकाईन्छ ।

किन पढ्ने ? बुझाउने प्रयास गर्छु : प्रभाकर प्रसाद साह -  श्री राजेश्वर निधि उच्च मावि, नगराईन

आफ्नै जिल्ला जाँदै हुनुहुन्छ । तपाई गएपछि स्कुलमा के परिवर्तन गर्नु हुन्छ त ?

ब्याचलर पढ्दै गर्दा मलाई युवा पलायन युवा पलायन भन्ने लेख समाचारले अनुभुति भयो की म पनि त मेरो गाउँबाट पलायन भएर काठमाण्डु आएको हुो नी । सबै विदेश गएका कारणल मेरो देश विग्रेको छ भने म पलायन हुँदा मेरो गाउँ पनि विग्रेको होला । शुरुवात कहाँबट गर्ने त ? पहिलो प्राथमिकता भनेको मेरो समुदाय हो रैछ । चेञ्ज गर्ने हो भने मेरै गाउँबाट गर्नु पर्यो । परिवर्तन के के मा गर्ने ? राजनीतक ? नैतिकता ?  शिक्षकलाई पिटेको खबर आईरहन्छन् । भनेपछि धेरै कुरा परिवर्तन गर्नु छ ।

तपाई कक्षा कोठामा गएपछि के कुरा परिवर्तन हुन्छ त ? तपाईले पढेको स्कुल तपाईले देखेका समाज र तपाईले गर्ने कामले के परिवर्तन ल्याउँछ त ?

म के चेञ्ज गर्छु भन्ने कुरा म आफैं चेञ्ज भएर गईराछु । मैले गर्ने चेञ्ज के त भन्ने कुरा आफैमा स्विकार गरेर खन्याएर बुझेर गईराछु । त्यहाँ गएपछि म गर्छु नै भनेर नेपाली कागजमा सही गरेर दिन सक्दिन । मेरो काम प्रति म ईमान्दार छु । शिक्षा के हो पढाई कस्तो हुनु पर्छ ? किताव पढ्नु मात्रै शिक्षा हो ? परीक्षा पास गर्नु मात्रै शिक्षा हो ? वा त्यसलाई ब्यवहारमा लागू गर्ने ? जीवनबाट सिकिरहेका छौं । शिक्षक, अभिभावकको बानीबाट सिकिरहेका हुन्छौं । हरेक कृयाकलापबाट सिकिराखेका हुन्छौं नी त केही केही । त्यो कुराहरु चाँही थाह छैन ।  त्यो बालवालिकालाई थाह छैन । मेरो प्रयास के हो भने शिक्षा प्रति भोक जगाउने मेरो ध्यान हो । के पढाएँ भन्नु भन्दा पनि पढ्नु पर्छ है भन्न्े बुझाउनु मुख्य कुरा हो ।

पढाउँदिन, विद्यार्थीसित सिक्छु : निहारिका मैनाली - श्री सरस्वती उच्च मावि, कटरैत

तपाईको विषयले पनि तपाईलाई राम्रो कमाई हुने जागिर मिल्न सक्छ काठमाडौं मै तर तपाई सिमित श्रोत लिएर गाउँ रोज्दै हुनुहुन्छ किन ?

हो मलाई ब्याचलर सकिनासाथ अब एनजीओ आईएनजीओमा जागिर हुने होला, विदेश जाने होला भनेर साथी परिवार सबैले त्यहि भन्ने । तर मेरा मनमा फरक सोच आयो । सबै जना विदेश जाने हो भने नेपालमा को हुन्छ ? नेपालको अनुहार कस्तो हुन्छ ? यहि कुराले मलाई छोयो । काठमाण्डुमै जन्मे हुर्केको मान्छे पहिलो पटक धनुषा गएँ । त्यहाँका विद्यालयहरु हेरेँ , बालबालिका देखेँ । मैले सोचेँ – म आफूँ बाच्न ५० –६० हजार भए पुग्छ ? विदेश जाँदा म ठूलो तराईमा गएर घुलमिल हुँदा म सानो मान्छे ? यस्ता प्रश्नहरु धेरै पटक सोचेँ ।

कुन विन्दुमा पुगेपछि तपाई यस्तो सोच्न थाल्नु भयो ? केही याद छ ?

छ । त्यहाँ भाई बैनीहरुसँग कुरा गरेँ । पढाईको महत्व के ठान्न्ु भएको छ उहाँहरुले ? पढ्न आउने सिक्न आउने लगाव देखेँ । कोही पनि बाहिरको मान्छे आएको देख्यो भने मलाई सिकाईदिनु न भन्ने उहाँहरु । केही सिकिन्छ की केही बुझिन्छ की भनेर झुम्मिने । यति उत्सुक विद्यार्थी हुँदा हुँदै पनि तराईमै किन शिक्षाको गुणस्तर खस्केको ? किन भईरहेको छ ?

त्यो कारण थाह पाउनु भएको छ त ?

थुर्पै कारण हुन सक्छ, स्कुलको, परिवारको, विद्यार्थीको, ब्यवस्थापन समितिको हुन सक्छ । सरकारी नीति नियमको हुन सक्छ...

यत्रो कुरा कसरी सुधार्नुहोला र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनु होला त ?

सबै नसकेपनि सानो ठाउँमा त केही गर्न सक्छृु होला नी । म दुई बर्षमा तराईको अनुहारै परिवर्तन गर्छु भनेर गईरहेको छैन । पहिलो कुरा म आफैं सिक्न गईरहेको छु, मेरो देश बुझ्न गईरहेको छु । म अस्ति भर्खर धनुषा गएँ मैथिली बोल्न आउँदैन । भन्न त हामी नेपाली एक हौँ तराई पहाड हिमाल एक हो भनेको छ तर, तराईको बारेमा केही थाह छैन । म कुन हिसावले म नेपाली भनेर गर्व गरौँ ?

पढाइलाई व्यवहारसित जोड्ने प्रयास गर्छु : गोपाल झा - श्री सरस्वती उच्च मावि, कटरैत

तपाई एक जना शिक्षककै छोरा, सामुदायिक विद्यालयको गुणस्तर खस्केको कारणमा शिक्षकनै पर्छन् भनिन्छ, हुन त आफ्नो बा को पेशलाई गालि गर्यो भन्ने लाग्ला तर..

मेरो बुवाको पेशा शिक्षक नै हो । मैले पढेको विद्यालय पनि सरकारी नै हो । मैले पढेको सरकारी स्कुलले म जस्तो प्रोडक्ट निकाल्न सक्छ भने, त्यहाँ मेरो बुवा नै त हो पढाउने ।

तपाई जुन गाउँमा जाँदे हुनुहन्छ, त्यहाँ पनि शिक्षककै कारण गुणस्तर खस्केको अनुमान लगाउन कठिन छैन, तपाई के परिवर्तन गर्नु हुन्छ होला त ?

सबै दोष शिक्षकको मात्र हैन कता कता जिम्मेवार हामी पनि छौं । अभिभावक विद्यार्थीको पनि दोष हुन सक्छ । विद्यार्थीलाई हेर्नु भो भने आठ नौ कक्षामा पढ्नेहरुको स्तर आफू भन्दा ४ – ५ कक्षा भन्दा कम को छ । कक्षा ५ मा पढ्नेलाई स्पेलिङ् सोधेको एफ ई भी ई भने । उनीहरुले पढेको कुरालाई बुझ्न सक्ने नै बनाईएन । पढाईलाई ब्यवहार सँग जोड्ने प्रयत्न नगर्दा समस्या भएको छ । म गणित पढाउँछु साध्य किन पढ्ने भन्ने पुष्टि गराउनु पर्यो । ज्यामिती किन पढ्नु परेको ? भिज्युलाईज गर्न हो नी त, पाईथागोरस साध्य किन पढाउने ? यो बुझाउनु पर्यो । पढाई र ब्यवहारलाई जोड्ने नै मेरो प्रयास हुने छ । 

प्रतिक्रिया