Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

एसईईको तयारी पुरा, आगामी वर्षदेखि प्रदेशस्तरमा

आइतबार, ०४ चैत्र २०७४

भक्तपुर - कक्षा १० को अन्तिममा लिईने माध्यमिक शिक्षा परीक्षा, (एसईई) को सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहीबार देखि शुरु हुने यस बर्षको परीक्षामा ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सम्म्लित हुने छन् । देशभर गरी १ हजार ९ सय ५६ केन्द्रमा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित हुने बोर्डले जनाएको छ ।  परीक्षालाई मर्यादित व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गर्न बोर्डले सबैमा आग्रह गरेको छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् गरिदैं आएको छ । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने तयारी सुरु भएको परीक्षाको तयारी बारे बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चैत ८ गते विहान ८ बजे देखि शुरु हुने परीक्षामा साधारण धारतर्फको १७ गतेसम्म र प्राविधिक धारतर्फको २० गतेसम्म सञ्चालन हुने छ । यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिँदैछ । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ’सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जेम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरु तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको अनुगमन टोलीले परीक्षा सञ्चालन अवधिमा परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित गर्ने र अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने गरी अनुगमन निरीक्षणको व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख ।

प्रतिक्रिया