Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

हिसान महाधिबेशन : पत्रकार क्षेत्रीलाई आर्थिक सहयोग, राजनीतिक प्रतिबद्धता विना शिक्षा क्षेत्र सुधार नहुने मन्त्रीको भनाई

शनिबार, २६ पुस २०७१

काठमाडौं २६ पुस / ब्रेन ट्युमरको अप्रेसन भई नयाँ दिल्लिमा थप उपचारत पत्रकार सूर्यकुमार क्षेत्रीलाई उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसानले आर्थिक सहयोग गरेको छ । हिसानको छैटौं राष्ट्रिय महाधिबेशनको उद्घाटन कार्यक्रममा २५ हजार रुपैंया सहयोग गर्ने घोषणा गरिएको हो । प्रेस यूनीयनका सचिव समेत रहेका क्षेत्री शिक्षा विटमा समेत कृयाशिल पत्रकार हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री चित्रलेखा यादवले उच्च स्तरको राजनीतिक प्रतिबद्धता विना शिक्षा क्षेत्र सुधार नहुने बताएकी छन् । मन्त्रालयले मात्रै गरेर शिक्षा क्षेत्रको सुधार नहुने भन्दै सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनले बताईन् । ‘सामूहिक प्रतिबद्धताले मात्रै शिक्षाको सुधार हुन्छ,’ उनले भनिन्, ‘हामी सबैको ऐक्यबद्धताले मात्रै हामीले चाहेको ज्ञानबर्धक, सीप मूलक र चेतना बृद्धि गर्ने शिक्षा प्राप्त हुन्छ ।’ नीतिगत कारणले अप्ठ्यारो परेको हो भने नीजि क्षेत्रको अप्ठ्यारो सुल्झाउन मन्त्रालय संधै तयार रहेको पनि उनले बताईन् ।

कार्यक्रममा मुख्य सचिव लिलामणि पौडेलले नीजि उच्च माध्यामिक विद्यालय सञ्चालकहरुले कमाएको पैसा पारदर्शी गर्न सुझाव दिए । छात्रबृत्ति तथा शुल्कको पारदर्शितामा ध्यान दिनु पर्ने उनको भनाई थियो । ‘लगानी पारदर्शि गर्नुहोस् सुरक्षित हुन्छ, नभए हिसाव किताव खोज्ने मान्छे आउँछ तपाईहरु अप्ठ्यारोमा पर्नु हुन्छ,’ उनले भने, ‘शिक्षा भन्ने कुरा समतामूलक समाज निर्माणका लागि अपरिहार्य तत्व हो, तपाईले दिएको शिक्षाले समाजलाई यस तर्फ सहयोग गर्यो की गरेन ध्यान दिनुहोस् ।’ उनले हिसानको नेतृत्व चयन गर्दा राजनीतिक रंङ्का आधारमानगर्न पनि सुझाव दिए ।

कार्यक्रममा काँग्रेसका शिक्षा विभाग प्रमुख तथा सभासद् चन्द्र भण्डारी, एमालेका सभासद् अग्नि खरेल, सभासद् तथा हिसानका अध्यक्ष उमेश श्रेष्ठ, सभासद् गिता राणा, उच्च माध्यामिक शिक्षा परिषद्का निमित्त सदस्य सचिव नारायण कोइराला लगायतले शिक्षा क्षेत्रका चुनौति र सुधारका लागि गर्नु पर्ने कृयाकलापका बारेमा बोलेका थिए ।

बुढानिलकण्ठमा भएको महाधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि उपाध्यक्ष डा. माधव प्रसाद बराल र रमेश सिलवालको प्यानल प्रतिस्पर्धामा छ ।

देशभरी रहेका करीब ८ सय ५० उच्च माध्यामिक विद्यालयहरु हिसानका सदस्य छन् । महाधिबेशनमा करीब ४ सय प्रतिनिधि सहभागि भएका हिसानले जनाएको छ ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भनिएपनि कार्य ब्यस्तताले उनी आउन नसकेको भन्दै कार्यक्रमकै विचमा शिक्षा मन्त्री यादवलाई प्रमुख अतिथी बनाईएको थियो । 

प्रतिक्रिया