काठमाडौं - सामुदायिक विद्यालयमा सबै भन्दा कमजोर र हेपिएका कक्षा भनेको क्रमशः बालकक्षा, कक्षा एक, दुई र तीन हुन् । सबै भन्दा कम योग्यता भएका, शिक्षण सीप कमजोर भएका, उमेरले धेरै पाका भइसकेका, माथिल्ला कक्षामा पढाउन नसक्नेहरूका लागि पनि क्रमश: यी कक्षाहरू प्राथमिकतामा पर्छन् र विषयगत रूपमा नेपाली पनि त्यही वर्ग भित्र पर्छ । भर्खर विद्यालय आएका साना नानी बाबुहरूलाई विद्यालय प्रतिको आर्कषण जगाउने बेलामा अध्याँरा, साना, कमजोर कक्षा, प्लाई, काठ वा जस्तापाता आदिले बारेर अलग गरिएका कक्षाकोठामा स्वागत गरिन्छ ।
करिब ८० प्रतिशत सामुदायिक विद्यालयको हेपिएका कक्षा हुन प्रारम्भिक तहका कक्षा एक देखि तीन । पछिल्ला दिनहरूमा विभिन्न गैर सरकारी संस्थाहरुको सहयोग, बालमैत्री बसाइको अभियान र निजीको सिको गर्दै करिब २० प्रतिशत विद्यालयहरू जर्वजस्त साना विद्यार्थीको कक्षा कोठामा बसाइ व्यवस्थापनमा मात्र ध्यान दिएको पाइन्छ । त्यसैले त शिक्षक अगाडिको भागमा जुत्ता लगाएर र विद्यार्थी भुइँमा जुता खोलेर बसेको प्रशस्त देख्न पाइन्छ ।
व्यवस्थापन पक्षदेखि नै गरिने वेवास्ताले साना कक्षाको सिकाइमा समेत समस्या छ । कक्षा १ मा जान्नु पर्ने कुराहरू कक्षा तीनमा पुग्दा सिक्न सकेका हुँदैनन् । सिकाउनु पर्ने आधारभूत कुरामा भन्दा पाठ सकाउने अभियानमा विद्यालयका वर्षहरू वित्छन् । हाम्रो मुलुकमा शिक्षकहरू कहिले पनि विद्यार्थीको सिकाइसँग जवाफदेही हुन सकेनन् । विद्यार्थीले सिकेका छैनन् भन्ने कुरा शिक्षकलाई त थाहा छ, तर शिक्षकहरू त्यो भन्न नचाहने भए । सरकारको त थाहा पाएर पनि थाहा नपाए जस्तै गर्ने विशेषता नै भयो ।
गैरसरकारी संस्थाहरूले अनुदान ल्याउने र काम देखाउने विभिन्न बाटा खोजिरहेका हुन्छन् । यस्तै खोजीमा उनीहरु यही साना कक्षाको कमजोर सिकाइमा केन्द्रित भए । उनीहरूले साना अनुसन्धानहरू गरे र तथ्याङकहरु सार्वजनिक गरे ।
केही गैससहरुले अध्ययन गरेर कमजोर सिकाइका तथ्याङ्कहरु सार्वजनिक गरेपछि अमेरिकी सहयोग नियोग युएसएडले नेपालमा प्रारम्भिक कक्षाहरूको पठन सीप सुधारका लागि कार्यक्रम गर्नु पर्ने सुझाव दिन थाल्यो । शिक्षामा मात्र होइन हरेक क्षेत्रमा हाम्रो कमजोरी अर्कैले भनिदिनु पर्ने र यसो गर उसो गर सल्लाह दिने अनि त्यही सल्लाहमा काम गराउन रमाउने हाम्रो नियती नै भएको छ ।
साना कक्षाको पढाइ कमजोर थियो । शिक्षकलाई राम्रैसँग थाहा थियो र शिक्षा मन्त्रालयलाई पनि थाहा थियो । युएसएडले आफुले गरेको कामबाट यति प्रतिशतले नतिजा सुधार गरे भन्नका लागि थप अध्ययन ग¥यो । काभ्रे, काठमाण्डौ र चितवन जस्ता शैक्षिक स्तर राम्रा भएका जिल्लाहरूमा गरिएको अध्ययनले देखाएको नतिजा यस्तो थियो
स्रोत : राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दस्तावेज, पेज ५ ।
साना कक्षाका विद्यार्थीको पढाइ सीपको उपलब्धिमा देखिएको यस प्रकारको निराशाजनक नतिजाले जसलाई पिरोल्नु पर्ने थियो त्यो वर्गलाई कमै मात्र पिरोल्न सक्यो । यसका कमजोरी खोज्ने र दोष कसलाई दिन सकिन्छ भन्नेमा केन्द्रीत भयो । युसएआडीको आर्थिक तथा प्राविधिक सहयोगमा सरकारले सन् २०१४ र १५ देखि २०१९ र २० सम्ममा पचहत्तरै जिल्लामा कार्यक्रम कार्यान्व्यन गर्ने गरी राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको कार्यान्वयन शुरु ग¥यो । कार्यक्रमको दस्तावेजमा उल्लेख भए अनुसार पहिलो चरणमा १६ जिल्ला, दोस्रो चरणमा २४ जिल्ला र तेस्रो चरणमा ३५ जिल्लामा लागू हुनुपर्ने थियो तर अहिलेसम्म कार्यक्रम १६ जिल्लामा मात्र रुमलिएको छ । युएसएडले प्राविधिक कामको जिम्मा दिएको आरटिआई इन्टरनेशनल नामक अमेरीकी संस्थाले सरकारको कारण कार्यक्रम कार्यान्वयनमा कठिनाइ देखाउँछ भने सरकारका तर्फबाट शिक्षा मन्त्रालयले आरटिआईलाई देखाएर पन्छिने काम भइरहेको छ ।
यी तिन पक्षको जुहारीमा साना कक्षा अझै हेपिएका छन् । कार्यक्रम विस्तार हुन सकेको छैन । कार्यक्रमले आशातित नतिजा ल्याउने कुरामा पनि शंका नै छ । अनौपचारिक कुराकानीमा शिक्षा प्रशासनका माथिल्लो ओहोदाका व्यक्तिहरू परियोजना करिब करिब असफल भैसक्यो भन्छन् । परियोजनाका क्रियाकलाप कक्षा कोठामा पुग्न सकेका छैनन् । परियोजनालाई शिक्षा कार्यालय र विद्यालयहरूले अपनत्व लिएका छैनन् । परियोजना लागू भएका जिल्लामा नेपाली विषयलाई दुई घण्टी पढाउने प्रचलन शुरु भएको छ ।
शिक्षकहरूका तालिम चलिरहेका छन् । सामग्री बनाउने र छपाउने काम चलिरहेकै छ । अझ भन्नु पर्दा कक्षाको सिकाइमा सुधार हुने सम्भावना न्यूनै छ तर बजेट भने खर्च भएर सकिने छ, हजारौँ शिक्षकले तालिम लिने छन् र छापाखानाहरूले पनि काम पाइरहेका छन् । कक्षामा विद्यार्थीले पढ्न नजानेकै भए पनि बालपुस्तकहरू थुपारिएका छन् ।
परियोजना शुरु भए पछि देखिने गरी भएका काम भनेका विद्यार्थीको सिकाइ परीक्षण गर्ने, विभिन्न सामग्री विकास गर्ने, तस्वीरमा देखाए जस्तै गरी विद्यालयका भित्तामा सामग्री झुण्डाउने, शिक्षकको तालिम सञ्चालन, बैठक, गोष्ठी र सेमिनार हुन् ।
यसै कार्यक्रम मार्फत गत वर्ष सञ्चालन भएको कक्षा कोठामा आधारित पठन सीप परीक्षण (Classroom Based Early Grade Reading Assessment-CBEGRA) को नतिजा केही महिना अगाडि मात्र सार्वजनिक गरियो । एघार जिल्लाका २६०० विद्यालयमा गरिएको परीक्षण विद्यालयका शिक्षकहरू आफैले सञ्चालन गरेका थिए । उक्त परीक्षणको प्रतिवेदनका नतिजाका केही अंशहरू निम्न छन् ।
कक्षा २ | नतिजा (प्रतिशतमा) | कक्षा ३ | नतिजा (प्रतिशतमा) |
अक्षर र मात्रा चिन्ने | ७७ | परिचित शब्द चिन्ने | ८१ |
परिचित शब्द चिन्ने | ७९ | सुनेको वाक्य पहिचान गर्ने | ७४ |
सुनेको सरल वाक्य पहिचान | ६८ | पठनबोध | ८१ |
विकल्पबाट शब्दको अर्थ मिलाउने | ७१ | विकल्पबाट शब्दको अर्थ मिलाउने | ६८ |
पठन बोध | ६५ | चित्रबाट सुचना लिने | ४९ |
शब्दको अर्थ जोडा मिलाउने | ६२ | सामान्य जोडिएका शब्द छुट्टाउने | ५९ |
सामान्य जोडिएका शब्द छुट्टाउने | ५१ | श्रुति लेखन | ४६ |
श्रुति लेखन | ४० | पोस्टरबाट सूचना लिने | ६५ |
क्यालेण्डर हेर्ने | ७६ | श्रुति बोध | ४९ |
क्यालेण्डर हेर्ने | ७७ |
स्रोत : www.ero.gov.np
कक्षा २ र ३ को पाठ्यक्रममा आधारित भएर परीक्षण साधनहरू तयार गरिएको र विद्यालयका शिक्षकहरू आफैले समूहमा परीक्षण सञ्चालन गरेका थिए । सघन रुपमा दुईवर्ष देखि परियोजना लागू भएका ६ जिल्ला र बाँकी ५ जिल्लामा यो परीक्षण सञ्चालन गरिएको थियो । विद्यालयहरूलाई आफ्नो विद्यालयका विद्यार्थीको पठनस्तर आफैले परीक्षण गर्न लगाउने र त्यसबाट उनीहरूलाई सिकाइ सुधारमा लाग्नका लागि प्रेरीत गर्ने अभिप्रायले परीक्षण सञ्चालन गरिएको भए तापनि विद्यालयहरूले अपनत्व लिन सकेको अवस्था छैन ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र मार्फत सञ्चालन भएको यो परीक्षणको उद्देश्य नीति निर्माणमा भन्दा पनि हरेक विद्यालयलाई आफ्नो अवस्था पहिचान गर्न सहयोग गर्ने रहेको थियो । परीक्षण सञ्चालन गर्दा र नतिजा सार्वजनिकीकरणमा अभिभावकको उपस्थितिलाई अनिवार्य भनिएको भए पनि विद्यालयहरूले अभिभावक उपस्थित गराउने कुरालाई सहज रुपमा लिन नसकेको अवस्था एकातिर छ भने अर्कातिर अभिभावकहरूले पनि दिनभरी विद्यालयमा समय दिन कठिनाई भएको पनि पाइएको छ । यस प्रकारको परीक्षण विद्यालयहरू आफैले सञ्चालन गरी सुधारका लागि प्रयास गर्नु जरुरी छ । हाम्रा कमजोरी हामी आफै खोजी गरेर सुधारका प्रयास गर्ने कार्यको थालनी गर्नु आवश्यक छ ।
प्रतिक्रिया