बिशाल अधिकारी, पेशाले शिक्षक हुन् । मकवानपुर हेटौंडा १४,मयुरधापका अधिकारी 'आशुतोष' उपनामले साहित्य सृजना गर्छन् । .२०५१ मा भेषनाथ अधिकारी र शुभद्रा अधिकारीका सन्तानका रुपमा जन्मेका बिशाल अधिकारी आशुतोष गजल मञ्च मकवानपुरका सहसचिव, प्रलेस मकवानपुर र साहित्य संगम मकवानपुरमा आवद्ध छन् । गजल र कविता लेखनमा सक्रिय जनज्योती मावि, हेटौँडाका शिक्षक हुन् । यो साताको शिक्षा साहित्यमा उनको शिक्षकको भोगाइसंग सम्बन्धित कविता : शिक्षक
म मेरो छोराको आइडल हुनेछु
भोलि बिहान सम्म .......
उ भन्छ :
बाबा हाम्रो बाईक कैले किन्ने ?
बाबा मलाई जुत्ता खै ?
म भन्छु :
तिम्रो साथीको बाबाको दुई चक्के गाडी,
हाम्रो छ चक्के स्कुल बस ।
कुन ठुलो?
ल्याबमा साथिको गनाउने मोजा र जुत्ता
तिम्रो सफा खुट्टा ।
कुन राम्रो ?
उ भन्छ :
बाबा स्कुलबाट पिकनिक जाने ।
म भन्छु :
घरमै मासु खाने ।
र पनि छोरा खुसी नै छ
किनकी
म मेरो छोराको आइडल हुनेछु ।
भोलि बिहान सम्म .......
तर आज
घडिको नौ को संकेतमा
ढोकैमा आएको दोकानको
एक प्लेट उधारोको बिललाई नमन गर्दै
सापट फिर्तिको फोनले ग्याष्ट्रिक भएको म
उधारो बिलसंग
भोक साट्दै छु ।
भोली पक्का फी दिनु भन्दै
छोरो स्कुल गएपछि ।
तलब र फिर्ने आशमा मुर्दा
कुर्नु एकै भएपछि ।
म
यहि पेट र मस्तिष्कले
पढाउँदै छु ।
सिकाई उपलब्धि उकास्नु जो भनिएको छ ।
प्रतिक्रिया