घनश्याम अस्तित्व शिक्षण मात्रै गर्दैनन्, साहित्य सृजनामा पनि उनको दख्खल छ । कविता लेखन उनको आदत तथा जीवनशैली नै बनिसकेको छ । स्वर्गद्वारी नगरपालिका – ६ प्यूठान पुख्र्यौली थलो भएका अस्तित्वको हालको बसाई दाङ्मा छ । २०५१ सालमा शिबराम र सुमित्रा आचार्यका सन्तानका रुपमा जन्मेका उनी एक दशकदेखि कविता लेखनमा सकृय छन् । यो विचमा उनको संयुक्त र एकल गरि दुई गजल संग्रह प्रकाशित भईसकेका छन् । यो साताको शिक्षा साहित्यमा घनश्याम अस्तित्वको कविता : हेडसरको झापड
जब सम्झन खोज्छु म हेडसरलाई
म सम्झन्छु पहिल्यै – हेडसरको झापड ।
जिन्दगीको मान नपढाएर
साइन, कस र ट्यानको मान घोकाउने
म सम्झन्छु,
जिन्दगी नजानेका – गणीत पढाउने सर
विकसित र अविकसित देशहरूका
अनि तेस्रो विश्वमा पर्ने
देशहरूका नामहरू घोकाउने
र, एडम स्मिथ, मार्सल
र रविन्सका परिभाषा घोकाउने
म सम्झन्छु
अभाव नदेखेका – अर्थशास्त्र पढाउने सर
मेरो अस्तित्व मेटेर
मलाई अंग्रेजीकरण गर्नलाई
सि ओ डब्लु – काउ
र डि ओ जि – डग घोकाउने
म सम्झन्छु
देश नचिनेका – अंग्रजी पढाउने सर
चारैतिर पर्खाल बाँधेर
भेंडा र बाख्राहरूलाई झैं
हावा पनि छिर्न मुश्किल कोठामा थुनेर
वातावरणीय तत्व र यौगिकहरु घोकाउने
म सम्झन्छु,
प्रकृति नपढेका – विज्ञान पढाउने सर
सधैँ – सधैँ
जङ्गबहादुर, वीर शमशेर र चन्द्र शमशेरको
जन्म र मृत्यु मिती घोकाउने
म सम्झन्छु,
समाज नपढेका – सामाजिक सर
मलाई सिकाएको हो
जिन्दगीका चित्रहरूलाई कवितामा कोर्न
भुपि शेरचनको ‘मेरो देश’ कविताले
त्यसैले म बारम्बार
सम्झिरहन्छु – नेपाली पढाउने सर
र, यसरी सरहरूलाई सम्झिरहँदा
किन – किन आज पनि
मलाई एकैनाश लागिरहन्छ
कालोपाटीका ति विधुवा अक्षरहरू
र मेरा सपनाहरूको आयु
जब सम्झन खोज्छु म हेडसरलाई
म सम्झन्छु पहिल्यै
मेरा प्रश्नहरूको जवाफ – हेडसरको झापड ।
प्रतिक्रिया