Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

जब उभिन्छन् शिक्षकहरू उनीहरूका अगाडि ...

शनिबार, १५ पुस २०७४

आम मान्छे र कविले देख्ने र भोग्ने समाज एउटै हो, फरक यत्ति छ कविले समाज भोग्दैन मात्रै, विम्बात्मक शैलीमा लेख्छ पनि ! अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका प्रज्वल अधिकारी यस्तै कवि हुन् जसले देखाइ र भोगाइलाई कविताका रुपमा लेख्छन् । केही समय प्राध्यापन गरेकाले पनि हुन सक्छ शिक्षा क्षेत्रका अवस्था र त्यसको प्रभावलाई उनले सजिलो भाषामा ब्यक्त गर्छन् । उनको कविता 'अचम्मको दृष्य !' यो साताको शिक्षा साहित्यमा ।  

म बस्ने कोठाको झ्यालबाट
यौटा अचम्मको दृश्य देखिन्छ ।
जब घाम छिप्पिदै जान्छ
तब उदाउँदै गरेको
घाम भन्दा पनि कलिला बालकहरू
पृथ्वी भन्दा गर्हुङ्गो झोला बोकेर
भारी फलामे ढोका दुई हातले धकेलेर स्कुल छिर्छन् ।

कक्षा सुरु हुन भन्दा अगाडि
आमाको काख जस्तो मैदानमा उनीहरू छिरलिन्छन
यस्तो लाग्छ –
लटरम्म फूलेको पारिजात धर्तीमा झरेको छ ।

फ्यात्त फालेर झोला
आ–आफ्ना समुहमा भेला भएर
सुरु गरिहाल्छन् रमाइला खेलहरू ।
 
कोहि चुङ्गी ट्याक लगाएर
बिर्सिरहेका छन् समयको टिक् टिक !
कोहि गट्टालाई आफ्ना कलिला हातले मुसारिरहेछन्
कोहि ब्रह्माण्ड जस्तो भकुण्डोलाई लात मार्दैछन्
कोहि चिप्लेटी खेलेर रमाउँदैछन् ।

म हेरिरहेछु :
उनीहरूले मलाई देखेका छैनन्
शायद देख्न पनि चाहदैनन्
म भने भुलेर मेरो रोगी जिन्दगी
अतीत सम्झिदैछु ।

खेलिरहेका छन् उनीहरू
कुनै गल्ती देखिदैन उनीहरूको खेलमा
न त कुनै छलकपट
न कुनै जातीय, वर्गीय र धार्मिक द्वन्द !
देखिन्छ त–
यौटा उन्मुक्त हाँसो, बतासझै चञ्चल कुदाई
लाग्छ–
धर्तीका प्राण हुन् उनीहरू ।

जब बज्छ समयको घण्टी !
उनीहरू ठाउँको ठाउँ रोकिन्छन् र
सुरु गर्न थाल्छन जिन्दगीको अभिनय ।
स्वच्छन्द बग्ने पानीलाई छेकेसरी कुनै पहाडले
जब उभिन्छन् शिक्षकहरू उनीहरूका अगाडि
एकाएक गल्तिहरू हुन थाल्छन् उनीहरूबाट ।

अघि भाँडाकुटी खेल्दा लतपतिएको माटो
अहिले फोहोर बनेको छ
अघि गट्टा खेल्दा साथी बनेका ढुङ्गाहरू
अहिले पथ्थर बनेका छन्
अघि चिप्लेटी खेल्दा फाटेको पाइण्ट
अहिले बेइज्जतीको पराकाष्ठा भएको छ ।

उनीहरू छिरेपछि कक्षाकोठामा
सन्नाटा छाउँछ मेरो झ्याल अगाडि र
मेरो रोगी जिन्दगीले चस्का दिन थाल्छ ।

यति बेला कक्षाभित्र
सुरू भएको छ : इतिहासको रटान
घोकिरहेछन् उनीहरू पुराना दिनहरू
सुरु भएको छ : जातीय, धार्मिक र लैङ्गिक हिँसा !

साँझ पर्नै लाग्दा
घाम पुनः कोमल बनेको छ
तर उनीहरू
जिन्दगीले एउटा मीठो वर्तमान
गुमाएकोमा बिरक्त देखिन्छन् ।

उहि भारी ढोका घ्र्यार पारेर बाहिरिदै गर्दा
म उनीहरुलाई नदेखेझै गर्छु
तर उनीहरू मलाइ हेरेर भक्कानिन्छन !

- विश्वनाथ र कमला अधिकारीको जेठो सन्तानका रुपमा २०४५ साल माघ १ गते लमजुङमा जन्मिएका कवि अधिकारी  Slam poetry २०७४ का विजेता तथा विश्व नेपाली साहित्य महासंघ साउथ यु के को वातावरण कविता प्रतियोगिता २०७४ मा पुरस्कृत  ब्यक्ति हुन् । बुक आर्ट नेपालले २०७२ मा र भविष्यवाणी कविता प्रतियोगितामा क्रमशः टप २० र टप १० भित्र पर्न समेत उनी सफल भएका छन् । – सं.

प्रतिक्रिया