Edukhabar
शनिबार, ०८ मंसिर २०८१
खबर/फिचर

जाँदा जाँदै शिक्षा मन्त्रीको चलखेल, विवादास्पद निर्णयमा तल्लिन

विहीबार, १३ पुस २०७४

काठमाडौं - आफ्नो कार्यकालमा गतिलो गर्न नसकेर आलोचित बनेका शिक्षा मन्त्री गोपालमान श्रेष्ठ जाँदा जाँदै थप विवादास्पद कार्य गर्न तल्लिन भएका छन् ।

निर्वाचन पछि नयाँ सरकार गठन हुने राजनीतिक तयारी भईरहेका बेला मन्त्री श्रेष्ठ भने आफू अनुकुलका निर्णय गराएर थप विवादित हुँदै छन् । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख प्रल्हाद अर्यालको सरुवा प्रकरण यसकै पछिल्लो उदाहरण बनेको छ ।

महानगरपालिका क्षेत्र भित्र नयाँ निजी विद्यालय खोल्न तथा आफू निकटका शिक्षकलाई जिल्लान्तर सरुवामा सहमती दिन मन्त्रीले गरेको अपेक्षा विपरित महानगरले आपत्ति जनाएपछि मन्त्री श्रेष्ठ अर्याल माथि 'जाईलागेका' हुन् ।

'बाहिर जिल्लाबाट काठमाडौं सरुवा हुन चाहने शिक्षकको दवाव ठूलो छ, उनीहरु आफ्ना संगठन मार्फत् मन्त्रीको पहुँचमा पुगेका छन्' मन्त्रालय श्रोतले भन्यो 'त्यो भन्दा पनि डरलाग्लो कुरा त निजी विद्यालय सञ्चालकहरुको प्रभाव ठूलो छ, जाँदा जाँदै भए पनि उनीहरुको काम गर्न सकियो भने राम्रै फाईदा होला भन्ने आँकलनले यस्ता निर्णय हुन थालेको बुझिन्छ ।'

विद्यालय शिक्षा व्यवस्थापनको अधिकारको विषयलाई लिएर महानगरपालिका र जिशिकाबीच विवाद चर्किएको थियो ।

मन्त्रीले आफूँ निकटका ब्यक्तिको निजी  विद्यालयहरुको दर्ता तथा नाम परिवर्तन, ठाउँ सारी र आफ्ना निकटका शिक्षकहरुको सरुवा लगायतका काममा जिल्लावासी अर्यालबाट सहयोग हुने अपेक्षा गरेर काठमाडौं पठाएका थिए । तर, उक्त निर्णयमा आएको अवरोध छिचोल्न नसकेको भन्दै मन्त्री श्रेष्ठ अर्याल प्रति बेखुस हुदै आएका थिए ।

त्यही विचमा परेको चुनावमा पनि अर्यालबाट पर्याप्त सहयोग नभएको भन्दै उनले उक्त झोँक फेर्न सरुवा गरेको श्रोतले जनाएको छ ।

चुनावका बेला 'केही आर्थिक सहयोग' सहित जिल्लामा सघाउन मन्त्रीले थुर्पै पटक आग्रह गरेको अर्याल निकट श्रोतले जनाएको छ । पैसा दिन सक्ने आफ्नो हैसियत नभएको बताउँदै अर्यालले केही ब्यक्तिसँग सम्पर्क भने गराईदिएका स्याङ्जा निकट उक्त श्रोतले दावी गरेको छ ।

'मन्त्रीको अपेक्षा धेरै रहेछ क्यारे चुनाव हारेको झोँकमा अर्याल परे' उक्त श्रोतले भन्यो, 'त्यही झोँकमा उनले जिशिका मार्फत् काम गराउन लगाएका थिए ।'

तर माध्यमिक तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानले गरेको ब्यवस्था विपरित जिशिका मार्फत् काम गर्न नहुने भन्दै महानगरले आपत्ति जनाएको थियो । उक्त आपत्ति पछि महानगरपालिकामा खटिएका अर्याललाई मन्त्रीको दवावमा सरुवा गर्न लागिएको मन्त्रालय श्रोतले जनाएको छ ।

अर्याललाई हटाएर काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटालाई नै महानगरपालिकाको जिम्मेवारी तोक्ने गरी मन्त्रीले जिल्लावासी सचिव मधुप्रसाद रेग्मी मार्फत् निर्णय गराएको श्रोतले जनाएको छ ।

'संविधानले नै माध्यमिक तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा जिल्ला शिक्षाबाट काम हुन थालेपछि हामीले आपत्ति जनाएका थियौं, महानगर श्रोतले भन्यो, तर मन्त्री ज्यूलाई ती काम नगरी भएन, आखिरमा कर्मचारी सरुवा गरेरै भए पनि आफ्नो काम गरी छाड्ने टुङ्गोमा पुग्नु भयो ।

स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयनमा आएसँगै विद्यालय शिक्षा व्यवस्थापनको अधिकार आफ्नो भएकोले ६ महिना भित्र खारेज हुने जिशिकाले मनोमानी गर्न नहुने भन्दै महानगरपालिकाले सचेत गराएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले विज्ञप्ती जारी गरेरै निजी विद्यालयको नाम, स्थान, स्वामित्व परिवर्तन, नयाँ दर्ता, कक्षा थप लगायतको काम नगर्न चेतावनी दिएका थिए ।

गत पुस १ गते जिशिकाले निजी विद्यालयहरूको उक्त कार्यका लागि सूचना सर्वाजनिक गरेको थियो । स्थानीय सरकारको काममा हस्तक्षेप गरेको भन्दै महानगरले जिशिकालाई अब आइन्दा समन्वय गरी काम गर्न सचेत गराए पनि मन्त्री श्रेष्ठको ठाडो आदेश पछि कर्मचारीकै सरुवा हुन लागेको हो ।

सरुवा हुँदै छ भन्ने कुरा सुनेको अर्यालले बताए पनि किन सरुवा हुन लागेको हो ? भन्ने एडुखबरको प्रश्नमा थप कुरा बताउन चाहनेनन् ।

'हामी त कर्मचारी सरकारले जता खटाउँछ त्यतै जाने हो, किन सरुवा भयो भन्दै बुझ्न जाने कुरा हुँदैन' उनले एडुखबरसँग भने ।

फाईल फोटो

प्रतिक्रिया