Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

त्रिविको बढ्दो बेरुजु घट्दो फछ्र्यौट

आइतबार, ०३ असोज २०७२

काठमाडौं ३ असोज / देशको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलमा आर्थिक अनुशासन कमजोर फेला परेको छ । आईतबार बसेको त्रिवि सभामा प्रस्तुत नीति तथा कार्यक्रमको प्रतिबेदनमा केन्द्रिय विश्वविद्यालयको हैसियतबाट उच्च शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख गरिरहँदा बजेट वक्तब्यमा समेटिएको बेरुजुको तथ्याङ्कले भने उक्त कुरालाई गिज्याई रहेको थियो ।

अर्बौं रकम बेरुजु हुँदा समेत त्रिविले फछ्र्यौट गर्न नसकेको मात्रै हैन पछिल्ला ५ बर्षमा फछ्र्यौटको दर समेत घट्दो गतिमा छ । गत आर्थिक बर्षमा मात्रै झण्डै १० अर्ब बेरुजु देखिएपनि जम्मा १ मात्रै फछ्र्यौट भएको छ । गत आवमा ९ अर्ब ९४ करोड ७३ लाख ५८ हजार रुपैंया भएकोमा १ करोड २ लाख ७५ हजार रुपैंंया मात्रै फछ्यौट भएको छ । गत ५ बर्षको बेरुजुको अवस्था हेर्ने हो भने गत आवमा सबै भन्दा कम रकम फछ्र्यौट भएको छ ।

आ.व. ६७/ ६८ मा ८ अर्ब २५ लाख ९३ हजार बेरुजु रहेकोमा ८२ करोड २५ लाख ९३ हजार फछ्र्यौट भएको छ । यस्तै आ.व. ६८/६९ मा बेरुजु घटेर  ७ अर्व ७४ करोड ४१ लाख ४१ हजारमा सिमित भए पनि फछ्र्यौट १५ करोड ९३ लाख ८ हजार मात्रै भयो ।

आ.व. ६९/ ७० मा बेरुजु बढेर फेरी बढेर ८ अर्ब ६१ करोड ७४ लाख ८७ हजार पुगेको थियो । फछ्र्यौट भने १६ करोड ८५ हजार भयो । यसैगरी आ.व. ७० / ७१ मा ९ अर्ब ६८ करोड ५१ लाख ४२ हजार बेरुजु भएकोमा सबै भन्दा धेरै १ अर्ब ३० करोड ३२ लाख ३४ हजार फछ्र्यौट भएको प्रतिबेदनमा उल्लेख छ ।

त्रिवि सभामा प्रतिबेदन पेश गर्दै रजिष्ट्रार प्रा. डा. चन्द्रमणि पौडेलले पेश्की बेरुजु फछ्र्यौट प्रकृयालाई प्रभावकारी बनाउने बताए । फछ्र्यौट नगर्नेहरुसँग ब्याज सहित असुल उपर गर्ने योजना रहेको उनले बताए । गत आर्थिक बर्षमा पनि फछ्र्यौट नगर्नेहरुसँग ब्याज सहित असुल उपर गर्ने भनिएको थियो । तर गत बर्ष नै सबै भन्दा कम फछ्र्यौट भएको छ ।

आ.व. ७२/७३ को बजेट

त्रिवि सभाले आउँदो बर्षका लागि १७ अर्ब ६८ करोड ५५ लाख ९८ हजारको बजेट तय गरेको छ । जस अन्र्तगत तलब भत्तामा ६ अर्ब ४ करोड ६७ लाख ७४ हजार, निबृत्तिभरण उपदान तर्फ ९९ करोड ६७ लाख ५० हजार, निबृत्त शिक्षक कर्मचारीको औषधोपचार तर्फ १९ करोड २८ लाख संचित विदा तर्फ २० करोड, सञ्चालन खर्च ७७ करोड ८९ लाख ४५ हजार गरी जम्मा ८ अर्ब २१ करोड ५२ लाख ६९ हजार र विकास पूजिगत तर्फ ४ अर्ब १६ करोड ५५ दाख र आन्तरिक तर्फ ५ अर्ब ३० करोड ७ लाख ५५ हजार गरी कूल ७ अर्ब ६८ करोड ५५ लाख ९८ हजारको बजेट तय गरेको हो ।
बजेट पेश गर्दै रजिष्ट्रार पौडेलले ५ अर्ब ३० करोड ७ लाख ७९ हजार आन्तरिक श्रोत परिचालन हुने अनुमान पेश गरेका छन् ।

नीति तथा कार्यक्रम

त्रिवि सभाले उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्कृष्ट शैक्षिक केन्द्रहरुको विकास गर्नेर यसका लागि रणनीतिक योजना कार्यन्वयन गर्ने नीति पारित गरेको छ ।  केन्द्रिय विश्वविद्यालयको हैसियतबाट उच्च शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक कृयाकलाप गर्ने त्रिविको योजना छ । मूलूकको संघीय संरचना अनुरुप उच्च शिक्षालाई ब्यवस्थापन गर्न त्रिविका आँगिक क्याम्पसहरुलाई थप स्वायत्तता प्रदान गर्ने, रोजगार तथा उद्यमशिलताकेन्द्रित गर्दै पठन पाठनमा प्राविधिक शिक्षालाई जोड दिने त्रिविको नीति छ ।

यसैगरी गुणस्तरीय उच्च शिक्षाका लागि सेमेष्टर प्रणालीको प्रभाव मूल्याँकन गरी विस्तार गर्ने, समायनुकुल पाठ्यक्रम परिमार्जन गर्ने, आर्थिक एवं प्रशासनिक सुधार गर्ने, भूकम्पले पुर्याएको क्षतीको योजना बनाई भौतिक विकास, पुर्न निर्माण एवं नव निर्माण गर्ने नीति तय छ ।
जनशक्ति विकास अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार तथा आन्तरिक श्रोत परिचालन तथा आयआर्जनका बारेमा सभा नीति तयार गरेको छ ।

५३ औं ग्रेस लिष्ट पारित

त्रिवि सभाले आउँदो दीक्षान्त समारोहका लागि ६१ हजार ७ सय १६ जना विद्यार्थी योग्य भएको भन्दै ग्रेस लिष्ट पास गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायमा ४३ जना विद्याबारिधि सहित ११ हजार ८ सय ७२, कानूनमा १ जना विद्याबारिधि सहित ५ सय ७०, ब्यवस्थापनमा ५ जना विद्याबारिधि सहित १६ हजार १९ जना विद्यार्थी दीक्षान्तका लागि योग्य छन् ।

यसैगरी शिक्षा शास्त्रमा ६ जना विद्याबारिधि सहित २४ हजार ६ सय ५७ जना, वित्रान तथा प्रविधि अध्ययन संस्थानमा ११ जना विद्याबारिधि सहित ५ हजार ८६, बन वित्रानमा १ सय ५३, कृषि र पशु विज्ञानमा ६ जना विद्याबारिधि सहित २ सय ६९, ईञ्जिनीयरिङ्मा ४ जना विद्याबारिधि सहित २ हजार ८८, चिकित्सामा ९ सय ९९ जना एम फिल, स्नातकोत्तर र स्नातक डिग्री तथा विभिन्न संकायमा विद्याबारिधि गर्ने ७६ जना विद्यार्थीहरु उपाधिका लागि योग्य भएको त्रिविले जनाएको छ ।

२०७१ जेठ १८ गते देखि २०७२ जेठ १७ गते सम्म ट्रान्सकिप्ट लिएका विद्यार्थीलाई उक्त लिष्टमा समाबेश गरीएको हो । उपाधि प्रदान गर्न अनुमति पाउने विद्यार्थीको दीक्षान्त कार्यक्रम आउँदो मंसिर १६ गते गर्ने तयारी छ ।

संविधान जारी गर्ने चटारोका दिन त्रिविले सभा राखेपछि त्रिविका कुलपति प्रधानमन्त्री सुशील कोईराला कार्यब्यस्तताका कारण भन्दे कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा शिक्षा मन्त्री तथा त्रिविकी सहकुलपति चित्रलेखा यादवले त्रिविका समस्या समाधानका लागि आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता ब्यक्त गरीन् । त्रिवि तथा मध्य पश्चिमाञ्चल, सुदुर पश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालय विचको सम्बन्ध सुधार र विकासको कार्य तत्कालै प्रारम्भ गर्न आवश्यक भएको उनले बताईन् ।

यसैगरी त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले नयाँ विश्वविद्यालय स्थापना गर्दा त्रिविसंग समन्बय नगरिएकाले समस्या भएको बताए । खास गरी नयाँ विश्वविद्यालय खोल्दा त्रिविका आँगिक क्याम्पस समेत समाबेश गरिनाले नयाँ विश्वविद्यालय बीच द्धन्द्ध भएको उनको भनाई छ । दुवै निकाय विच समन्वयका लागि उनले सरकारलाई अनुरोध गरे । जति सक्दो चाँडो स्ववियू निर्बाचन गर्ने पनि उनले बताए ।

उपकुलपति नियुक्तिमा विरोध जनाउँदै सत्ताधारी एमाले निकट प्राध्यापकहरुले तालाबन्दी लगायतका विरोधका कार्यक्रम फिर्ता लिए सँगै त्रिवि सभा बसेको हो ।

प्रतिक्रिया