Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

एउटा अर्थ

शनिबार, ०१ पुस २०७४

श्रवण मुकारुङ्का कविताको विषयलाई आख्यानकार अभि सुवेदीले ग्रामिण जीवन र ग्रामिण भाषाको भावका रुपमा ब्याख्या गर्छन् । प्राकृतिक जीवनमा भोगिने विडम्बनादेखि देशको परिस्थिति, सामाजिक र सांस्कृतिक परिवर्तनको प्रभावको आधारमा अनुभव गरिने अप्ठ्याराहरुलाई श्रवणले आफ्नो कविताको विषय बनाएको उनको ठहर छ । सुवेदीको उक्त ठहर बोकेको २०४९ सालमा प्रकाशित श्रवणको कविता संग्रह ‘देश खोज्दै जाँदा’ मा समेटिएको कविता एउटा अर्थ ग्रामिण जीवनमा छोरीहरुले पठन पाठनमा भोग्ने अप्ठ्याराका बारेमा केन्द्रित छ । बहिनी रेवतालाई सम्बोधन गर्दै लेखिएको कविता एउटा अर्थ यो साताको शिक्षा साहित्यमा :

एउटा अर्थ

(बहिनी रेवतालाई)

तिमी
जुठो चुल्हो सिध्याएर स्कुल जान
बाँसको काईयोले कपाल कोरिरहेकी हुन सक्छ्यौ
अथवा
गोठको डिलमा एक डोको सोत्तर घोप्ट्याएर
कापी सिद्धिएको अनुभव गरिरहेको हुन सक्छ्यौ
साथी – संगीले ओडेको रेशमी सल सम्झेर
मेरो सम्झनामा
विसञ्चोले छुट्टी मनाइरहेकी हुन सक्छ्यौ ।

बाबरी फूल उन्नुपर्ने दिन
दाउराको चोकेले लुछेको जामा सिउँदै
भाइटिका मनाईरहेकी हुन सक्छ्यौ
यमराजको खप्पर फोर्न नपाएर – तिम्रा हातहरु
आँखाको तातो आँशुले रुझिरहेको हुन सक्छ
अथवा
ओखरहरुको साम्राज्य तिहारमा
लोहोरो अभाव खड्किरहेको हुन सक्छ
कतै
हाजिरखाताबाट पनि तिम्रो नाम काटिदै–काटिदै
म बाँच्नुको एउटा अर्थ मेटिन सक्छ ।।

फोटो : ईण्टरनेट

प्रतिक्रिया