सामुदायिक विद्यालय भनेका दलित, गरीव कमजोरका विद्यालय हुन् । हुने खानेका त बोर्डिङ्मा पठाउँछन्, बाहिर पनि पढाउँछन् । डोटी जिल्लाको हकमा पनि त्यही कुरा लाग छ । गाउँमै भएको विद्यालयमा पढाउने भनेको त कमजोर मान्छेले मात्रै हो । त्यसैले ती दलित कमजोरलाई कसरी अगाडी बढाउने भन्ने नै अहिलेको चुनौती हो ।
कुनै स्कुलमा भौतिक पूर्वाधार कमजोर छन्, कतै टिन चुहिने छ, कुनै ठाउँमा हतार हतारले बजेट हालेर बनाएको छत नै चुहिने छ । कुनै ठाउँमा खानेपानीको समस्या छ ।
सामुदायिक विद्यालय सुधारलाई स्थानीय सरकारले अभियानका रुपमा लिएको छ । चुनाव पछि लगत्तै घर दैलो गर्ने योजना छ । शिक्षाका निकायका मान्छेहरु, जिल्ला शिक्षा अधिकारी नगर प्रमुख उपप्रमुख सहित वडा सदस्य र अध्यक्षहरु सहितका टोलिले प्रत्येक वडामा घर दैलो गर्ने योजना छ ।
हाम्रो वडामा मात्रै लगभग १३ प्रतिशत बालबालिका विद्यालय नजाने भेटिएको छ । त्यो मध्ये पनि विद्यालय जानेहरु नै विचमै छाड्ने दर समेत उच्च छ । आठ नौ पढ्यो आर्थिक सहित विभिन्न कारणले पढ्न छाडेको भेटिन्छ । उनीहरुलाई कसरी माथिल्लो स्तरमा पढाउने भन्ने एउटा चुनौती हो । जसलाई समाधान गर्ने हाम्रो प्रयास हो ।
स्कुललै नजाने बालबालिकालाई कसरी स्कुल पुर्याउने त ? के गर्न सक्छ वडाले ? यतिखेरको मुख्य प्रश्न हो यो । कसैको ड्रेस छैन, कसैको कापी कलम छैन भने यस्ता विद्यार्थीका बारेमा घर घर गएर बास्तविक तथ्याङ्क लिएर कसको अवस्था के छ भनेर बुझेर छात्रबृत्ति समेत दिने गर्ने योजना छ । विद्यार्थी पढ्न नचाहनुको कारण के हो ? उसैलाई काउन्सिलिङ् गरेर फेरी विद्यालय पठाउने भन्ने बारे हामीले निर्णय गरेका छौं ।
अब विद्यालयको नयाँ शैक्षिक सत्र अघि नै शिक्षक, वडाका सदस्य सहित वडा अध्यक्षहरु र राजनीतिक दलका प्रतिनिधिहरु सहित कम्तिमा एक सय जनाको टिम बनाएका छौं ।
त्यो टिमले स्कुल छाडेर घर बसेका विद्यार्थी र स्कुलै नगएका बालबालिकालाई कसरी लैजान सकिन्छ भन्ने बारेमा कार्य गर्ने छ । उमेर पुगिसकेकाहरु फेरी विद्यालय नजान सक्छन् । आफू भन्दा साना उमेरका भाई बहिनीसँग कसरी पढ्ने भन्ने मानसिकता लिएर नगएकाहरु पनि छन् । तिनीहरुलाई कसरी फेरी विद्यालय लैजाने भनेर हामी तय गर्दै छौं ।
सार्वजनिक विद्यालयमा लगानीको खाँचो
फेरी स्मरण गराउँ, सामुदायिक विद्यालय भनेका दलित, गरीव कमजोरका विद्यालय हुन् । हुने खानेका त काठमाडौं राखेर पढाएका छन्, होस्टेलमा राखेका छन् । तर गाउँमा भएका विद्यालयहरुमा जाने भनेका निम्न आर्थिक अवस्थाका अभिभावकका छोराछोरी हुन् । उनीहरुलाई शिक्षा दिक्षा दिनु त हाम्रो कर्तव्य पनि हो । र जिम्मेवारी पनि हो । त्यसैले यस्ता समुदायका विद्यार्थी पढ्ने विद्यालयमा कसरी सुधार गर्ने भनेर हामी सर्वेक्षण गर्दै छौं । विगतमै पनि वडा परिषद्बाट सबै विद्यालय नछुट्ने गरी कहाँ कति बजेट आवश्यक छ त्यही अनुसार पैसा हालेका छौं ।
शिक्षामै काम गर्ने गरी डोटीमा कार्यरत विभिन्न संस्थाहरु पनि छन्, ईडिसी, सिडीसी जस्ता संस्थाहरुले यस अघि पनि सहयोग गरेकै छन् अब, पनि के कसरी अघि बढ्ने भन्ने बारेमा दैनिकै छलफल गरिरहेका छौं ।
कुनै ठाउँमा उहाँहरुले टिन किनिदिनु भा छ, कुनै ठाउँमा कार्पेट किनिदिनु भा छ, राउण्ड टेवल दिनु भा छ, विद्यार्थीलाई छात्रबृत्ति लगायतका सहउयोगले सकारात्मक प्रभाव परेको छ । थप गर्ने हो भने अझै राम्रै हुन्छ ।
यो कमजोर गरीबको विद्यालय भएकाले विशेष प्राथमिकता दिनै पर्छ । शिक्षा कमजोर भयो भने त्यो वडा होस्, टोल हास्, देशै होस् केही कामै हुन सक्दैन ।
अहिले सम्म हाम्रो देश पछि परेको कारण पनि यही हो । त्यसैले सार्वजनिक शिक्षाको स्तर सुधार नै महत्वपूर्ण पक्ष हो ।
सार्वजनिक शिक्षा सुधारका लागि स्थानीय सरकारका योजना र कार्यक्रमबारे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भण्डारीसँग गरिएको कुराकानीमा आधारित । कार्यक्रम हाम्रो शिक्षाका लागि गरिएको उक्त कुराकानी सहितको कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : हाम्रो शिक्षाको २८ औं अंक
प्रतिक्रिया