काठमाडौं - बर्दियाका निराजन पौडेल र अरुण तिवारी शिक्षक बन्ने धोको लिएर त्रिभुवन विश्वविद्यालयको शिक्षा संकाय अन्तर्गत रसायन शास्त्र अध्ययन गरिरहेका छन् ।
उनीहरुको औपचारिक पढाइ सकिन मात्र एक वर्ष बाँकी छ । उनीहरुलाई भने अहिल्यै पिरलो भइसकेको छ ।
‘शिक्षक बन्छु भनेर पढियो, शिक्षक बन्न पाउने हो कि हैन, टुङ्गो भएन ।’ उनीहरुको साझा चिन्ता हो यो ।
ती दुई विद्यार्थीलाई त्यस्तो अनुभूति हुनुमा शिक्षा ऐन २०२८ को नवौं संशोधन मुख्य कारक बन्यो । ‘शिक्षकै बन्छु भनेर पढेकाहरुलाई निराश बनाउने गरी राजनीतिक दलहरुले ऐन संशोधन गरिदिन्छन्, त्यसपछि त पढौं जस्तो पनि लाग्दैन ।’ विद्यार्थी पौडेलले भने ।
यो त भयो पछिल्लो राजनीतिक घटनाक्रम । यो भन्दा अघिका घटनाहरु सम्झँदा पनि दिक्क लागेको उनीहरु बताउँछन् ।
‘शिक्षामन्त्री, शिक्षक सेवा आयोगको चालामाला देखेर त शिक्षक बन्न शिक्षा संकाय पढ्नु पनि बेकार र अपराध गरे जस्तो भएको छ ।’ उनीहरुले आफ्नो अन्यौल एडुखबरसँग बाँडे ।
पढेर शिक्षक बन्ने, रोजगारीमा लाग्ने लाखौं विद्यार्थीको सपनालाई घाँटी निमोठ्ने गरी शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको समस्या समाधान गर्ने वहानामा नवौं संशोधन गरेपछि, त्यही ‘घातक’ संशोधनलाई नेपाली काँग्रेस, एमाले र माओवादी लगायतका मुख्य दलका शिक्षा विभाग हेर्ने नेताहरुले ‘आँखा चिम्लेर’ सहमति जनाएपछि धेरै विद्यार्थी निराश भएका छन् । अब यो देशमा केही हुने छाँट मरिसकेको शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीको बुझाई छ ।
‘पढेर नि काम छैन, काम आफ्नै नातागोता, आफन्ती, पार्टीका कार्यकर्तालाई दिनमै शिक्षामन्त्री र नेताहरु लाग्छन्, भोट बढाउने स्वार्थले नियमै संशोधन गर्छन्, यसले त हामीमा निक्कै निराशा छाएको छ ।’ त्रिविकै अर्का विद्यार्थी रञ्जिता रम्तेलले भनिन् ।
हुन त शिक्षा ऐनको नवौं संसोधन खारेज हुनुपर्छ भन्दै आन्दोलन जारी नै रहेको छ तर पनि आन्दोलनले सफलता पाउला कि नपाउला अन्योलकै अवस्था छ । तैपनि जारी आन्दोलनले थोरै मात्र भए पनि आशा दिएको विद्यार्थी बताउँछन् ।
शिक्षक सेवा आयोगले वर्षै पिच्छे गर्नुपर्ने खुला विज्ञापन नगर्दा विद्यार्थी मर्कामा छन् । यसले साँच्चिकै शिक्षक बन्छु भनेर अध्ययन गरिरहेकाहरुमा मनोवैज्ञानिक घाउ परेको छ ।
‘आयोगले २५ प्रतिशत मात्र खुला विज्ञापन गरेर सात लाख लाईसेन्स लिएका विद्यार्थीलाई कसरी सम्बोधन गर्न सक्छ ?’ प्रतिप्रश्न गर्दै विद्यार्थी तिवारी फेरि भन्छन्, ‘पढ्यो, पढ्यो, भविष्य छैन, दिक्क लाग्दो छ ।’
प्रतिक्रिया