Edukhabar
मंगलबार, २० कार्तिक २०८१
खबर/फिचर

किताव बेच्छु, छोरी पढाउँछु

बुधबार, २९ कार्तिक २०७४

काठमाडौं– ‘दाई, नमस्कार, यो किताव तपाइँलाई काम लाग्न सक्छ, किनिदिनुहुन्छ कि ?’

‘के किताव हो यो ?’

‘यो स्वास्थ्यसँग सम्बन्धित किताव हो ।’

‘कति हो नि ?’

‘चालिस रुपेँ ।’

स्वास्थ्यसम्बन्धी कुनै किताबबारेको यस्तै वार्तालापसँगै सुरु हुन्छ, चावहिलका राजेश महर्जनको दैनिकी ।

झोलाभरि किताव राखेर अनि हातमा केही थान किताव बोकेर बसपार्क, सडकका पेटी, अस्पताल र मान्छे भेला हुने ठाउँहरु धाएर उनले यसैगरी नै ग्राहक भेटाउने गरेका छन् । ग्राहकलाई किताब देखाउँदै, बेच्दै आएका महर्जन अहिले ३५ वर्षका भए । उनले यो काम गरेको दश वर्ष भयो ।

घरबाटै खाना खाइवरि ग्राहक खोज्दै, सडक सडक नाप्दै हिँड्ने महर्जनले जम्मा ७ कक्षा सम्म पढ्न पाए । काठमाडौं चावहिल स्थित बालसेवा निमाविमा पढेका उनी भन्छन्, ‘त्यति धेरै पढ्न नपाए पनि पढेको हिसाब अहिले मलाई काम लाग्ने भएको छ ।’

उनी कहिले कहाँ, कहिले कहाँ पुग्छन्, यसरी पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुग्छन्, त्यहाँ दैनिक सयौं आफूजस्ता उमेर भएका युवाहरु विदेश जान आएको देखेर उनलाई धेरै पढ्नुभन्दा कम पढ्नु नै ठीक हो कि जस्तो लाग्छ ।

‘धेरै पढेपछि नेपालमै काम नपाइने रहेछ, धेरै पढेपछि फेरि सानो काम गर्न पनि मिलेन, मलाई त मैले ७ सम्म मात्र पढेर ठीकै गरेँ जस्तो लाग्छ, कम्तीमा यस्तो काम त पाएँ, मैले पनि पढेको भए काम खोज्न विदेशै जानुपर्ने थियो कि ?’ उनले भने ।

उनले दैनिक डुलेर किताब बेच्दै छोरीलाई घरनजिकैको बोर्डिङ स्कुल पढाएका छन् । ‘आफूले त पढ्न सकिँन, तर छोरीलाई यस्तै खात्राकखुत्रुक किताव बेचेरै भए पनि पढाएको छु ।’ उनले भने ।

घरायसी कारणले पढ्न नपाएका उनले विशेष गरी स्वास्थ्यबारेमा विभिन्न प्रकाशन गृहले छापेका कितावहरु बेच्ने गरेका छन् । स्वास्थ्यबारेमा जोकोहीलाई पनि चासो र चिन्ता हुन्छ, अरु कितावभन्दा यस्ता कितावहरुमा मानिसको ध्यान जाने भएकोले यस्तो किताव बोकेर बेच्ने काम गरेको उनले बताए ।

बाध्यताले पढ्न नपाएपछि, नसकेपछि कामको खोजीमा कहिले, कहाँ, कहिले कहाँ भौंतारिएका उनले त्यस्तो काम गर्ने सोच आफै बनाएको बताए ।

‘पहिला ज्यालादारी काम गरेको बेला कहिले के हुने कहिले के हुने भयो, त्यो बेलामा विभिन्न अस्पताल धाएँ ।’ कामकै शिलशिलामा अस्पतालनजिकै किताव बेचिरहेकासँग कुराकानी गरेपछि उनलाई यो काम गर्ने बुद्धि आयो ।

बुझ्दै गए सबैभन्दा बढी किताव स्वास्थ्यबारेमा बिक्री हुने रहेछ । त्यस पछि आफू पनि त्यतातिर लागेको उनले बताए ।

त्यसैले उनी बढी त अस्पताल आसपासै भेटिन्छन् ।

‘बढी त म हस्पिटलहरुतिरै जान्छु, किनभने त्यहाँ बिरामी र बिरामीका आफन्तहरु आएका हुन्छन्, उनीहरुलाई नै किताब बेच्छु ।’ उनले भने ।

उनका अनुसार उनले दिनमा ५० वटा पुस्तक बेच्ने गरेका छन् । एउटा कितावको चालिस रुपियाँ लिएर बेचेपछि उनलाई आधा फाइदा हुन्छ । त्यही फाइदा भएको पैसाले घरखर्च चल्छ, अलिअलि बचत हुन्छ उनको ।

प्रतिक्रिया