प्रमोद स्नेही– ‘पढेर त जागिर पाएका छैनन् । न खेतीको काम गर्छन् न अरु केही गर्छन् । दिनभर सुतेर बिताउँछन् ।’ पढेपछि जागिरै खानुपर्छ, घरको, खेतको काम गर्नु हुन्न भन्ने गलत सोचले जरा गाडेको छ समाजमा । पढेकाहरुको यो सोचले गर्दा पढेकामात्र निराश छैनन्, उनीहरुलाई दुःखजिलो गरी पढाएका उनीहरुका अभिभावकहरु पनि निराश छन् । आखिरमा पढेर केही नहुने रहेछ भन्ने सोच धेरैमा छ । पढ्नु भनेको जागिरै खानको लागि भन्ने मनस्थिति समेटेर लघुकथाकार स्नेहीले लेखेको प्रौढ कक्षा नामक लघुकथा साताको शिक्षा साहित्यमा ।
घरमा को हुनुहुन्छ?
आँगनबाट कसैले बोलाएको सुनेर वीरबहादुर बाहिर निस्ने ।
आँगनमा गाउँकै विद्यालयका मास्टरसाप ईश्वरीप्रसादलाई देख्ने बित्तिक्कै ‘ए मास्टर साहेब पो हुनुहुँदो रहेछ’ भने ।
‘नमस्कार गरेँ मास्टरसाप’ भन्दै मुस्कुराए । ‘बसौं न यतै पिँढीमा’ ।
‘हैन वीरबहादुर दाइ तपाइँसँग एउटा कुरा गरौं भनेर पसेको । तपाइँको घरमा बस्ने त फुर्सद कहाँ छ र मलाई’ मास्टरसापले कुरा सुरु गरे ।
‘कुरा के हो माट्साप?’ भन्दै वीरबहादुरले निक्कै उत्सुकतापूर्वक सोधे ।
मास्टरले कुरा सुरु गरे, ‘सुन्नुहोस्, वीरबहादुर दाइ । हाम्रो विद्यालयमा बिहानबेलुका प्रौढ शिक्षा सञ्चालन हुँदैछ । तपाइँ पनि आउनुपर्यो । यसो दुईचार अक्षर जानेमा कसैले झुक्याउन सक्तैनन् । हिसाबकिताब गर्न पनि सजिलो हुन्छ ।’
‘ल भोलिदेखि नै आउनुहोस् है’ भन्दै ईश्वरीप्रसाद मास्टरसाप ओझेल परे ।
मास्टरको कुरा सुनेर वीरबहादुर बोल्न सकेनन् ।
आफ्ना दुई छोरालाई सम्झिए । उच्च शिक्षा पढेर त जागिर पाएका छैनन् । न खेतीको काम गर्छन् न अरु केही गर्छन् । दिनभर सुतेर बिताउँछन् ।
पढेका छोराको त यो हविगत छ, अब म बुढेसकालमा प्रौढ शिक्षा पढेर के गर्ने ? मर्ने बेलामा हरियो काँक्रो ।
प्रतिक्रिया