Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

बीसौँ वर्ष पढाएको शिक्षकको प्रश्न : कापी जाँच्न विद्यार्थीलाई दिएर हुन्छ ?

विहीबार, १६ कार्तिक २०७४

राष्ट्रिय शैक्षिक तथ्याङ्क अनुसार कक्षा १ देखि १० सम्म करिब ८५ लाख विद्यार्थी छन् । न्यूनतम वर्षमा तीनपटक मात्र विद्यालयमा परीक्षा भयो भने पनि यी ८५ लाख विद्यार्थीका पाँच ओटा र आठ ओटा विषयका तीन पटकका उत्तरपुस्तिका जम्मा हुन्छन् । हामी शिक्षकहरूको पढाउने बाहेक प्रश्न बनाउने र कापी जाँच्ने कामले घरमा समेत फुर्सद नपाउने भएका हुन्छौँ । साच्चिकै राम्रोसँग ध्यान दिएर, उत्तर कुञ्जिका बनाएर उत्तरपुस्तिका परीक्षण गर्ने पद्धति ज्यादै कममात्र भएपनि उत्तरपुस्तिका परीक्षण गरी नतिजा त सुनाउनै पर्छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको तथ्याङ्कहरू भएपनि खासगरी तराईका धेरै र शहरी क्षेत्रका केही सामुदायिक विद्यालयमा अहिले पनि माथिल्ला कक्षाहरूमा ६०, ७० जना विद्यार्थी छन् । राजधानीकै मैले पढाउने विद्यालयमा पनि कक्षा ६ देखि १० सम्म औसत ३५ जना विद्यार्थी छन् । विद्यालयमा त्रैमासिक र वार्षिक परीक्षा त हुन्छ नै, त्यस बाहेक वर्षमा दुई तीन पटक अनौपचारिक एकाइ परीक्षाहरू लिने र उत्तरपुस्तिका परीक्षण गर्ने काम पनि गर्ने गरेको छु ।

करिब बीस वर्षको शिक्षण क्रममा कति उत्तरपुस्तिका परीक्षण गरिए होला त्यसको लेखाजोखा गर्न पनि कठिन छ । पढाउने कामको अलवा उत्तरपुस्तिका परीक्षणका कामले कहिलेकाँही यो कस्तो पेसा रहेछ भन्ने नलागेको पनि होइन । विद्यालयबाट उत्तरपुस्तिका बोकेर घर फर्कंदा घरका मान्छेले झञ्झट नमानेका पनि होइनन् । पहिलो त्रैमासिक परीक्षाका उत्तरपुस्तिका दशैँको विदामा घरमा ल्याएर परीक्षण गर्दा साथीभाइ र आफन्तले पनि विदामा कामै मात्र गर्नुपर्ने कस्तो जागिर हो ? भन्ने कुरा पनि नगरेका होइनन् । जे जे भएपनि पेसा परिवर्तन गरिएको छैन, विद्यालयमा त्रैमासिक, वार्षिक परीक्षा भइरहेका छन् । विदा होस्, साँझ विहान होस् या विद्यालयको खाली घण्टी हातमा रातो कलम लिएर उत्तरपुस्तिका परीक्षण गर्ने दैनिकी वर्षमा झण्डै चार महिना चल्दोरहेछ ।

हाम्रो नियति, दैनिकी या बाध्यता । म भन्न सक्दिन, सधैँ यसरी नै उत्तरपुस्तिका परीक्षण गर्ने, नाम र प्राप्ताङ्कको सूचि बनाउने र नम्बर सुनाइ दिएर धेरै नै ठूलो काम गरेको अनुभूति गर्ने मलाई एडुखवरमा गतवर्ष श्रृङ्खलाबद्ध आएका तीनवटा लेख (औचित्य छैन परीक्षाको १, २, र ३) ले नराम्रै गरी चिमोटेको थियो ।

पढ्नुहोस् : औचित्य छैन परीक्षाको - १

औचित्य छैन परीक्षाको - २

औचित्य छैन परीक्षाको - ३

यी लेख पढेपछि कता कता रिस उठेको थियो, शिक्षकको कामलाई प्रंशसा गर्न नसक्ने पङ्तीकारसँग अनि शिक्षकका कमजोरी मात्र देखाउन खोज्ने पत्रिका वा पत्रकारसँग ।

संयोग भनौँ वा समयक्रम ती तीनवटा आलेखका लेखकसँग भेट हुने मौका मिल्यो, यो दशैँ विदामा । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का प्रश्नपत्र बनाउँदै रहेछ, । फोन आयो, विद्यालय खुलै छ कि बन्द । विद्यालय चलेको छैन भने मात्र आउनुस् । म त्यस कार्यालयमा गएँ । पहिलो दिन थियो र भित्रभित्र दम्भ पनि, नाथे प्रश्न बनाउने काम न हो । आजसम्म कति प्रश्न बनाइयो, कति परीक्षा लिइयो लेखाजोखा गरेर के साध्य ।

पहिलो दिनको साँझ फर्कने बेलासम्म मेरो दम्भ गलिसकेको थियो । प्रश्नलाई नाथे देख्ने मेरो व्रह्मले प्रश्नलाई पहाड देख्दै थियो । फर्कंदा बाटोमा सोचिरहँे । होइन, आजसम्म के काम गरिएछ त, विद्यार्थीको पठन बोध परीक्षण गर्ने एउटा अनुच्छेद लेख्न नसक्ने पो भइएछ । बीसौँ वर्ष पढाएको मेरो अनुभव माथि प्रश्न उठ्ने भयो । विश्वविद्यालयबाट लिएको डिग्री र भित्तामा झुण्ड्याएको दिक्षान्तको फोटोले पनि गिज्याउने भयो । दोस्रो दिन देशका विभिन्न विद्यालयमा प्रयोग गरिएका प्रश्नहरू प्रदर्शन भए । प्रश्नमा हुनुपर्ने ज्यादै साधारणभन्दा साधारण कुराहरू पालना नगरिएका, प्रश्न दोहोरिएका, प्रश्न नमिलेका, तीन फाइदा लेख भनि पाँच नम्बर दिएका, पठनबोधको अनुच्छेदका प्रश्न । किन किन दिक्क लाग्यो । आफैलाई लाज भनु वा विचरा हामी, के भनूँ । हामी त्यहाँ भेला भएका छ जना शिक्षकहरू नाजवाफ भयौँ । भोलिबाट सिधै प्रश्न लेख्ने कामको कुरा छ । पहिलो दिन धेरै सैद्धान्तिक कुरामा छलफल भए, दोस्रो दिन आफ्नै काम फर्केर हेरियो । भोलिको काम सगरमाथा चढ्ने जस्तै लागेको छ । सहजीकरण गरीरहनुभएका सहजकर्ताले सहजै लिनुभएको छ । यी उदाहरण हुन् यस्ता गल्ती नगरौँ हैँ भन्न मात्र प्रस्तुत गरेको हो ।

तेस्रो, चौथो, पाँचौ, छैठौँ, सातौ दिन सकिए, एक सेटसम्म पनि प्रश्न तयार भएको छैन । अनुच्छेद मिलेको छैन, अनुच्छेद मिले प्रश्न मिलेको छैन । प्रश्नमा संज्ञान तह मिलेको छैन । प्रश्नले जान्ने र नजान्ने विद्यार्थी छु्ट्याउने क्षमता राख्दैन । त्यस्तै प्रश्नको भार मिलेको छैन । छोटो उत्तर आउने प्रश्न बहुवैकल्पिक बनेको छ, खाली ठाउँ भर्न दिनुपर्ने प्रश्न जोडा मिलाऊ भएको छ । कस्तो विषयवस्तुका लागि कस्तो प्रश्न सोध्ने ? भन्ने कुराले कुहिरोको काग बनाएको छ । पठनबोधको अनुच्छेदमा अनिवार्य हुनुपर्ने सोझो प्रश्न (direct) विश्लेषणात्म प्रश्न (analytical) र लुप्त सूचनाका आधारमा उत्तर दिने (inferential) मिलाउन हम्मे परेको छ । Reading लाई reading the world rather than word भनिएको एउटा सन्दर्भ सामग्रीले आफ्नै ज्ञान र अनुभव माथि प्रश्न गरिरहेको छ ।

आठ दिनको बसाईंले सहजकर्तासँग घुलमिल मात्र होइन, अनौपचारिक सम्बन्ध समेत विकास भयो । नवौँ दिन अन्तिम दिन थियो । छ जनाले बनाएका छ सेट प्रश्न कुनै पनि फाइनल भएका थिएनन् । हामीले अझ एक दुई दिन काम गरेर सकाउने भन्दै थियाँै । यो नौ दिनको कार्यक्रम हो । धेरै प्रश्न बनेका छन् । केही राम्रा पनि छन् र केहीलाई सुधार गर्नुपर्ने छ । यो काम हामीले गर्छौ भनेर हजुरहरूको प्रश्न बनाउने काम सकियो । हिड्ने तरखरमा थियौँ । तिहार विदा कसरी मनाउने ? एक भारी कापी छन् घरभरी, एकजना साथीले जवाफ दिनुभयो । सहजकर्ताले आश्चर्य मानेजस्तो देखियो । के का कापी ? त्रैमासिक परीक्षाका । छठ पछि स्कुल खुल्दा रिजल्ट दिनुपर्छ । चारदेखि दशसम्मका साढे तीनसय कापी छन् ।

ल, त्यसो भए एकछिन बसौँ, सहजकर्ताले आग्रह गर्नुभयो । हामी बस्यौँ । हामी सबैलाई कापी कसरी जाच्ने गर्नु भएको छ प्रश्न सोधियो । हामी सबैले उत्तर दियौँ । वहाँलाई हाम्रो काम गराइको तरिका मिलेन भन्ने लाग्यो ।

प्रश्न : उत्तरकुञ्जिका हुन्छ ? बीसौँ वर्ष पढाएका हामीलाई किन उत्तरकुञ्जिका चाहिन्छ र ? हाम्रो जवाफ ।

प्रश्न : निबन्धात्मक तथा लामो उत्तरका लागि रुव्रिक्स तयार पानुभएको छ ?

छैन ।

कक्षा ४ मा अलि कठिन होला । कक्षा पाँचमा पनि अभ्यास गराउँदै जाँदा होला तर कक्षा ६ देखि १० सम्मका उत्तरपुस्तिका एकैदिन विद्यालयको कक्षामै गएर जाँच्न सकिन्छ है ।
कसरी ? आश्चर्य मान्दै हामीले प्रश्न ग¥यौँ ।

हरेक कक्षाका उत्तरपुस्तिकामा कोड नम्बर राख्नुस्, १, २, ३, ४ । उत्तरपुस्तिकाको पहिलो पाना हटाउनुस् । अनि कक्षामा सबैलाई परीक्षाको कापी बाड्नुस । संयोगले आफ्नै कापी कसैलाई परे पनि केही हुँदैन । हामी के गर्दै छौँ विद्यार्थीलाई बुझाउनुस् । उत्तरकुञ्जिकाको पानो लिनुस् । प्रश्नपत्र पनि सँगै लिनुस् ।

एक नम्बर प्रश्न हेर त ? सही उत्तर के हो ? मिल्यो भने कति नम्बर आउँछ ? विद्यार्थीले नै भन्छन् । जसको सही उत्तर छ, छेउमा १ लेख । कोही अलमल भए सहजीकरण गर्नुहोस् ।

प्रश्न २, ३, ४, वा क, ख, अगाडि बढ्नुहोस् । प्रश्न कस्ता छन् । छोटो उत्तर आउने सम्मका लागि समस्यै छैन, लामो उत्तरको लागि अलिकति मेहनत गर्नुहोस् । कक्षामा छलफल गराउनुहोस् । यसको उत्तर के हुन्छ ? केही कुरा विद्यार्थीले भन्छन्, कालो÷सेतो पाटीमा टिप्नुहोस् । नपुगेका थप कुरा लेखिदिनुहोस् र के के लेखेकालाई १ नम्बर दिने, के लेखेकालाई २ दिने, ३, दिने, ४ दिने, ५ दिने आधारहरू छुट्याइदिनुहोस् । एकजनालाई उत्तर पढेर सुनाउन भन्नुहोस् । अब यसलाई कति नम्बर दिने सोध्नुहोस् । उनीहरूले भन्छ्न् । मानौँ ३ दिने भने किन २ नदिने वा किन ४ नदिने भन्नुहोस् । भर्खरै तयार पारेका आधारहरूबाट कति दिने भन्ने निर्णय गराउनुहोस् ।

चिठी लेख्ने, निवेदन लेख्ने प्रश्न त झनै सजिलो, निबन्ध लेख्नेमा पनि आधारहरू बनाउनुहोस् । यसले विद्यार्थीलाई कस्तो प्रश्नमा कस्तो उत्तर लेख्ने भन्ने मात्र होइन कसरी लेख्ने, के लेख्दा कति नम्बर आउँछ, बुझ्न सजिलो बनाउँछ । छलफल हुन्छ । सिकाइ हुन्छ । के यसरी गर्न सकिँदैन र ?

हामी एकछिन चुपचाप भयौँ । एकजनाले थप्नुभयो –‘कहाँ त्यस्तो हुन्छ, कापी जाँच्ने जस्तो कुरा विद्यार्थीलाई दिएर हुन्छ र ?’ अर्कोले थप्नुभयो, विद्यालयमा कामचोर ठग शिक्षक भइहालिन्छ नि । मैले थपे –‘हुन त यो कुरा ठीक हो तर हाम्रो अभ्यास र संस्कार पनि फरक छ । विद्यार्थीलाई निर्देशन दिएर कापी जाँच्न लगायो भने परीक्षण हुँदैन होला, विद्यालय परिवारले हुँदैन भन्ला, त्यसैले यो कार्य गर्न त जटिल हुँदैन र ?’

हामी शिक्षकमा आफूले गर्ने कामप्रतिको आत्मविश्वासमा कमी छ । तपाईंले विद्यार्थीलाई कापी जचाँएर के बदमासी गर्दै हुनुहुन्छ र ? के नचाहिँदो काम भयो । विद्यार्थीलाई पनि सबै प्रश्नको उत्तर सिकाइयो ? उनीहरु आफूले लेखेका कुरा हेर्न पाए, अर्को पटक सुधार गर्न पाउँछन् । परीक्षा लिने उनीहरूले कहाँ कहाँ गल्ती गरे नभनिदिने, प्रश्नहरूको उत्तर पनि के हो नभनिदिने । नम्बर मात्र सुनाउने अनि काम सकेजस्तो गरेर हुँदैन सर । समस्या खोजे एकसय एक समाधान खोजे तीन सय दुई हुन्छ ।

‘कसले के भन्छ भन्ने होइन, आफूले के गर्ने भन्ने कुरा महत्वपूर्ण हो । आफुले इमान्दार भएर, विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर शिक्षण गर्नुपर्छ । त्रैमासिक परीक्षा सिद्धान्तत निर्माणात्मक हुन, यसलाई व्यवहारमा पनि निर्माणात्मक बनाऊँ ।
विद्यार्थी मूल्याङ्कन प्रणाली नै विकृत हुन्छ कि ? अर्को साथीको जिज्ञासा ।

कसरी विकृत हुन्छ ? तपाईँले परीक्षा लिएको हो ? उत्तरपुस्तिकामा सही उत्तर लेख्नेलाई मात्र उत्तर दिएको हो । तपाईं अरुले जे गर्छन् म पनि त्यही गर्छु भन्ने कि होइन ? म मान्छे फरक हो । मसँग ज्ञान, सीप, क्षमता फरक छ । मेरो काम सिकाउने हो सिकाउँछु भन्ने कि चलेकै त छ भन्ने हो । तपाईंका विद्यार्थीले पढाएको कुरा जानेको हुनुपर्छ । विद्यालयमा अरु विषयमा राम्रो गरेर तपाईँको विषयमा विग्रनु हुँदैन । काम सजिलो गर्नुहोस् । सजिलो हुने गरी गर्नुहोस् । सजिलो बनाएर गर्नुहोस् । तपाईं कक्षाकोठाको supreme person  हो । के गर्ने, कसरी गर्ने आँफै निर्णय गर्नुहोस् ।

पाँच बज्नै लागेको थियो, जाऊँ ढिला भयो । गाडी छुट्छ । हामी  केही नबोलि चुपचाप एक अर्कालाई हेर्दै निस्कियौँ ।

यो काम एक पटक परीक्षण त गर्नै प¥यो । मलाई हुटहुटी लागिरह्यो । तिहारपछि विद्यालय खुल्यो । एउटा एकाइ परीक्षा लिएर यही काम गर्छु भन्ने अठोट गरी एकाइ परीक्षाको लागि प्रश्न बनाएँ । प्रश्न अनुसार उत्तरकुञ्जिका पनि तयार गरेँ । चालिस मिनेटको परीक्षा लिएँ । उत्तरपुस्तिका सङ्कलन गरी भोलि उत्तरपुस्तिका परीक्षण गर्ने भएँ ।

विद्यार्थीले लेखेको उत्तरपुस्तिकामा कोड नं राखेर पुनः ती उत्तरपुस्तिका परीक्षणका लागि विद्यार्थीलाई वितरण गरें । भाषा परीक्षण भएकाले पहिला प्रश्नको उत्तर बुँदागत रूपमा तयार गरी त्यो विद्यार्थीलाई अध्ययन गर्न लगाई कापी वितरण गरेँ । एउटा नमूनाका रूपमा परीक्षण गरी विद्यार्थी सामु प्रदर्शन गरेपछि विद्यार्थी पनि उत्साहित भए । त्यसपछि कक्षाकोठा भित्रै एउटा कापी एकजना विद्यार्थीलाई वितरण गरी परीक्षण शुरु गरेँ । सबै विद्यार्थी नआएकाले चारवटा कापी मसँगै रहे । शुरुमा विद्यार्थी अलमल गरे तर विस्तारै मैले सहजीकरण गर्दै जाँदा उनीहरूलाई सहज भयो । घण्टी लाग्नेबेलासम्म उत्तरपुस्तिका परीक्षण सकियो । पहिलो अभ्यास भएकाले विद्यार्थीले दिएको नम्बर सरसर्ति रुजु गरेँ । मैले नै जाँचेकने भएपनि फरक पर्ने अवस्था देखिएन । एकवर्ष अगाडि त्रैमासिक परीक्षाको औचित्य माथि एडुखबर मार्फत् प्रश्न उठाउने पङ्तिकार र यसरी उत्तरपुस्तिका परीक्षण गर्न सिकाउने सहजकर्ताको विचारलाई सलाम गर्न मन लाग्यो ।

त्रैमासिक परीक्षाका उत्तरपुस्तिका परीक्षण गर्ने यो तरिका मलाई त गजब लाग्यो । सहजकर्ताले भने अनुसार नेपाली विषयमा लामो उत्तर र स्वतन्त्र लेखनमा केही कठिन हुन्छ, गणित, विज्ञान, स्वास्थ्य, शारीरिक जस्ता निश्चित उत्तर हुने विषयमा झनै सहज हुन्छ रे । हेरौँ परीक्षण गरौँ, शिक्षणलाई सहज बनाऊँ । विद्यार्थी सिकाइ सुनिश्चित गरौँ । हामीले नगरे कसले गर्ला ?

अर्याल, जनउदय मावि भैसेपाटी ललितपुरका नेपाली विषय शिक्षक हुन् ।

प्रतिक्रिया