Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

राजधानीमा 'ड्रपआउट'को चित्र : ‘केटी बिहेबारी– केटा रोजगारी’

आइतबार, १२ कार्तिक २०७४

काठमाडौं - जहरसिं पौवास्थित कालिका शरण माध्यमिक विद्यालयको कक्षा ७ पढ्ने विद्यार्थी रमेश वाइवा गत असारबाट विद्यालय आउन छोडे । पढाइमा मध्यम खालका रमेश घरमा केही नभनी केही दिन बेपत्ता भए ।

पछि विद्यालय र अभिभावकले सोधीखोजी गरे । पत्ता लाग्यो, रमेश त पढ्न छोडी बसमा सहचालक हुन गएको रहेछ ।

शंखरापुर नगरपालिका वडा नं. ३ को एकमात्र माध्यमिक विद्यालयमा पढ्न आउने रमेश मात्र हैन अन्य विद्याथी पनि बीचैमा हराउने गरेका छन् ।

विचैमा विद्यालय छाड्ने दर कम गर्न भन्दै सरकारी र गैह्र सरकारी निकायले प्रसस्तै योजना बनाएका छन् । 'ड्रपआउट' रोक्ने नाममा करोडौंका 'प्रोजेक्ट' जारी छन् । तर राजधानी भएकै जिल्लाको उत्तरपूर्वी भेगमा 'ड्रपआउट'को अवस्था विकराल छ ।  

विद्यालयका अनुसार शैक्षिक सत्रको एकदुई महिना विद्यार्थीको उपस्थिति नियमित भए पनि पछि अनियमित हुने र कालान्तरमा पढाइ नै छोड्ने विद्यार्थीको संख्या उल्लेख्य छ । विद्यालयका प्रधानाध्यापक प्रमोद प्रधानका अनुसार २०७२ सालमा ३५ जना विद्यार्थीले छोडेकोमा सो संख्या २०७३ मा बढेर ४७ जनासम्म पुगेको थियो ।

‘शैक्षिक सत्रको यो बेलासम्म आइपुग्दा १२ जना पुगिसकेका छन्, त्यसको फाइनल डाटा अन्तिम परीक्षा ( चैत) पछि मात्र थाहा हुन्छ, यही अनुपात भए यो वर्ष पनि बढ्ला कि ?’ उनले अनुमान गर्दै भने ।

त्यसरी छोडेका विद्यार्थीमध्ये ५० प्रतिशत बिहेवारी र ५० प्रतिशत रोजगारी देखिएको उनले बताए ।

‘प्रायः केटीहरु चाहिँ बिहे गरेर जान्छन् भने प्रायः केटाहरु रोजगारीकै लागि जाने गरेको हामीले पाएका छौं' उनले भने, 'विद्यालय किन आएन भनेर घरमा जाँदा केटाहरु काम सिक्नका लागि रिसोर्टमा गएका भन्छन्, बिहे भएका केटीहरुको त के कुरा भयो र ?’

यसरी बीचैमा हराउनुका कारणमा मुख्यत गरिबी, पढाइप्रतिको खासै अरुचि मात्र जिम्मेवार नभएको शिक्षक अभिभावक  संघका अध्यक्ष राजन निरौला बताउँछन् ।

'यो समस्या अहिलेको मात्र होइन, विगत लामो समयदेखिको हो, यो बारेमा विद्यालय प्रशासन, शिक्षकलाई जति सुझाव दिँदा पनि नमान्दा यस्तो भएको हो ।’ उनले विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित बनाउने कामको अगुवाई विद्यालयले लिन नसक्दा समस्या निक्कै बढेको बताए ।

सो क्षेत्रमा तीनवटा सार्वजनिक विद्यालय र एउटा निजी विद्यालय सञ्चालनमा रहेको छ । देवी प्रावि, शीलादेवी प्रावि, कालिकाशरण मावि सार्वजनिक विद्यालय हुन् भने हिलसाइड एकेडेमी निजी । कालिका शरण माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन वाइवाका अनुसार विद्यालय आउन लामो समय लाग्ने हुँदा पनि समस्या भएको हो ।

‘विद्यार्थीहरु दिनकै एकदेखि डेढ घण्टा हिँडेर विद्यालय आउँछन् ।’ उनले भने ।

अध्यक्ष वाइवाले तामाङ समुदायमा चाँडै बिहे गरिदिने चलनले गर्दा पनि बीचैमा पढाइ छोड्नेहरुको सख्ंया बढेको हो ।

सो वडाका वडाध्यक्ष शन्तबहादुर वाइवाले यो समस्या शंखरापुर नगरपालिकाका  प्रत्येक विद्यालयमा रहेको बताउँदै त्यसको अन्त्य नगरी नहुने बताए । त्यसका लागि वडाले केही योजना बनाएको जानकारी दिँदै सो बारेमा शिक्षाप्रेमी र शिक्षाकर्मीहरुसँग छलफल गरिएको पनि उनले बताए ।

तर नतिजा भने सुधार भएको छैन । । र, सुधार कसरी हुन्छ भन्नेमा शिक्षक, प्रअ, शिक्षक–अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु पनि यकिन हुन सकेका छैनन् । 

प्रतिक्रिया