शिक्षित भएर मात्र हुन्न, चेतना चाहिन्छ, त्यो अनुसारको व्यवहार पनि चाहिन्छ । समाजकै शिक्षित वर्गको रुपमा चिनिएका शिक्षकहरुले योग्यता हासिल गरे पनि त्यो अनुसारको व्यवहार नहुँदा सामाजिक समस्या आउँछ । यही विषयलाई लुघकथाकार रन्जुश्री पराजुलीले देखाएकी छन् । सोही कथा साताको शिक्षा साहित्यमा ।
साक्षरता दिवसको उपलक्षमा सबै शिक्षालयहरुमा ‘शिक्षाको ज्योति हाम्रो भबिष्य’ भन्ने नारा गुन्जिएको थियो । जाति पाति, लिङ, उमेर आदिले शिक्षा आर्जन गर्न बाधा पुर्याउँदैन’ भन्ने ध्वनि गुन्जायमान थियो ।
लिका माध्यमिक विद्यालयमा’ पचास बर्षीय मेघनाथ शर्मा नौ, काले कामीकी छोरी मैया कामी सात, आस्टे चमारकी छोरी सिता चमार सात कक्षामा अध्ययनरत भएर यस्को उदाहरण बनेको थियो ।
हेडसर शिव पाठशालाभित्र उदारवादी देखिन्थे तर घरमा भने कट्टर पुरातनवादी विचार धाराका थिए । बिहानको समय पाठपूजा, जपतपमा बिताउँथे, बिधिव्यबहारमा पनि कट्टर थिए । स्कुलमा कामी, ,चमार थर भएका विद्यार्थीको नजिक पर्दैन थिए ।
एकदिन मध्यान्हको खाजा खाने बेलामा नरेश चमार नामको छात्र हतारिदै शौचालयतिर जाँदै थियो अर्को पट्टिबाट आइरहेका हेडसरसँग ढेस्सिन पुग्छ ।
हेडसर आफूलाई सन्चो नभएको भन्ने जानकारी प्रशासनलाई दिएर घर जान्छन् । घरमा गएर नुहाइ धुवाइ गरेर चोखो जनै फेरेर, सुनपानीको छिटो हालेर मात्र गृह प्रवेश गर्छन् ।
समयको अन्तरालमा बिशेष कामले बस चढेर लामो यात्रा गरेको बेला उनी दुर्घटनामा पर्दछन् । कल्याङ्मल्याङ आवाजको बीच होस खुल्दा उनी आफूलाई अस्पतालको बेडमा एउटी मृदुभाषी परिचारिकाले नरम आवाजमा उनको टाउको मुसार्दै ‘सर ! मुख आँ गर्नुस् त म तपाइँलाई औषधि खुवाउँछु । तपाइँ ठूलो दुर्घटनामा पर्नु भएको थियो । हिजोदेखी बेहोस हुनुहुन्थ्यो । अहिले अस्पतालको बेडमा हुनुहुन्छ’ भनिन् । उनले औषधि खान मुख बाए । परिचारिकाले तरल औषधि उनको मुखभित्र खन्याइन् ।उनले घुटुक्क निलेर ‘धन्यवाद नानी ! तपाइँको शुभनाम के हो ?’ भनेर सोधे ।
ती परिचारिकाले ‘म तपाइको पुरानो विद्यार्थी हुँ । मेरो नाम सिता चमार हो’ भनिन् ।
‘सिता च ... मा...र ’ शब्दले शिवप्रसादको मस्तिष्कलाइ फनफनी घुमायो ।
प्रतिक्रिया