Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

पढाउन नसक्ने शिक्षकको तलब कटाएर ‘निजी शिक्षक’

शनिबार, ०४ कार्तिक २०७४

भक्तपुर - विद्यालयमा दरबन्दीकै शिक्षक पुग्दो मात्रामा छन् । शिक्षक संख्या भए पनि निजी शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको छ ।

चाँगुनारायण नगरपालिकाको वागीश्वरीको गुरुङगाउँमा रहेको बाल्मिकी निम्न माध्यमिक विद्यालय दरबन्दीका शिक्षकको भरमा नभएर निजीकै भरमा चलिरहेको हो । दरबन्दीमा रहेका शिक्षकहरुलाई स्थानीय अभिभावकले विश्वास नगरेपछि विद्यालय आफैले निजी स्रोतमा शिक्षक नियुक्ति गरी विद्यालय सञ्चालन गरिरहेको छ ।

‘यहाँ दरबन्दीमा १२ जना शिक्षक हुनुहुन्छ भने ६ जना निजी स्रोतका शिक्षक ।’ शिक्षक संख्याबारेमा जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक हेमन्त सिटौलाले भने । त्यसका साथै उनले सरकारी दरबन्दी पुग्दो मात्रामा भए पनि निजी स्रोतमा राख्नुपर्नाको कारण यसरी खुलाए ।

‘स्थानीय अभिभावकले हामीलाई विश्वास नगरेपछि हामीले निजी स्रोतमा शिक्षक राखेका हौं ।’

हाल सो विद्यालयमा कक्षा ९ मा ६, कक्षा ८ मा १०, कक्षा ७ र ६ मा ११, कक्षा ५ मा ९, कक्षा ४ मा १०, कक्षा ३ मा र कक्षा २ मा १५÷१५, कक्षा १ मा १० र इसिडीदेखि युकेजीसम्म ६० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सो विद्यालयले निजी स्रोतबाट शिक्षक राख्जे अभ्यास हालै शुरु गरेको हैन । विद्यालयले विगत ९ वर्षदेखि उक्त अभ्यास गर्दै आइरहेको छ । अहिले सो विद्यालयको प्लेगु्रपदेखि ९ सम्म अँग्रेजी माध्यमबाट पठनपाठन भैरहेको छ । विद्यालयमा राखिएका निजी स्रोतका शिक्षकको पारिश्रमिकका लागि विद्यार्थीबाट शुल्क लिने गरिएको छ ।

प्रअ सिटौलाले विद्यालयमा कार्यरत दरबन्दीका शिक्षकमध्ये ६ जना २०४८ सालमा स्थायी भएका शिक्षक रहेको जानकारी दिए । ‘ती शिक्षकहरुले नेपाली विषयभन्दा अर्को विषय पढाउन सक्तैनन्,  त्यसको विकल्पमा हामीले निजी स्रोतमा शिक्षक राखेका हौं ।’ उनले भने ।

त्यसरी शिक्षक व्यवस्था गरेपछि विद्यालयमा विद्यार्थी संख्यामा परिवर्तन भएको उनको दाबी छ । त्यसरी व्यवस्था गरिएका शिक्षकलाई तलब खुवाउन स्थायी भएर पनि पढाउन नसक्ने शिक्षकहरुबाट तलब कटाएर, विद्यार्थीबाट शुल्क उठाएर, विभिन्न गैरसरकारी संस्थाबाट पाएको सहयोगले पारिश्रमिकको व्यवस्था गरिएको उनको भनाइ छ ।

निजी स्रोतका शिक्षकले रु. पाँच हजारदेखि साढे सात हजारसम्म तलब पाउने गरेको विद्यालयले जनाएको छ । निजी स्रोतबाट शिक्षक राखी अँग्रेजी माध्यमबाट पढाउन थालेपछि विद्यार्थी संख्या बढेको शिक्षक सम्झना लामिछानेले बताइन् । ‘८ वर्षअघि नेपाली माध्यमबाट पढाइ हुँदा एलकेजीमा ७ जना थिए भने अहिले त्यसको तेब्बर भएको छ ।’ उनले भनिन् ।

दरबन्दीमा कार्यरत शिक्षकहरु प्नि अभिभावकको चाहनाअनुसार आफूहरुले पढाउन नसक्दा आफ्नै स्वीकृतिमा निजी स्रोतमा शिक्षक राखिएको बताए । शिक्षक नवराज लामिछाने भन्छन्, नेपाली माध्यमबाट पढाए अभिभावकले बच्चा नपठाउने, हामीले अँग्रेजी माध्यमबाट पढाउन नसक्ने भएपछि अँग्रेजी माध्यमबाट पढाउन सक्ने शिक्षक राखिएको हो ।’

प्रतिक्रिया