भक्तपुर - विद्यालयमा मात्र होइन सामुदायिक विद्यालयका कक्षाकोठामै पठन कुना अर्थात् ‘पुस्तक घर’ बनाइएको छ ।
आधारभूत तहका बालबालिकाको पठन सीप सुधार्न भन्दै विद्यालयहरुका कक्षाकोठामा पठन कुना (पुस्तक घर) बनाइएका हुन् ।
कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइलाई लक्षित गरी प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत विद्यालयका कक्षाकोठामै विभिन्न पुस्तकको व्यवस्थाका साथ पुस्तक कुना बनाइएको विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले बताएका छन् ।
‘कक्षाकोठामै कितावहरुको कुना वा भनौं पुस्तक घर निर्माण भएपछि विद्यार्थी दंग भएका छन्, उनीहरु खुसी भएका छन्, पढ्नमा पहिला भन्दा बढी ध्यान दिन थालेका छन् ।’ पञ्चकन्या माविका प्रधानाध्यापक सन्तराम दुलालले भने । उनले कक्षाकोठामै पठन कुना बनाएपछि बालबालिकाले खाली पिरियडमा समेत पढ्ने गरेको पनि बताए ।
जिल्लाका १ सय २९ सामुदायिक विद्यालयमध्ये कक्षा १ देखि ३ मा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी पढाइ कुना बनाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाको पढाइ सीपको अवस्था सुधार गर्नका लागि सामुदायिक विद्यालयका विद्यार्थीमा पढ्ने बानीको बिकासको लागि कक्षामै खोलिएको सानो पुस्तकालयले सहयोग पु¥याएको अर्का प्रअको भनाइ छ ।
‘कक्षामा शिक्षकको अनुपस्थितीमा समेत बालबालिकाहरु समूहमा पढ्ने गरेका छन् ।’ श्रीपद्म माविका प्रअ राम हाडाले भने ।
उनले कक्षाकोठामा पठन कुनाको अवधारणाले पढ्न सीपमा सुधारका लक्षण विद्यार्थीमा थपिएको र कक्षाकोठामा राखिएका विभिन्न शैक्षिक सामग्रीले उनीहरुलाई तानेको बताए । ‘कक्षामा आकर्षण बढेको छ, कक्षा बालमैत्री बनेको छ ।’ प्रअ हाडाको भनाइ छ ।
कक्षामै पठन कुना भएपछि शिक्षकले पनि विद्यार्थीलाई सिकाउन सजिलो भएको बताएका छन् । ताथलीको गणेश माविका शिक्षक अप्सरा श्रेष्ठले पठन कुनाले बालबालिकाले पनि रमाइलो मानेर पढन् गरेको बताइन् ।
ईजिआरपीले विद्यार्थीको पठन सीप विकासका लागि कक्षाकाठामा पठन कुनाको अवधारणा ल्याएपछि अहिले जिल्लाका कयौं विद्यालयकाहरुका कक्षाहरुमा बाल कविता, सचित्र कथाका साथै विज्ञान, गणित र अंग्रेजी बिषयका पनि पुस्तक र शैक्षिक सामग्रीले भरिन थालेका छन् । ‘कक्षामै पढ्ने सामग्री हुँदा शिक्षकलाई सिकाउन र विद्यार्थीलाई सिक्न सजिलो हुनुको साथै कक्षा आकर्षक समेत देखिएको बताउन थालेका छन् ।’ जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले भने ।
प्रारम्भिक कक्षा पढाइ (अर्ली ग्रेड रिडिङ प्रोग्राम) ईजिआरपीकी भक्तपुर संयोजक सुनिता शाक्यले बालबालिकाको पढाइ सीपमा सुधार गर्ने उद्देश्यले सामुदायिक विद्यालयका कक्षा ३ सम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीको आर्कषण बढेको बताइन् ।
शिक्षा विभागका ईजिआरपीका फोकल पर्सन एवं गुणस्तर शाखाका प्रमुख विष्णुप्रसाद अधिकारीले ईजिआरपीको प्रभावकारीता क्रमश बढ्दै गएको बताउँदै कक्षाकोठामै पठन सामग्री उपलब्ध हुँदा सिकाइ उपलब्धिमा सुधार आउने दाबी गरे । ‘हाम्रोमा विभिन्न कारणले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको र लामो समयदेखि उल्लेखनीय प्रगति नभएको अवस्था छ । यसलाई सुधार्न यसले सहयोग गरिरहेको छ ।’ देशका ६ जिल्लामा सो कार्यक्रम सञ्चालनमा रहेको बताउँदै उनले भने ।
उनका अनुसार कक्षा १ देखि ५ सम्मको पाठयव्रmम २०६२ अनुसार पढाइ सीपसँग सम्बन्धित ३ उद्देश्य रहेका छन् । प्राथमिक तहको (१–३) को साधारण उद्देश्यमा स–साना सूचना विवरण पढेर आशय बुझ्न सक्ने भन्ने छ भने कक्षा ३ को विशिष्ट उद्देश्यमा साइनबोर्ड र पोस्टरहरू पढ्न सक्ने भन्ने छ । तर ती कक्षामा बालबालिकाको पढाइ सीपको उपलब्धि हेर्ने हो भने पढाइ सीपको विकास भएको देखिँदैन । यही कुरालाई मनन् गरी नेपाल सरकारले यूएसएआइडीको आर्थिक सहयोगमा ईजिआरपी कार्यक्रम सञ्चालनमा रहेको विभागको भनाइ छ ।
बालबालिकाको पढाइ सीपको अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सबैका लागि शिक्षा विश्वव्यापी अनुगमन प्रतिवेदन २०१२ ले एसिया प्रशान्त क्षेत्रका २ सय मिलियन प्राथमिक तहका बालबालिकाहरू, जो चार वर्षसम्म विद्यालयमा अध्ययन गरेको भेटिएका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, साँस्कृतिक तथा वैज्ञानिक संगठन (यूनेस्को) ले तिनीहरूको पढाइ लेखाइ सीप अत्यन्त निराशाजनक भएको उल्लेख गरेको छ ।
नेपालको अभ्यासलाई हेर्ने हो भने सेभ द चिल्ड्रेनले सन् २००९ मा कक्षा २ का २ सय ७२ जना विद्यार्थीमा गरेको अध्ययनमा ७९ प्रतिशत बालबालिकाले पढाइ सिपका उद्देश्य हासिल नगरेको देखाएको छ । यसैगरी रुम टू रिडले सन् २००० मा गरेको अर्को अध्ययनले कक्षा २ का ५७ प्रतिशत बालबालिकाले राम्रोसँग अक्षर पढ्न नजानेको देखाएको छ । सन् २०१४ मा शिक्षा मन्त्रालय मार्फत ३३ जिल्लामा गरिएको अध्ययनले कक्षा ३ का १९ प्रतिशत र कक्षा २ का ३७ प्रतिशत विद्यार्थीले छोटो अनुच्छेदको एउटा अक्षर पनि पढ्न नसकेको देखिएको छ । यो अवस्थालाई सुधार्न अहिले ईजिआरपी सञ्चालनमा छ ।
प्रतिक्रिया