काठमाडौं - विद्यालय हातामा सञ्चालित बाल विकास केन्द्र सिकाइ मैत्री नभएको शिक्षा विभागको अध्ययनले फेला पारेको छ ।
खेल्दै, सिक्दै र आराम गर्दै विद्यालय भर्ना हुनुअघि मानसिक रुपमा तयार हुनुपर्ने बालबालिकालाई केन्द्रमा राखी सञ्चालनमा रहेका काठमाडौंका बाल विकास केन्द्रमा पूर्वाधारको अभाव नभए पनि सिकाइमैत्री वातावरणको भने अभाव रहेको विभागले जनाएको छ ।
विद्यालय जाने उमेर पूर्वका बालबालिकाको एकीकृत तथा समग्र विकासका लागि खोलिएको बाल विकास केन्द्र प्रारम्भिक बालविकास केन्द्रको मर्म अनुसार सञ्चालनमा नरहेको विभागका उपनिर्देशक एवं प्रारम्भिक बालवसकास शाखाका प्रमुख हरिप्रसाद खनालले बताए । ‘बाल विकास केन्द्रले प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमको न्यूनतम मापदण्ड पूरा गर्न सकेको छैन’, उनले भने, ‘तर ती केन्द्रहरुमा बालबालिकाको चाप भने बढी छ ।’
कक्षा सञ्चालन गर्न खानेपानी र शौचालय व्यवस्था हुनुपर्छ । कक्षाकोठामा कार्पेट, चकटी, बालमैत्री रंगरोगन र तस्बिर, अक्षर र भवन भूकम्प प्रतिरोधात्मक हुनुपर्ने प्रावधान रहेको छ ।
शिक्षा विभाग, युनिसेफ, सेभ द चिल्डे«न र सेतो गुराँसलगायतका गैरसरकारी संस्था र जिल्ला शिक्षा कार्यालयका प्रतिनीधि, विद्यालय निरीक्षक, स्रोतव्यक्तिलगायतको सहभागितामा भएको अनुगमनले केन्द्रहरुमा समस्याको ‘चाङ’ फेला पारेको हो ।
उपनिर्देशक खनालले काठमाडौंको बालव्यवसायी मावि, तिलिङ्गाटार मावि, हलचोक मावि, शिवपुरी मावि, मंगलोदय मावि, ज्ञानोदय मावि र शान्ति निकुञ्ज माविमा सञ्चालनमा रहेका वालविकास केन्द्रहरुको अनुगमन गरिएको जानकारी दिए । ती केन्द्रहरुमा अनुगमनको क्रममा बालविकास केन्द्र भनेर स्थापना गरिए पनि कतिपय भने नाममै मात्रै सीमित भएको पनि पाइएको बताए ।
‘कुनैमा भौतिक पूर्वाधार छ, कुनैमा छैन, तर अधिकांशमा भने बालमैत्री वातावरण, गुणस्तरीय सिकाइ छैन, त्यस्ता अवसरबाट समेत बालबालिका वञ्चित भइरहेका छन् ।’ उनको भनाइ छ । उनले बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि स्थापित बाल विकास केन्द्रहरुमा खेल मैदानको अभाव हुँदा शारिरीक विकासमा बाधा पुगिरहेको पनि बताए ।
केन्द्रको सो अवस्था भएपछि औपचारिक रूपमा विद्यालय भर्नाअघि पारिवारिक वातावरणमा अक्षर चिनाउनका लागि सरकारी लगानीमा सञ्चालित बाल विकास केन्द्र प्रभावकारी बन्न नसकेको उनको स्वीकारोक्ती छ । अधिकांश ईसिडीहरुमा निजी रुपमा सञ्चालित मन्टेश्वरी, ईसिईसीको प्रभाव परेको उनले बताए । ‘मन्टेस्वरी’ जस्तै साना नानीको विकासका लागि सञ्चालनमा ल्याइएका ईसिडीले अभिभावकको मन जित्न सकेका छैनन् । केन्द्रका सहयोगी कार्यकर्ताहरुले बढी साक्षरतामुखी सिकाइमा जोड दिइरहेका छन् ।’
प्रतिक्रिया