Edukhabar
आइतबार, १३ माघ २०८१
विचार / विमर्श

‘गल्ती कस्तो ?’: अभिभावकको कि, विद्यार्थीको ?

शनिबार, ३१ भदौ २०७४

प्रविधिको विकाससँगै विकसित भएको सामाजिक सञ्जालको जालमा विद्यार्थी मात्र परेका छैनन्, अभिभावकलाई पनि उत्तिक्कै गाँज्दै लगेको यथार्थ हो । प्रविधिको सही र उचित तरिकाले सदुपयोग गर्न सकेको खण्डमा प्रविधि वरदान हुन्छ भने दुरुपयोग भयो भने पछुताउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
बाबुनानीको पढाइमा सहयोग गर्ने अभिभावक मात्र गुरु बन्न सक्छ । भावमा विकास आचार्य लिखित लघुकथा ‘गल्ती कसको ?’ साताको शिक्षा साहित्यमा ।

‘मामु , यो कसरी गर्ने सिकाईदिनुहोस न ।’

होमवर्क गर्दै गरेको दश बर्षे सरलले आमासँग सहयोग माग्यो । सोफामा ढल्केर आफ्नो मोवाइलमा फेसबुक म्यासेन्जरमा व्यस्त लिजा आफ्नी साथी रमनासंँग हिजोको पार्टीको गहन विश्लेषण गर्दैथी । कसले कस्तो कपड़ा लगाएका थिए , गहना कसको कस्तो थियो, खाना कति भेराइटी र कस्तो थियो अनि कसले के गर्यो, के भन्यो, केही छुटेको थिएन । इमोटीकन, स्टिकर र जिआइएफको आदानप्रदान व्यापक हुदै थियो ।
छोराको कुराले लिजालाई डिस्टर्ब भयो ।

‘एक छिन पख न । बरू एक पल्ट आफै गर्ने कोशिश गर ।’

सरल एकछिन आमाकै छेउमा बसिरह्यो । एकपटक आफै गणितको प्रब्लम हल गर्ने कोशिश समेत गर्यो । केहि सीप नलागेर पछि कम्प्यूटरमा जिटीए खेल्न थाल्यो ।

लिजाको च्याट चलिरह्यो । करिब आधा घण्टापछि उनी उठी । सरललाई कम्प्यूटरमा खेल्दै गरेको देखेर हकार्न थाली, ‘जति बेला हेर्यो कम्प्यूटर मैं झुण्डिराख्छस् , पढ्नु कहिले छैन । आखिर तँ कहिले नसुध्रिने भइस ।’

 

प्रतिक्रिया