Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

पढाउनै अल्छी लाग्छ, बरु सरुवा गरिदिए हुन्थ्यो

बुधबार, २८ भदौ २०७४

काभ्रे - विक्रम सम्वत २०५० साल चैतमा नियुक्ति पत्र पाएर शिक्षक भएकी विमला लामिछाने बजगाइँलाई २३ वर्षमै यस्तो हुन्छ भन्ने लागेकै थिएन !

अहिले ४९ वर्षकी उनले बनेपा नगरपालिका वडा नं. २ को चुनातालमा २०३८ सालमा स्थापित अरुणोदय प्राविमा पढाएको २६ वर्ष बितिसकेको छ । उनको विद्यालयमा अहिले १५ जना पनि विद्यार्थी छैनन् । ‘त्यो बेला विद्यार्थी टनाटन, एउटै कक्षामा पनि ४०/४५ जना थिए, अटाइ नअटाइ थिए । स्कुलको स्थिति चाहिँ भत्किएको थियो । कोठाहरु पनि धेरै थिएन, ढलान थिएन । अस्थायी कक्षा थियो, स्कुलै लड्लाजस्तो कच्चा माटोको स्कुल थियो । जस्ताको छानो थियो,’ उनले विगत सम्झदैं भनिन्, ‘अब स्कुल चाहिँ पक्की भयो, केटाकेटी चाहिँ छैनन् (हाँस्दै) थोरै, विस्तारै क्रमशः घट्दै गए ।’

गएको चैतबाट प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेकी बजगाइँका अनुसार सो विद्यालयको बालकक्षादेखि कक्षा पाँचसम्म १५ जना विद्यार्थी मात्र छन् । शिक्षक भने दरबन्दीमा ५ जना । एक जना बाल कक्षाको र एकजना निजी स्रोतबाट पनि शिक्षक छन् ।

जन्मदर कम हुनु, अभिभावकहरुमा बोर्डिङको देखासिकी बढ्नु जस्ता कारण वर्षैपिच्छे विद्यार्थी घटेपछि पठाउन पनि अल्छी लाग्ने गरेको उनले सुनाइन् । ‘अब ढाँट्न भएन, तर विद्यार्थी एक÷दुई जना भएको कक्षाकोठामा त जानै मन लाग्दैन, बच्चाहरुको अनुहार हेरैरै अल्छी लाग्छ ।’

कक्षाकोठामा डेस्क बेञ्चभन्दा कम विद्यार्थी छन् । कुनै बेला भरिभराउ हुने कक्षाकोठा उराठ छन् ।  

सार्वजनिक विद्यालयका प्रअ, शिक्षक, प्रशासन, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अभिभावकको मनसाय बुझ्न नसक्दा , अभिभावकको विश्वास गुमाउँदै गइरहेका छन् । शिक्षकहरु टाढाटाढाबाट पढाउन भनी स्कुल आउँछन् तर सो ठाउँका स्थानीयका सन्तान भने बोर्डिङ वा निजी विद्यालयका बस चढेर अन्यत्रै जान्छन् । यो दृष्य देख्दा मनै अमिलो हुने प्रअ बजगाइँको अनुभूति छ । ‘हामीमा भन्दा बोर्डिङममा अभिभावकको विश्वास छ । अभिभावकको चाहना नै विद्यालयप्रति छैन, अभिभावकहरु पनि आएर केही भन्नुहुन्न, स्कुलै आउनुहुन्न ।’

बच्चा घट्दै जाँदा ‘केटाकेटी नै नभए हामी के गरेर बस्ने ?’ भन्ने चिन्ता नभएको भने होइन । ‘विद्यालय नै खाली हुने हो कि भन्ने चिन्ता छ ।’ उनले भनिन् । विद्यार्थी घट्दै घट्दै गएपछि पछिल्लो समयमा त पढाउनै झ्याउ लाग्ने गरेको पनि उनले सुनाइन् । ‘निराश लाग्ने, बच्चा सारै कम भएपछि त पढाउनै विरक्त लाग्ने भैसकेको छ ।’

यो मनोभावना उनको मात्र होइन, त्यही विद्यालयमा अध्यापन गर्ने अरु शिक्षकको पनि हो । बच्चै नभएको स्कुलमा पढाउनुपर्दा नमज्जा अुनभव हुने सोही विद्यालयका शिक्षक बाबुराम दाहालले पनि बताए ।
अहिले देशभर सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गएको छ । ग्रामीण भेगमा रहेको सो विद्यालयमा मात्र नभएर काठमाडौं तथा भक्तपुरका आधा दर्जन सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । काभ्रेमा पनि त्यही नै समस्या रहेको जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ बताउँछन् ।

सरकारले तोकेको मापदण्डअनुसार उपत्यका र तराईमा एक शिक्षक बराबर प्राथमिक तहमा ५० विद्यार्थी हुनुपर्छ । तर, विद्यालयहरुमा विद्यार्थी भर्ना हेर्दा भने कतै विद्यार्थीभन्दा शिक्षक बढी भएका विद्यालय पनि भेटिन्छन् ।

विद्यार्थी कम भएपछि शिक्षकले अल्छी गर्ने गरेका तिमालस्थित हिमालय प्राविका शिक्षक आइतमान दोङको पनि स्वीकारोक्ति छ । पहिला जाँगरले पढाए पनि विद्यार्थी कम भएपछि त विद्यालय नै जाउँ कि नजाउँ गरेर जानुपर्ने उनले आफ्नो मनोभावना एडुखबरसँग साटे ।

यो अवस्था आएका कारण विद्यार्थी कम भएका विद्यालयका शिक्षकको धारणा नै सरकारले नै कतै विद्यार्थी भएको विद्यालयमा सरुवा गरेर पठाइदिए हुन्थ्यो भन्ने रहको शिक्षकको भनाइ छ । काठमाडौंको आरुबारीको अरुणोदय प्राविका शिक्षक सरस्वती ढुंगानाले पनि विद्यार्थी कम भएपछि शिक्षकमा हिनताबोध हुन थालेको बताइन् । ‘पहिलाजस्तो उत्सुक छैनन् शिक्षक ।’

प्रतिक्रिया