Edukhabar
आइतबार, १६ मंसिर २०८१
विचार / विमर्श

शैक्षिक सुधारका लागि स्वस्थ बहस र अन्तरक्रियाको अपेक्षा

सोमबार, २६ भदौ २०७४

हामी सत्यमै विश्वास गर्छौं र सत्यकै सम्मान गर्छौं । यसो भन्दै गर्दा कहिलेकाँही सत्य सुन्न र बोल्न हामीमै समस्या उत्पन्न हुने गर्छ भन्नु अत्युक्ति नहोला । सत्यको विपक्षमा छु भन्न कोही पनि रुचाउँदैनन् । तै पनि जब त्यही सत्यले आफैंलाई निल्न खोज्छ, सगै बेठिक र गलत उजागर हुन थाल्छ तब नयाँ संकट उत्पन्न हुन्छ । यो मानवीय गुण पनि हो ।

सन्दर्भलाई यसअघि प्रकाशित विद्यालय निरीक्षक र स्रोत व्यक्ति पदसँग थोरै जोड्ने प्रयत्न यहाँ गरिएको छ । पदासिन व्यक्तिहरुको व्यवहार, आचरण, नैतिक धरातल, पदीय जिम्मेवारी बहनका सवालमा समय, स्थान र परिवेश अनुसार हेर्ने, बुझ्ने र टिप्पणी गर्ने परम्परालाई टिप्पणीकर्ताको दृष्टिकोणबाट पढ्ने गरिएको छ । हरेक सिक्काको दुई पाटा भनेजस्तै प्रत्येकका सकारात्मक र नकारात्मक गुण रहन्छन् र ती प्रदर्शन भइरहेका हुन्छन् । मात्रात्मक र गुणात्मक रुपमा कुनै कसैको धेरथोर हुनु अन्यथा होइन । यहाँ दूधले धोएको निख्खर चरित्रको दावी गर्ने दुस्साहस गरिएको कदापि होइन । साथै प्रत्येक पेशामा इमान्दार एवम् कर्तव्यनिष्ठ व्यक्तिको उपस्थिति हुन्छ नै । आलोचना वा आरोप भनेको ती इमान्दार वा जिम्मेवार, मिहिनेती पदासिन व्यक्ति वा पदप्रति कदापि लक्षित हँुदैन र त्यसो गरिएमा त्यो एकप्रकारको जघन्य अपराध नै मान्नुपर्छ ।

यो देश सदाचारले युक्त र तमाम जिम्मेवार भनिएका पदासिन व्यक्तिहरु कर्तव्यनिष्ठ भएको भए आजको दुर्दशा यहाँका नागरिकले भोग्नुपर्ने थिएन । प्रत्येक क्षेत्र र विषय कलंकित बनाइएको छ, शिक्षामात्रै होइन । तर, एकैपटक राजस्व, भन्सार, मालपोत, एयरपोर्ट, आयल निगम, नेपाल टेलिकम यी सबै अटाउने र एकै शीर्षकबाट एउटै लेखमार्फत् उजागर गर्ने सवाल सम्भव छैन ।

यो स्तम्भ एक शैक्षिक लेख/विचारसग जोडिएकाले यहाँ शैक्षिक पक्ष नै उल्लेख गर्न खोजिएको हो । फेरि पनि शिक्षा क्षेत्रमा स्रोत व्यक्ति तथा निरीक्षकमात्र दोषी छन् भन्ने जिकिर कदापि होइन । शिक्षकदेखि मन्त्रीसम्मका तमाम पदासिन व्यक्तिले बेठिक र गलतको आफ्नो पदीय दायित्व अनुसार जिम्मेवारी लिनैपर्छ । एउटा शिक्षक सधैं शिक्षा कार्यालय देखाएर पानीमाथिको ओभानो बन्न सक्दैन । आफूले कक्षामा विद्यार्थीलाई सिकाउने तोकिएको विषयगत सवालमा पूर्ण जिम्मा लिनैपर्छ । शिक्षकले प्रधानाध्यापकलाई, प्रधानाध्यापकले शिक्षकलाई एक–अर्कोमा दोषारोपण गरेर विद्यालय बिगार्ने अधिकार कदापि हुँदैन । विद्यालयमा नियमित उपस्थिति पहिलो सवाल हो भने कक्षाकोठामा विद्यार्थीलाई आधुनिक प्रविधि प्रस्तुत गरी आफ्ना विषयमा उत्कृष्टता देखाउन सक्नु नै एक शिक्षकको अभिभारा हो ।

त्यसो त शिक्षक नियुक्तिको सबाल, परीक्षाको व्यवस्था, राजनीतिक दलको हस्तक्षेप, विद्यालय व्यवस्थापन समितिको व्यवहार, सरकारी नीतिले स्वतः स्थायी यस्ता अनेकन् पक्षले शिक्षक विवादमुक्त छैन । त्यसैगरी विद्यालय व्यवस्थापन समितिको प्रभावमा राजनीतिक दलको आशीर्वादमा बनेका प्रधानाध्यापक यहा धेरै छन् । ऐन, कानूनले एकथरी भन्छ, तर व्यवहारमा शिक्षक एवम् प्रधानाध्यापक नियुक्ति खल्तीबाट धेरै छन्, यो अर्को समस्या हो । शिक्षकको संचयकोष हिनामिना गर्ने, विद्यार्थीको छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम किर्ते गरेर बुझ्ने अनि विद्यालयमा जाने अन्य अनुदानमा समेत हात लामो गर्ने जस्ता हर्कतबाट धेरै प्रधानाध्यापकहरु विवादमा आएका समाचार मिडियामा पनि कहिलेकाही देख्न÷सुन्न पाइन्छ । यो कदापि राम्रो होइन । यसो भन्दा राम्रो काम गरेर अहोरात्र खटेर आफ्नो विद्यालयलाई अब्बल बनाउन दिलोज्यानले खट्ने प्रधानाध्यापकलाई गरिने सम्मान, शिक्षकलाई गरिने सम्मानको उच्च प्रशंसा गर्नैपर्छ ।

त्यस्ता उदाहरणको हामीसँग अभाव छैन । त्यसैगरी कैयौं स्रोत व्यक्ति दिलोज्यानले इमान्दारपूर्वक तोकिएको जिम्मेवारी बहन गर्ने पनि छन् । उनीहरुको समर्पणलाई उच्च प्रशंसा गर्नैपर्छ । तर, ती स्रोत व्यक्ति जसको प्रवेशदेखि नै त्रुटीको लहर सुरु हुन्छ, जो कक्षाकोठामा टिक्न नसकेर नै र विद्यालयमा रहन बदनाम भएर नै गएकाप्रति हामीले औंला उठाउन डराउनु जरुरी छैन । विभिन्न अभिनयबाट अभिनयकै लागि प्रवेश गरेका चाहे ती शिक्षक, प्रधानाध्यापक, स्रोत व्यक्ति नै किन नहुन्, आलोचनाको पात्र बन्नैपर्छ । मुख्य सवाल भनेको नियत नै हो । असल नियतबाट प्रेरित भई आफ्नो जिम्मेवारी पूरा गर्नेहरु सधैं प्रशंसनीय हुन्छन् ।

स्वस्थ आलोचना एवम् स्वआलोचना अहिले क्रमशः हराउदै गएको सन्दर्भमा अलि तिखो, अलि कडा र केही भए गरेका घटनासँग जोडेर कुराहरु बाहिर आउँदा धेरथोर हलचल हुनुलाई स्वभाविक मान्नुपर्छ । सन्दर्भ फेरिने, समयले नया फड्को मार्ने, परिवेश अर्कै उत्पन्न हुने, व्यवस्था बदलिने, ऐन कानून र संविधान नया हुने तर, कतिपय पदको कार्यशैली भने उही पुरानै रहने हामीले पढेको राणाकालीन इतिहासमा आउने जमिन्दार र कारिन्दाको शैली हुदा अस्वभाविक बन्छ नै ।

समयले सबैको जवाफ दिन सक्छ । हामी को कति फेरिनु पर्ने हो ? स्वयम्ले चिन्तन गर्न सकिन्छ । धेरैले धेरै बुझेका छन् । सिकाउनु पर्ने तहबाट गलत अत्यन्त कम हुन्छ । जान्ने, बुझ्नेबाटै पेल्ने, हेप्ने बढी हुन्छ नै । जिल्ला शिक्षा अधिकारी र कार्यालयमा रहने अधिकृत एवम् लेखाका कर्मचारी पनि धेरै पटक धेरै स्थानमा आलोच्य भएको घटना बाहिर आएकै छन् । जति भ्रष्ट र बेठिक भएको छ, उति चर्चा बढी हुन्छ । त्यहाभित्र राम्रा काम गरेर आफ्नो कार्यकाललाई ऐतिहासिक र व्यवस्थित बनाउने हाकिम पनि भेटिन्छन् । कतिपयले भने जिल्ला शिक्षा कार्यालयको भवन बनाउने नाममा उही नाप नक्सामा, उही बजेटमा आफ्नो घर बनाएर चर्चामा आएका पनि छन् ।

अत्यन्त मसिना कुरामा बदनाम आर्जन गरेका जिम्मेवार अधिकारीको कारणले जिल्लाको शैक्षिक अवस्था बिग्रेका घटना पनि हामी भुल्दैनौं । यसो भन्दा राम्रा काम गरेर, नया कुराको थालनी गरेर आफ्नो उपस्थितिलाई स्मरणीय बनाउने जिल्ला शिक्षा अधिकारी पनि हामीले संगत गरेका छौं । झोले स्कूलका मतियार रहेका स्रोतव्यक्ति, निरीक्षक, जिल्ला शिक्षा अधिकारी, लेखा कर्मचारी, राजनीतिक दलका नेता यी सबैबाट शैक्षिक भ्रष्टाचार भएकै हो । खेताला शिक्षक राख्ने, फर्जी शिक्षकको नाममा अनुदान छाड्ने, फर्जी स्कूल बोकेर दौडने, सिंगै शैक्षिक जगतलाई कलंकित बनाउने हरकत बेला बखतमा नभएका होइनन् । यो भ्रष्टाचारको शदियौंदेखि जरा गाडेर हुर्किएको अवस्थाको अन्त्य सहजै भइहाल्ने संकेत छैन ।

भ्रष्टाचार विकासको बाधक हो । प्रगतिको अवरोध हो । सभ्य समाज निर्माणको पर्खाल हो । पदासिन व्यक्ति जिम्मेवार र स्वच्छ बन्नैपर्छ । शैक्षिक भ्रष्टाचार जहा जो कोहीले गरे पनि त्यो तत्काल दण्डनीय बन्नैपर्छ । विभिन्न प्रलोभनमा फसेर आउने पुस्ताको भविष्यमाथि खेलवाडको हक कसैलाई छैन । हामी संघीयताको प्रारम्भमा छौं । हाम्रा स्थानीय तह अधिकारसम्पन्न छन् । अबको शिक्षा कस्तो र कसरी अगाडि लाने अनि शैक्षिक प्रशासनको संरचना पुनर्गठन गर्ने वा यथावत छाड्ने यो गम्भीर निर्णयको संघारमा हामीले विद्यमान शिक्षा प्रशासनका तमाम व्यक्ति, पद र जिम्मेवारीबारे यथार्थ बहस, विश्लेषण चलाउनैपर्छ । आ–आफ्नो तर्क, अनुभवबाट नया युगको थालनी सम्भव हुन्छ । परम्परागत गलत संस्कारलाई झिकेर फाल्नैपर्छ । वैज्ञानिक र युगले मागेको शिक्षा प्रणाली हुनैपर्छ । यो बेलामा बाहिर आएका टीका–टिप्पणीको धरातल र वास्तविकता हामीले खोतल्नै पर्छ । मकवानपुरको शिक्षा अवस्थासग उदयपुर र म्याग्दीको मेल नहुन सक्छ । परिवेश फरक छ । यो सबैले स्पष्ट हुनु जरुरी छ । एउटै शिक्षा ऐन, नियम, कानून भएता पनि व्यवहार र लागू गर्ने शैलीले ल्याएको भिन्नता हामीले महशुस गर्न सक्छौं ।

सार भनेको शैक्षिक भ्रष्टाचारको अन्त्य हो । परम्परागत गलत संस्कारको निषेध हो । बेठिक र कलंकित पदासिन व्यक्ति दण्डित हुनपर्छ भन्ने हो । सदाचार र स्वच्छतालाई प्रोत्साहन गर्नुपर्छ । विद्यार्थी र समुदायको माग अनि राष्ट्रले खोजेको शिक्षा व्यवस्था हाम्रो गन्तव्य बन्नुपर्छ । भोलि समयले जिल्ला शिक्षा अधिकारी पद नै आवश्यक छैन भन्ने संकेत गरेको छ । शिक्षा मन्त्रालय प्रदेशमा मात्र रहने कि संघमा भन्नेमा पनि बहस चलकै छ । यस बेलामा कसको के पद, कुन स्थानमा उपयुक्त हुन्छ, त्यो सरोकारवर्ग समेतको मुद्दा बन्नुपर्छ ।

विषयलाई गोलमटोल होइन, गहिराईमा लैजान आम सरोकारवर्गको गम्भीर ध्यानाकर्षण महशुस गरिएको छ । सतहबाट एक–अर्कामा गालीगलौज होइन, इमान्दारितापूर्वक स्वस्थ बहस र अन्तरक्रियाको अपेक्षा गरिएको हो । हामी आफूलाई भन्दा समग्र देशको शिक्षा प्रणालीलाई समेत केन्द्रमा राखेर त्यसभित्रको एक कम्पोनेन्टको रुपमा आफूलाई स्वीकार्न सकिन्छ । विषयगत मन्थन र छलफलसहितको निष्कर्षका लागि शिक्षा प्रशासनमा पुनर्संरचना अब सतहमा देखिएको शीर्षक स्वीकार्नैपर्छ  र समुदायको माग अनि राष्ट्रले खोजेको शिक्षा व्यवस्था हाम्रो गन्तव्य बन्नुपर्छ भन्ने महशुस गरिएको छ । एक–अर्कामा गालीगलौज होइन, इमान्दारितापूर्वक स्वस्थ बहस र अन्तरक्रियाको अपेक्षा गरिएको हो ।

प्रतिक्रिया