Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

‘माष्टर छोरो, इतिहास पढाइरहेछ ’

शनिबार, २४ भदौ २०७४

‘माष्टर छोरो, माष्टरमाथिको माष्टरी संघर्षमा, मात्र माष्टर भएर, समयको विश्व इतिहास पढाइरहेछ ।’ माष्टर ! कविता ध्रुबप्रसाद ढुंगानाले लेखेको कविता हो । अहिलेको शिक्षणको दिशाले भावी पुस्ताको गन्तव्य कहाँ हुने हो ? भन्ने निक्र्योल नभएको अवस्थालाई ढुंगानाले कवितामा देखाएका छन् । सोही कविता साताको शिक्षा साहित्यमा ।

बुढीआमाको ढिकीच्याउँ र
बुढाबाजेको तोक्मामा
तथाकथित शिक्षालाई साटेर
आधामुठी खाई माष्टर हुनेहरु
एक मुठी तलबमा
आफ्नो अस्तित्वलाई नै लिलाम  गरी हिँड्छन् भने
इतिहासले जन्माएको छोरो
बाबुलाई पढाएर
नातिलाई माष्टरी गर्न दपेटिरहन्छ ।

यो अनन्त कालको अन्तरालमा
पढाउनेहरु पढिरहन्छन्
पढ्नेहरु पढाइरहन्छन्
यी पढेर माष्टर हुनेहरु र
नपढी शिक्षक हुनेहरु
एउटै आकाशमा गुज्मुजिएर
धेरैहरु बादल बनेर गर्जिरहेछन्
थोरैहरु पानी बेनर बर्सिरहेछन् ।

विशाल धर्ती
पानी ! पानी !को प्यासमा चिच्याइरहेछ
बुढीआमा कुँजी भएर कुना पसेकी छन्
बाबु लौरो टेकी खेताला खोज्न गइरहेछन्
माष्टर छोरो,
माष्टरमाथिको माष्टरी संघर्षमा
मात्र माष्टर भएर
समयको विश्व इतिहास पढाइरहेछ ।

कोही रामो पढाएकोमा गर्व गरिरहेछन्
कोही राम्रो पढेकोमा गर्व गरिरहेछन्
यी गर्वैगर्वको पोका र पन्तराहरु
रित्ता भएर पनि
कोही भएको अभिनय गर्ने
यी माष्टर र माष्टरका चेलाहरु
यो अभिशप्त आकाशमा
यसरी नै मडारिरहन्छन् भने
यो धर्ती, उफ! बाँझो हुनेछ
युग नै टुक्रिएर चोइटिँदा चोइटिँदै
यो धरा अर्कै आकाशमा सन्निहित हुने भएको छ ।

प्रतिक्रिया