काठमाडौं - अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको सत्ताधारी दल काँग्रेसकै भातृ संगठनका विद्यार्थीले विरोध गरेका छन् । परीक्षामा फेल भएपनि आर्थिक सुविधा र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने प्रस्ताव सहित ऐन संशोधनको तयारी भएपछि शिक्षक बन्ने सपनाका साथ शिक्षा शास्त्र पढिरहेका विद्यार्थीको सपना तुहिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
विधेयक विरुद्ध संसदमा चर्को आलोचना मात्रै हैन सांसदहरुले ३७ वटा संशोधन समेत हालेका छन् । यही बिचमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभागका विद्यार्थीले पनि ऐन संशोधनको विरोध शुरु गरेका हुन् ।
अन्दोलनको नेतृत्व मन्त्री गोपालमान श्रेष्ठकै दल काँग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले गरेको छ । समितिका अध्यक्ष श्यामचन्द्र अधिकारीले भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएर शिक्षा शास्त्र पढिरहेका विद्यार्थीलाई बेरोजगार बनाउने षड्यन्त्र गरेको आरोप लगाउँदै शिक्षा ऐनको नवौं संशोधनको विरुद्धमा उत्रिनु परेको बताए ।
‘नवौं संशोधनले वर्षौंदेखि अस्थायी भएर अध्यापन गरिरहेका शिक्षकलाई लाभ भए पनि मिहिनेत र परिश्रम गरी शिक्षक बन्ने धोको बोकेका हजारौं विद्यार्थी माथि अन्याय हुने भएको छ,’ अधिकारीले भने, ‘ आठौं संशोधनमा व्यवस्था भए अनुसार गोल्डेन ह्याण्डसेक लिएर शिक्षण गर्न नचाहेकालाई समेत शिक्षक बनाउने विधेयक विरुद्ध हामी आन्दोलित भएका हौं ।’
उनले संसदमा पुगेको विधेयक पास भए नयाँ शिक्षकहरुलाई ढोका बन्द हुने बताउँदै शिक्षक बन्न भनी लाइसेन्स लिएका विद्यार्थीलाई मर्का पर्ने बताए ।
विद्यार्थी संघले शिक्षा ऐन संशोधनको विरोधमा बिहीबार त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा हस्ताक्षर समेत संकलन गरेको छ । हस्ताक्षर संकलनमा शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीले आफूहरुलाई रोजगारबाट बञ्चित गराउने गरी ल्याइएको शिक्षा ऐनको विरोधमा ऐक्यवद्धता जनाएका छन् ।
आन्दोलनरत विद्यार्थी संघका उपाध्यक्ष सन्तोष खत्रीले अस्थायी शिक्षक आन्दोलनको माग पूरा गर्ने नाममा मुलुकको शैक्षिक व्यवस्था नै अस्तव्यस्त हुने गरी ल्याइएको ऐनको विरोध गरे । ‘यो ऐनले एउटा सिंगो पुस्ताको शैक्षिक भविष्यलाई अन्धकारमा धकेल्ने गी विभिन्न बहानामा खुला प्रतिस्पर्धा विना शिक्षक नियुक्ति गर्न खोजेको छ ।’ उनले भने ।
विद्यार्थीले शिक्षा ऐन नवौं संशोधन तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीले संकलित हस्ताक्षर तथा ज्ञापन पत्र शिक्षा मन्त्रीलाई बुझाउने कार्यक्रम तय गरेका छन् ।
फेल भएपनि सुविधा पाउन पर्ने तथा प्रतिष्पर्धाको दायरामा परिवर्तन लगायत अस्थायी शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ऐन संशोधन प्रकृया शुरु गरेको हो ।
एक बर्ष अघि भएको ऐनको संशोधनमा सुविधा र परीक्षा मध्ये १ रोज्न पाउने प्रावधान अनुसार आआफ्नो चाहना अनुसार शिक्षकहरुले रोजी सकेका थिए । परीक्षा रोजेका १५ हजार शिक्षकहरुलाई लक्षित गरी शिक्षक सेवा आयोगले तयारी गरेको परीक्षा पनि पटक पटक सर्दै अन्ततः अनिश्चित भएको छ ।
संशोधन प्रस्तावमा अस्थायी शिक्षकले परीक्षा र सुविधा दुवै रोज्न पाउने अवसर दिईएको छ । गत बर्ष असार १५ गते जारी ऐनमा अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्नुपर्ने ब्यवस्था थियो । संशोधनमा परीक्षामा ४० नम्बर ल्याउन नसकेर फेल हुनेले पनि सुविधा पाउने प्रस्ताव छ ।
यो पनि पढ्नुहोस् : शिक्षा ऐन पारित गर्न २ विकल्प, मन्त्री छलफलमा
प्रतिक्रिया