Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

कठघरामा उभिन तयार शिक्षकको पत्र

शनिबार, १७ भदौ २०७४

भोजपुर नगरपालिका वडा नं. १० भोजपुरको श्री यशोधरा माध्यमिक विद्यालयका शिक्षक विष्णुकुमार राईले ‘कठघरामा उभिन तयार छु’ शीर्षकको कवितामार्फत् शिक्षाकको दिनचर्यासँगै सार्वजनिक विद्यालयको एउटा रुप देखाउने प्रयास गरेका छन् ।

शिक्षकमाथि चौतर्फी आक्रमण भैरहेका छन्, सबैको पेलाइमा परिरहेका शिक्षकको अनुभूति गरेका उनले भने हिम्मतका साथ कठघरामा उभिन तयार रहेको उद्घोष गरेका छन् । सोही कविता साताको शिक्षा साहित्यमा ।

 

खै कसरी उठान गरौं
कथा हो कि व्यथा भनौं
अरुको झै कक्षा एक पढाउने
छ मेरो पनि दिनचर्या भनौं 

उठेर घाम नियाल्छु
मुहार तिनै बच्चाको झल्झली देख्छु
मेरा ती घामहरु छिप्पिन नपाउँदै
अभावको बादलल तिरमिराएको पाउँछु 

मलिन भाइ मेरा भन्छन्
आज माम नखाई आ’को सर
लज्जालु बैनी मेरा भन्छिन्
फाट्यो नाना फेर्ने छैन सर

अगाडि सुन्छु कापी डट छैन सर
पछाडि सोध्छु कामले हिजो आइनँ सर
आफै अलमलिन्छु समस्या अरु पनि
मेरो प्रयास फगत बालुवामा पानी

स्कुल र बच्चा बिग्रेको दोष
पढाइको  जग बिगारेको दोष
नपढाइ तलब खाएका आरोपहरु
गन्दैछु तिरमिर ती चाङहरु

सामुदायिक विद्यालयको न्यूनतम कक्षामा
पढाउने न्यूनत्तम निरीह मास्टर म
कठघरामा उभन त तयार छु
तर श्रीमान !
म र मेरो विद्यालय
ती बच्चा र अभिभावक
मेरो कक्षा र व्यवस्थापन
नेपाली विद्यालय र आफ्नो पन
सारामा मेरै सिंगो राष्ट्रको
प्रतिबिम्ब झलझली देखिरहेछु ।

यो कविता हामीले शिक्षक मासिक पत्रिकाका पूर्णाङ्क १०३ बाट साभार गरेका हौं ।

तस्विर स्रोत : गुगल

प्रतिक्रिया