Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

पेशालाई घृणा गर्ने शिक्षक र व्यवहारिक शिक्षाका कठिनाइ

शुक्रबार, १६ भदौ २०७४

शिक्षा व्यवहारिक र जीवनोपयोगी कुरा सिक्ने र नराम्रो सोच त्याग्ने एउटा सिलसिला हो । जबसम्म सिकाइ प्रक्रिया रहिरहन्छ, तब ससम्म विभिन्न समस्याहरु आइरहन्छन् । ती समस्याका कारणहरु पनि रहेका हुन्छन् । यस्तै व्यवहारिक शिक्षा दिन नसक्नुको पछाडि पनि व्यक्तिगत र सामाजिक कारणहरु विद्यमान छन् ।

शिक्षा ग्रहण गर्ने थलो विद्यालय भएता पनि आजभोलि विद्यालयहरुले सोचेजस्तो शिक्षा प्रदान गर्न सकिरहेका छैनन् । व्यवहारिक शिक्षा दिन नसक्नुको पहिलो कारण शिक्षक स्वयम् नै हो भन्दा पनि अत्युक्ति नहोला । शिक्षक शिक्षा दिने दाता हो । विद्यार्थीको मार्गदर्शक मात्र नभई भविष्य निर्माण कर्ता पनि हो । शिक्षक स्वयम्लाई व्यवहारिक शिक्षा के हो ? भन्ने कुराको ज्ञान नभएको जस्तो देखिन्छ । यो कुरा कसरी प्रष्ट हुन्छ भने कितावको कोर्स पूरा गर्नु नै पूर्ण शिक्षा दिएँ भन्ने मानसिकता अधिकांश शिक्षकमा छ । यसैको उपज हो, व्यवहारिक शिक्षा दिन नसक्नु ।

कितावी ज्ञान दिनुलाई नै सर्वस्व दिएँ अनि आफ्नो कर्तव्य निभाएँ भन्ने सोचका शिक्षकका कारण व्यवहारिक शिक्षा ओझेलमा परेको हो । प्राचिन कालमा गुरुकुललाई शैक्षिक मूल थलो मानिन्थ्यो र शिक्षा पनि व्यवहारिक हुन्थ्यो । त्यसबेलाका गुरुहरु व्यवहारिक थिए । शिक्षाको मूल उद्देश्य व्यवहारिक ज्ञान दिनु हो भन्ने सोच्दथे, त्यस अनुसारका शिक्षा दिन तल्लिन पनि हुन्थे । तर हिजो आजका शिक्षकमा अपरिपक्वता, विषयवस्तुप्रकिो अरुचि, शिक्षण पेशाप्रति कम मात्र चासो, शिक्षण विधिप्रति अल्पज्ञान जस्ता कारण व्यवहारिक शिक्षा दिन नसक्नुका तगारा बनिरहेका छन् । माथिका कारणले  समग्र शिक्षामा समस्या देखिएकै छ, बढी समस्या देशमा विद्यमान दुई प्रकारको शिक्षा दिने शैक्षिक संस्थाहरुमध्ये निजी विद्यालयहरुमा देखिएका छन् ।

व्यवहारिक शिक्षक त्यो हो, जसले सिद्धान्तलाई, ज्ञानलाई व्यवहारमा सँगसँगै लैजाने तरिका सिकाओस् । शिक्षकले ज्ञान दिने नाममा कुनै विषयबारेमा बखान गरेर मात्र हुन्न, त्यो विषयको सान्दर्भिकतासँगै त्यसको दैनिक व्यवहारमा उपयोगिताबारेमा बताएर, व्यवहारमा उतार्न प्रेरणा दिने र परिआएको खण्डमा आफैंले नेतृत्व लिने क्षमता पनि राख्नुपर्छ । तर हाम्रा शिक्षकहरु त्यस्ता कहाँ छन् र ? कतिपय हाम्रा शिक्षकहरु नै व्यवहारिक शिक्षालाई डेट एक्पायर्ड शिक्षा भनी भन्न अन्कनाउँदैछन् । यसैको परिणामा आज व्यवहारिक शिक्षा मात्र कागजका पानामा सीमित हुँदै गइरहेको छ ।  शिक्षालाई व्यवहारिक बनाउने कुरामा अग्रसता लिन डराउँछन्, शिक्षक । व्यवहारिक बनाउन निश्चय नै केही समय लाग्छ, केही परिश्रम गर्नुपर्छ, तर त्यो समय र परिश्रम गर्नुपर्ला कि भनी भागीभागी हिँड्ने खालका छन् । यो प्रवृत्ति र सोचका शिक्षकबाट व्यवहारिक शिक्षाको आश गर्नु बेकारसिद्ध त ।

शिक्षालाई व्यवहारसँग कसरी जोड्ने ? आफूले सिकेको ज्ञानलाई व्यवहारमा कसरी प्रयोगमा ल्याउन सकिन्छ ? भन्ने तौरतरिका, विधि   सिकाउन सकिएन भने शिक्षा दिने शिक्षकको काम पूर्ण बन्न सक्तैन । अहिले हामी शिक्षक आफै अपूर्ण बनेर विद्यार्थीलाई पनि अपूर्ण बनाइरहेका छौं । यसैले  अहिलै हामीले आतमसमीक्षा गरे व्यवहारिक शिक्षा कसरी दिन सकिन्छ ? विद्यालयका  सहकर्मी शिक्षक, प्रिन्सिपल, शिक्षा क्षेत्रका अगुवासँग छलफल, अनुभव  सुन्ने/ सुनाउने, अन्तरक्रिया गर्ने गर्नुपर्ने देखिएको छ ।

विगत १२ वर्षदेखि शिक्षण पेशा गरिरहने क्रममा मैले यस्ता पनि शिक्षक देखेको  छु, जसले शिक्षण पेशालाई घृणा गर्छ तर शिक्षण गर्छ । पेशालाई घृणा गर्ने मानिस कसरी शिक्षक हुन सक्छ ? तर, विडम्वना भन्नुपर्छ, अहिले धेरैजना शिक्षण पेशालाई टाइम पास गर्ने माध्यमका रुपमा स्वीकारीरहेका छन् । यस्तो परिस्थितिमा एक शिक्षकबाट कसरी व्यवहारिक शिक्षाको अपेक्षा गर्न सकिएला ? शिक्षण गर्ने नाममा हामीले नयाँ पुस्तालाई बर्बाद गरिरहेका त छैर्नौं ? यी प्रश्न मनमा उठ्छ ? यस्तो हुनुमा के शिक्षक मात्र दोषी हो या हाम्रो परिवेश ? वा हाम्रो शिक्षा प्रणाली ?, हाम्रो पाठ्यक्रम इत्यादि÷इत्यादि ।

वास्तवमा शिक्षकले हीन भावना मनमा पाल्नुहुन्न । शिक्षक भएपछि आफूलाई समयसापेक्ष बनाउनै पर्छ । भनिन्छ नि, शिक्षक दौडियो भने विद्यार्थी कुद्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ र शिक्षक बस्यो भने विद्यार्थी निदाउँछ, शिक्षक निदायो भने विद्यार्थी मर्छ ।’ अब शिक्षकले विद्यार्थीलाई मार्ने कि कुदाउने भन्ने जिम्मेवारी शिक्षककै काँधमा भएकोले शिक्षकको दायित्व ज्यादा छ । त्यो जिम्मेवारी पूरा गर्ने शिक्षकले व्वहारिक ्िशक्षा दिन सक्छ । व्यवहारिक शिक्षा दिन नसक्नुमा शिक्षकलाई मात्र दोषी पनि नठानौं । यसका  दोषी वा बाधकमा धेरै छन् । विद्यालय प्रशासनका कारण पनि एक जना शिक्षकले चााहँदैमा व्यवहारिक शिक्षा दिन सकिँदैन । विद्यालयको मेरुदण्डको रुपमा रहेको विद्यालय प्रशासनले विद्यालय सञ्चालनका लागि योजना कसरी बनाएको छ ? कस्ता योजना बनाएको छ ? त्यसले पनि फरक पार्छ । प्रशासनले बनाएको योजना अनुसार एक शिक्षकले पनि आफ्नो योजना बनाउँछ । शिक्षकले बनाएको योजना र विद्यालय प्रशासनले बनाएको योजनामा तादात्म्यता नहुँदा दुबैका योजना सफल हुँदैनन् । शिक्षकले आफ्नो शैक्षिक योजना अनुसार काम गर्न खोज्दा प्रशासनबाटै असहयोग हुने, विभिन्न लाञ्छना लाग्ने जस्ता कारण केही गरौ भन्ने सोचका शिक्षक पनि हतोत्साही हुनुपर्ने अवस्था हाम्रा शैक्षिक संस्थाहरुमा देखिएका छन् ।

यसले शिक्षक निराश हुन्छन्, भएका योजनाहरु बीचैमा तुहिँदा काम गर्ने जाँगर शिक्षकले मारिरहेको छ । यसको अन्त्य नभएसम्म गुणस्तरीय  शिक्षा सम्भव छैन, अझ व्यवहारिक शिक्षा त आकाशको फलजत्तिकै हुनेछ । शिक्षणको यो दौरानमा शिक्षकले प्रयोगात्मक ज्ञान दिन खोज्दा, विद्यालय प्रशासनले साथ, सहयोग, हौसला, सुझाव दिनु त कता हो कता ? उल्टो त्यो शिक्षकलाई सबै स्टाफका अघि ‘पढाउन नजान्ने, अल्छी मान्ने, अल्छी भएपछि बहाना बनाएर विद्यार्थीलाई बिगार्न खोज्ने’ जस्ता संज्ञा दिएर शिक्षकको उत्साहमा दिनदहाडै एसिड खन्याउने काम गर्ने विद्यालय प्रशासन पनि मैले भेटेको छु ।

यसैले पनि व्यवहारिक शिक्षा दिने कामलाई झन्झटिलो ठान्ने गर्छन् शिक्षक । सोच्दै, बुझ्दै र गहिरिँदै जाने हो भने व्यवहारिक शिक्षा दिने कि नदिने भन्ने शिक्षकमा दुविधाको कारणमा अभिभावक पनि कम दोषी छैनन् । शिक्षक, विद्यालय प्रशासन व्यवहारिक ज्ञान दिन चाहन्छ, त्यो अनुसारको कार्यक्रम बनाउने,योजना बनाउने, पाठयोजना बनाउने काम हुन्छ तर त्यसको तीब्र आलोचना अभिभावक वर्गबाट आउँछ । अभिभावकहरु अन्य स्कुलले त्यस्तो गर्न नपर्ने, तपाइँको स्कुलले मात्र कि यस्तो गर्नुपर्ने भन्ने प्रश्न तेस्र्याउँछन् । पढाउन पठाएका सन्तानलाई अनेकौं दुःख दिने काम गर्यो, अनावश्यक क्रियाकलाप गरायो भन्ने आराृेप लगाउँछन् । अभिभावक शिक्षा राखेर सम्झाउने प्रयास गर्दा पनि आफनो ढिपी छोड्दैनन् ।

आफ्ना नानी बाबुले खर्रर अँग्रेजी भाषा बोल्न जानेकोलाई नै व्यवहारिक शिक्षा पायो भन्ने मानसिकता अभिभावकमा विद्यमान छ । व्यवहारिक शिक्षा दिनका लागि व्यवहारिक कठिनाइहरु थुप्रै छन् । यो व्यक्तिपिच्छे, स्कुलपिच्छे फरकफरक अनुभव हुन सक्छन् । यसैले व्यवहारिक शिक्षाका लागि खास चुनौतिहरु पहिचान गरी ती चुनौतिहरुलाई तत्व्यक्ति, तत्तत् विद्यालयले सम्बोधन गर्नु आवश्यक छ ।

व्यवहारिक शिक्षा दिने हो भनेशिक्षक, विद्यालय प्रशासन र अभिभावकबीच सुमधुर सम्बन्ध हुनु जरुरी छ । हामी अहिलेको शिक्षा व्यवहारिक हुन सकेन - सकेन भनेर भनिरहेका छौं तर यसका बाधकहरु प्हिचानमा लागेका छैनौं, यसैले अहिलेको आवश्यकता पहिला समस्या, चुनौति पहिचानमा ध्यान केन्द्रीत गर्नु पर्छ । व्यवहारिक शिक्षाले नै शिक्षालाई गुणस्तरीय बनाउन सक्छ भन्ने विषयमा सबैले ध्यान पुर्याउनुपर्छ ।

खत्री शिक्षक हुन् ।

प्रतिक्रिया