काठमाडौं - हरेक स्थानीय तहमा एउटा पुस्तकालय निर्माण गर्न सरकारले प्रतिवद्धता जनाएको छ । १० औं पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले बिहीबार आयोजना गरेको औपचारिक कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले उक्त प्रतिवद्धता जनाएका हुन् ।
माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरका मातहत भएसँगै स्थानीय तह लक्षित गरेर यो बर्ष पुस्तकालय दिवस मनाईएको छ । 'जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय' भन्ने नाराका साथ मनाईएको दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् ।
'एक विद्यालय एक पुस्तकालय, एक स्थानीय तह एक पुस्तकालय कायम गर्न सरकार प्रतिवद्ध छ' राज्य मन्त्री अधिकारीले भने, 'नेपालमा पुस्तकालय विकासका लागि पुस्तक नीति आवश्यक छ, पुस्तकालय नीति कार्यान्वनका लागि सरकार दत्तचित्त छ ।'
पुस्तकालय खुल्ला विश्वविद्यालय भएकोले बढ्दो प्रविधिको विकासले ई लाईब्रेरी तर्फ केन्द्रित हुनु पर्ने बताउँदै अधिकारीले २ सय बर्ष अघि नै नेपालमा पुस्तकालय खुले पनि किन १० औं दिवस भन्दै प्रश्न गरेका थिए ।
कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, मन्त्रालयका सहसचिव डा. डिल्लि रिमाल, केशर पुस्तकालयका प्रमुख दशरथ मिश्र, पोखरा सामुदायिक पुस्तकालयका प्रमुख सूर्य क्षेत्री लगायतले पुस्तकालयको महत्व र वर्तमान अवस्थाका बारेमा चर्चा गरेका थिए ।
औपचारिक कार्यक्रममा पुस्तकालयको महत्व र आवश्ष्कताका बारेमा चर्चा परिचर्चा भएपनि २ बर्ष अघिको भूकम्पका कारण क्षती पुगेका पुस्तकालयका पुस्तकहरु अहिले सम्म बोरामा कोचेर राखिएको अवस्था छ ।
दिवसको औचिारिक कार्यक्रममा शिक्षा मन्त्रालयले पुस्तकालयसँग आवद्ध एवं पुस्कतकालयको क्षेत्रमा कृयाशिल विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।
औपचारिक कार्यक्रम अघि विहान विभिन्न झाँकी सहित प्रभात फेरी पनि गरिएको थियो ।
प्रतिक्रिया