पढ्दा कसरी पढ्ने ?
जसरी धेरै बेरसम्म बस्न सजिलो लाग्छ, त्यही आसनमा बस्ने । हँसमुख, विनम्र भावले अब गुरुले के भन्नुहोला र सिकौंला भन्ने उत्सुक चेष्टाले बस्ने । जसरी कछुवाले आफ्ना हातखुट्टा आफ्नै खोलभित्र समेट्छ, त्यसैगरी भयरहित, स्वस्थ, शान्त चित्त। चेष्टा, दृष्टि, मन एकाग्र बनाएर बस्ने । मुखका उच्चारण अवयवका बनोटका कारण पनि व्यक्तिले शुद्धसँग पढ्न सक्ने र नसक्ने हुन सक्छ । दाँत, ओठ राम्ररी मिलेको, चञ्चल जिब्रो, नाक, कण्ठ स्वस्थ भएको व्यक्तिले राम्ररी पढ्न सक्छ ।
पढ्दा विद्यार्थीमा देखिने दोष :संशंकित, भयभित, रोगका कारण असजिलो, स्पष्ट बोली नफुटेको, नाके श्वर, चर्को बोली, शब्दलाई अपूर्ण उच्चारण गर्ने, गति, यतिको ख्याल नगर्ने, मधुरताहीन बोली जस्ता दोष हुन्छन् । प्रकृतिले दिएका कतिपय अंगको स्वरुप परिवर्तन त गर्न सकिन्न तर बाबुआमा र गुरुको निर्देशनको पालन, अभ्यास, र हेरचाहले उच्चारणमा सुधार ल्याउन सकिन्छ । जस्तो दूधे दाँत फाल्दा बुबाआमाले बेलैमा ख्याल पुर्याएमा बालबालिकाको दाँतको दाह्रा आउने वा दाँत बाँगिने समस्याबाट मुक्त गर्न सकिन्छ । जिब्रो लरखराउने र भकभकाउने स्वभावलाई निरन्तरको अभ्यासले कम गर्न सकिन्छ । कुनै वर्ण उच्चारणमा हुने समस्यालाई कम गर्न बालबालिकालाई आफ्ना मुखका अवयवको प्रयोग देखाई नक्कल गराएर समाधान गर्न सकिन्छ ।
हामीले पढ्दा के गर्छौं भन्ने विश्लेषण सन्दर्भमा अमेरिकी अनुसन्धाता इबी हुली भन्छन्, ‘मनोविज्ञज्ञानको टुप्पैसम्मको अध्ययन भएको भनिएको आजको शताब्दीमा पनि यो प्रश्नको जवाफबाट हामी टाढै छौं ।’ पढाइसम्बन्धी सन्तोषजनक परिभाषा नपाउँदाको अवस्थामा पनि हामी यसरी हुन्छ कि उसरी हुन्छ भनी पढिरहेकै छौं । पढाइरहेकै छौं । पढाइ यान्त्रिक प्रक्रिया होइन भन्ने कुरा हामीले बुझेका छौं । हामीले यो पनि बुझेका छौं कि पढाइ व्यक्तिको मस्तिष्कको निश्चित क्षेत्रमा क्रियान्वित हुन्छ र त्यो मात्रै होइन पढाइ भनेको कुरा व्यक्तिको सोचाइ जस्तै हो जुन व्यक्तिको परिवेश, भाषिक क्षमतामा भर पर्छ । अनुसन्धाताले भाषिक दुर्बोध्यताले पढाइमा प्रभाव पार्छ भनेका छन् । पढाइमा सुबोध भाषा भएन वा भनौं भाषिक सुबोधता भएन भने ‘मुर्ख गुरुका महामुर्ख चेला : माग्यो गुड ल्यायो ठेला’ भन्ने उखान चरितार्थ हुन्छ ।
हाम्रै गाउँघरका कुरा
पठन गतिलाई विशिष्ट बनाउन कसले छिटो र शुद्ध पढ्ने भन्ने प्रतिष्पर्धा हुने गथ्र्यो । पाठ पढ्दा एक सासमा कसले कति पढ्ने भन्ने हुन्थ्यो । घडी नहुँदाको समयमा सासलाई समयको सूचकको रुपमा लिइन्थ्यो । सासलाई लामो समयसम्म रोक्ने अभ्यास कपर्दी खेलमा पनि हुन्थ्यो । असमान उमेरकासित यो प्रतिस्पर्धा त्यति न्यायिक त हुने थिएन तर एक पूर्ण व्यक्तिको हैसियतले प्रतिस्पर्धा गर्न खोज्नेले यस्तोमा पछि हट्ने कुरा हुँदैनथ्यो । यसले सानो उमेरकालाई तीन किसिमका फाइदा हुन्थे । पहिलो कुरा त धेरै बेरसम्म सास रोक्न सक्ने हैसियतका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दा धेरै बेरसम्म सास रोक्ने अभ्यास बढ्थ्यो । दोस्रो कुरा सानो उमेरकाले ठूलो उमेरकासँग सास रोकेर पढ्ने (एक सासमा पढ्दा) प्रतिस्पर्धा गर्ने र छिटोछिटो पढ्नुहुन्थ्यो । सानो उमेरकाका लागि यो विकल्पले ज्यादा हँसाउँथ्यो । तेस्रो फाइदाचाहिँ ठूलासित हार्दा पनि खासै असर नपर्ने र जित्दा ठूलो उपलब्धि भए जस्तो हुने । यी तीन कुराले छिटोछिटो र शुद्धसँग पढ्न हौस्याउँथ्यो ।
प्रतिक्रिया