भक्तपुर - ललितपुर संगको दक्षिण–पूर्वी सिमाना स्थित विरुवामा रहेको श्री कुलमाया भगवती आधारभूत विद्यालयमा ६० को दशकमा विद्यार्थी संख्या हातमा गन्न सकिने अवस्थामा पुग्यो । त्यसले गर्दा विद्यालयको भविष्य र अस्तित्व नै धरापमा पर्यो । त्यसपछि विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयहरुको एक भेला डाकियो ।
सहभागी शिक्षक, अभिभावक र विद्यालयका शुभचिन्तकहरुले लामो छलफल गरे र विद्यालयमा विद्यार्थी कम हुँदै जानुको निश्कर्ष निकाले ‘सरकारी विद्यालय भएकोले अँग्रेजी माध्यम (भाषा) मा पढाइ नहुनु ।’
त्यही भेलाले उपाय पनि निकाल्यो, ‘विद्यालयले पनि अँग्रेजी माध्यमबाट पढाउने, निजी बोर्डिङ स्कुलमा पढाउने किताब नै पढाउने ।’
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, स्थानीय अभिभावकहरुको टोलीले गरेको उक्त निर्णय सूर्यविनायक नगरपालिका वडा नं. १ दधिकोटको सो विद्यालयका लागि बरदान सावित भयो । ‘करिब ३०/३२ जनामा सीमित हुन पुगेका विद्यार्थी संख्या २०६२ सालमा एकैपटक २ सयको हाराहारीमा पुग्यो ।’ तत्कालिन शिक्षक एवं हालका प्रधानाध्यापक मुरारीप्रसाद घिमिरेले सम्झे ।
त्यतिमात्र हैन, त्यो निर्णयले ५ सय मिटर दूरीमा रहेको एउटा बोर्डिङ स्कुलै बन्द भएको घटना पनि उनले सम्झे । ‘मलाई सम्झना छ, त्यो बेला अब हामी पनि अँग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्छौं, बोर्डिङमा जस्ता किताब पढाउँछौं भनेर प्रचार गरेको आधारमा बोर्डिङमा पढाएका बच्चा समेत निकालेर हाम्रोमा राख्न ल्याएका थिए ।’
अर्थात् अभिभावकको विश्वास पनि जिते ।
तर विद्यालयले उक्त कामलाई टिकाउन सकेन अर्थात्, अहिले फेरि स्कुलमा विद्यार्थी संख्या क्रमशः घट्दो छ ।
विद्यालयमा अहिले जम्मा ९३ जना विद्यार्थी छन् । ‘विद्यालयमा विद्यार्थी घटिरहेका छन्, कति छ भन्ने, भन्न अफ्ठयारो छ (भन्न अन्कनाउँदै), प्रअ घिमिरेले भने, तर तपाइँले लेख्दा १२० जना भनेर लेख्नु न ।’
करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा आर्कषक विद्यालय भवन छ, विद्यार्थीका लागि पुग्दो खेल मैदान पनि छ । ससाना बालबालिकाहरुका लागि छुट्टै इसिडी कक्षा पनि छ । विद्यालयमा पुस्तकालय, कम्प्युटर ल्याब पनि नभएको होइन । कक्षाकोठामा रंगरोगन गरिएको छ । विभिन्न शैक्षिक सामग्रीले भरिएका छन् कक्षाकोठाहरु ।
भौतिक सुविधासँगै विद्यालयमा तालिमप्राप्त शिक्षक पनि छन् । तर, भौतिक संरचनाको भव्यता, शिक्षकको उपलब्धता भएपनि विद्यार्थी नहुनुमा २०४४ सालदेखि शिक्षण अनुभव भएका घिमिरेको नयाँ अनुभव छ, ‘अँग्रेजी माध्यममा पढाएर मात्र नहुने रहेछ, सरकारी स्कुल भन्ने बित्तिक्कै बुढो सरहरुले पढाउँछ, बुढो सरहरुले के पढाउला र ? भन्ने मानसिकता अभिभावकमा छ ।’
प्रावि तहको दरबन्दीमा ७ र निमावि दरबन्दीमा ४ जना शिक्षक गरी ११ र ४ निजी गरी १५ शिक्षक छन् । यी शिक्षकमध्ये ५० कटेका २ जना र ४५ कटेका ४ जना शिक्षक छन् । बाँकी ९ जना २० देखि ३५ वर्षका मात्र छन् । त्यही पनि अभिभावकको चित्त बुझ्दैन ।
घरदैलो गर्न जाँदा अहिले त स्थानीयहरु हामीसँग प्रतिप्रश्न गर्छन् । दैनिक ज्यालादारी गरेर बाँच्नेहरुका सन्तान पढ्न पठाउने ठाउँमा हामी कुन आधारले बच्चा पठाउने ?’
त्यसको जवाफ न घिमिरेसँग छ, न शिक्षकसँगै, न त विद्यालय व्यवस्थापन समितिसँगै ।
विद्यार्थी घट्नुमा अन्य कारणहरु पनि छन् । शिक्षकदेखि अभिभावक र बोर्डिङ स्कुलहरु दोषी देखेका उनले सरकारी स्कुलमा पढाउने शिक्षकबारे अभिभावकको मनमस्तिष्कमै नराम्रो छाप परेको र त्यही छापको उपयोग गरी बोर्डिङ स्कुलले विद्यार्थी तान्दा समस्यामा पुगेको बताए ।
‘बोर्डिङ स्कुलका बसले घरघसम्म बच्चा लिन र पुर्याउन आउँछन्, हाम्रो स्कुललाई स्थानीयहरु पाखोको स्कुल भन्छन् ।’ स्थानीय विद्यार्थी नभएको जनाउँदै प्रअ घिमिरेले भने ।
विद्यार्थी हातका आंैला भाँचेर गन्दा पुग्ने अवस्थामा पुगेपछि स्कुलमा विद्यार्थी संख्या बढाउनका लागि पटकपटक स्थानीयसँग छलफल गर्दाको अनुभव अझ तीतो छ ।
त्यसलाई मलजल गर्ने काम गरेको छ, बोर्डिङ स्कुलहरुले । ‘हामीले पनि थोरै थोरै भए पनि विद्यार्थीसँग केही शुल्क लिएका थियौं, तर त्यसरी लियो भनेर जिल्ला शिक्षा कार्यालयमा दुईपटकसम्म उजुरी परेपछि पैसा लिन छाड्यौं पैसा नभएपछि कसरी सुधार्ने ?’
यतिमात्र होइन, विद्यालय व्यवस्थापन समिति र प्रअबीच पनि केही मनोमालिन्य हुँदा विद्यालयप्रति विकर्षण बढेको उनले आफैले भोगेका छन् । ‘विद्यालय चलाउने क्रममा कहिलै प्रअको त कहिले ब्ष्वस्थापन समितिका पदाधिकारीको स्वार्थ बाझ्दा पनि त्यसको असर परेको छ ।’
विद्यालयमा विद्यार्थी घट्दा शिक्षकहरुसंग चित्त बुझाउने बनिबनाउ उपाय छ – हामीकहाँमात्र घटेको हो र !
प्रतिक्रिया