Edukhabar
आइतबार, ०९ मंसिर २०८१
सम्पादकीय

नअत्याऊ, नभाग

बुधबार, २७ फागुन २०७१

अब केही दिनमै राष्ट्रिय रुपमा लिइने कक्षा १० को वार्षिक परीक्षा सुरु हुन्छ । जसको नाम एसएलसी हो । कानुनी रुपमा कक्षा १२ सम्म विद्यालय तह नभइ सकेकाले कक्षा १० को वार्षिक परीक्षा एसएलसीको महत्व अद्यापि छ र धेरैलाई कक्षा १० पास गर्न सके सपनाका धेरै ढोकाहरु खुल्न सक्छन् भन्ने भ्रम छ ।

यो भ्रम निर्माणमा राज्य, अभिभावक, शिक्षक, विद्यालय, सञ्चर माध्यम सबै दोषी छन् । उनीहरुले विद्यार्थीलाई एसएलसीका नाममा अत्याएका छन् र विद्यार्थी चाहिँ जसरी पन पास हुनु पर्ने बाध्यतामा परीक्षा कक्षामा गइरहेका छन् । अन्य कक्षाको जस्तै सामान्य परीक्षालाई अनावश्यक महत्व दिएर राज्यले विद्यार्थीलाई अत्याउने काम तत्काल बन्द गर्नु पर्छ । एसएलसीका नाममा असिन पसिन हुने, आत्तिने र भाग्ने कामबाट विद्यार्थी पनि मुक्त हुनु पर्छ ।

पक्कै हो, एसएलसी पछि कक्षा ११ पढ्न पाइन्छ । कक्षा ११ मा पनि परीक्षा दिनु पर्छ । विगतमा जस्तो एसएलसी पास गर्ने वित्तिकै कुनै पनि विश्वविद्यालयमा भर्ना पाइन्न । न कुनै विशेष रोजगारीनै पाइन्छ । कक्षा ८ पास गरेर पाइने रोजगारी र कक्षा १० पास गरेर पाइने रोजगारीमा कुनै फरक छैन । कक्षा ८ पास गरेर मजदुरीका लागि विदेश जानु र कक्षा १० पास गरेर मजदुरी गर्न विदेशिनुमा खासै अन्तर हुदैन ।

त्यसैले विद्यार्थीले सम्झिनू, कक्षा १० पास गर्न चिट चोर्नु पर्दैन । कुनै पनि कुरा चोर्नु आफैमा अपराध हो । एउटा कक्षाको परीक्षा पास गर्न चिट चोर्नु पनि सार्वजानिक अपराध त हो नै, त्यो आत्महत्या गरेजस्तै हो । चिट चोरेर विद्यालय तहको एक खुट्किलो त चढिएला तर त्यसपछिका जीवनका खट्किलाहरु चढ्न संसारमा कुनै पनि चिट पाइन्न । र कहि कसैले दिइहाले त्यतो चिट चोरेर जीवनको खुट्किलो चढ्ने परीक्षा पास पनि भइन्न ।

९ वर्ष विद्यालयका अनेक परीक्षा दिइसकेकाले विद्यार्थीले कक्षा १० को परीक्षामा खुट्टा कमाउनु पर्दैन । जे जानेको छ लेखे हुन्छ । नजानेको छाडे हुन्छ । प्रश्नको उत्तर नलेख्दा जम्मामा हुने फेल हो त्यो भन्दा बढी हुने केही छैन । तिमी फेल हुनु भनेको शिक्षक फेल हुनु हो । विद्यालय फेल हुनु हो । परिवार फेल हुनु हो । समाज फेल हुनु हो । शिक्षा मन्त्रालय फेल हुनु हो । उसका नीतिहरु फेल हुनु हो । तिमी फेल हुनुको जिम्मा राज्यले लिनु पर्छ । र समग्रमा त्यो फेलको धब्बा तिम्रो होइन राज्यको अनुहारमा लाग्नु हो । फेल हुने चिन्तामुक्त भएर परीक्षा हलमा जाऊ भाग्नु पर्दैन ।

एसएलसीको सबैभन्दा ठूलो टाउको दुखाइ चिट हो । चिट चोराउन शिक्षक सक्रिय छन् । अभिभावक उत्साहि भएर लाग्छन् । शिक्षक किन चीट चोराउँछन् ? अभिभावक किन चिट चोराउँछन् ? विद्यार्थी किन चिट चोर्छन ? शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय र शिक्षाका नीति निर्माताले यसलाइ कहिल्यै विश्लेषण गरेका छैनन् । उनीहरु जम्मामा एसएलसीको आतंक सिर्जना गरेर आम विद्यार्थी अभिभावकको सातो लिनमा व्यस्त छन् । प्रहरीको डण्डा लगाएर चिट चोरी कम हुन्छ भन्दै एसएलसी सुरक्षामा अनावश्यक बजेट खर्चिरहेका छन् । यो अत्यन्त अदूरदर्शी सोच हो ।

शिक्षा मन्त्रालयका नेतृत्व कर्ताहरुको बुद्धि अजब गजबको छ । उनीहरु कक्षा १० मै एसएलसी (स्कुल लिभिंग सर्टिफिकेट) को प्रमाणपत्र बाँडिरहेका छन् । र उनीहरुनै फेरि कक्षा १२ सम्मको विद्यालय तह भनेर भाषण गर्दै परियोजनाका बजेट पनि लिइरहेका छन् । पाठ्यपुस्तक विद्यार्थीले कहिले पाए त्यसमा उनीहरुको खास रुची र चासो लिँदैनन् । विषयगत शिक्षक र आवश्यक दरबन्दी अनुसारका शिक्षक छन् कि छैनन् मतलब छैन । विद्यालयमा पढाइ भएको छ कि छैन ? त्यो त शिक्षा मन्त्रालयको कुनै पनि संयन्त्रले कहिल्यै खोज्नु पर्छ भनेर सम्झेको सम्म छैन ।

पाठ्यक्रमको उद्देश्य अनुसारको सीप र सिकाइ विद्यार्थीले पाए कि पाएनन् सीपको कहिल्यै परीक्षण गरेको छैन । मूल्यांकनको परम्परागत ढाँचाको चिर्कटे प्रश्न बनाएको छ, वर्षेनी ५ लाख विद्यार्थीलाई बाँडेको छ र फेल पासको छाप विद्यार्थीको निधारमा लाएर आधासरो किशोर किशोरीलाई निराशाको दलदलमा फसाउने काम गरेको छ । यसले समग्र राज्यको शिक्षा नीतिलाई कुरी कुरी गरेको उनीहरुले निर्लज्ज हेरिरहेका छन् । एसएलसी आतंक एउटा उदाहरण हो । देशको शिक्षा मन्त्रालय, मन्त्री र शिक्षामा वर्षौदेखि काम गरिरहेका कर्मचारीको प्रवृत्ति हेरेर लाज आफै लजाइरेको छ ।

अबको आवश्यकता विद्यालयको एउटा तह पार गरेको विद्यार्थी कम्तीमा कामकाजी शिक्षाले सीपयुक्त होस् भन्ने हुनु पर्छ । जहाँ पास फेलको कुनै मतलब हुदैन । निश्चित उमेरमा विद्यालयको निश्चित तह सकेपछि आत्म निर्भर हुने सीप निश्चित हुन्छ । विद्यार्थी परीक्षा भनेर हरेस खाँदैन भाग्दैन । अभिभावक शिक्षक चिट चोराउन कुद्दैन । र विद्यार्थी परीक्षा भनेर हरेस खाने र भाग्ने होइन खुसी साथ त्यसमा रमाउने हुन्छ ।

विद्यालयको प्रारम्भिक तहबाट आजैदेखि त्यो परीक्षा मुखी होइन कामकाजी शिक्षाको अभियान सुरु गर्नु जरुरी छ ।

प्रतिक्रिया