Edukhabar
आइतबार, २५ कार्तिक २०८१
सम्पादकीय

थालौँ नानीहरुको मुस्कान फिर्तीको पहल

मंगलबार, ०५ जेठ २०७२

चर्चित भारतीय उपन्यासकार उदय प्रकाशले आफ्नो उपन्यास ‘मोहनदास’को सुरुवातमा लेखेका छन्, ‘दुःखको रंग कस्तो हुन्छ ?’

१२ वैशाख र त्यस यताका पटक पटकका विनाशकारी भूकम्पले कुनै पनि रंगमा व्याख्या गर्न नसक्ने गरी दुःखको अनुत्तरित रंगको धब्बा छाडेर गएको छ । टेकेको जमीन हल्लिएपछि कसैको केही नलाग्ने रहेछ । हाम्रो जमीन के हल्लिएको थियो यतिखेर हामी मोहनदासले भनेजस्तै अनुत्तरित दुःखको रंग हेरेर बस्न अभिसप्त छौँ ।

केही सेकेन्डका धक्कामा आफन्तले अकाल ज्यान गुमाए । बाचेकाहरु हप्तौ घाम पानी, रात दिन विहान नभनी आकुल व्याकुल भएर रोइकराइ जीवन धाने । छिनभरमै घर गुम्यो । पढ्ने स्कुल गुम्यो । काम गर्ने कार्यालय जमीनमा मिल्यो । हाम्रा धरोहर सम्पदा गल्र्यामगुर्लुम लडे । सहारा गुम्यो । हजारौँ केटाकेटीका अक्षरहरु गुमे । अभिभावकका सपना गुमे । जमीनमा हिंड्ने बाटोमात्रै धाँजा परेन भविष्य र सपनाका हरेक बाटाहरु हिंड्नै नसक्ने गरी चर चर चिरिए । पाका र बुभ्mने उमेर भएकाहरु त आफूलाई सम्हाल्न सक्छन् तर कलिलो मस्तिस्कका केटाकेटीमा भूकम्पले जुन त्रास छाडेर गएको छ, त्यो अदृश्य रंग उनीहरुको मन मस्तिस्कमा सधै नरमाइलो र दिक्दारीको दिन भएर रहिरहने छ ।

नहुनु भइसकेको छ । बित्ने बितिसकेको छ र भत्किने भत्किसकेको छ । जीवनका अत्यावश्यक तीन चिज बास, गाँस र कपास गुमाएपछि मान्छेले गुमाउनै नहुने आँट पनि गुमाउन सक्छ । यद्यपि, कम्तीमा हामीले आँट गुमाइसकेका छैनौ । सजिलो छैन, तर पनि अब आँटिलो मनलाई झन् दरो बनाएर फेरि आफ्नो लक्ष्यमा लाग्नु पर्ने अनिवार्य छ । सम्झिनु पर्छ, यस्तो विपत्ति हामीले हिजो पनि भोगेका थियौँ । हाम्रा अभिभावक आँटिलो मन लिएर अघि बढे र त्यो इतिहास पढ्दै आज हामी यो विपत्तीको सामना गर्न यही धर्तीमा अडिएका छौं । हामी भोलि यसको साक्षी इतिहास हुनेछौं ।

...

भूकम्पको धक्काले देशका सयौं ऐतिहासिक संरचना ध्वस्त भए । त्यसरी ध्वस्त हुनेमा देशको पहिलो विद्यालय दरबार हाइस्कुल पनि पर्यो र इतिहास बनाउदै गरेका अरु सयौं विद्यालयले आफूलाई सग्लो उभ्याउन सकेनन् । पुराना भए पनि आफ्नै भवन भएका, खुट्टी भाँच्चिएकै भए पनि डेस्क बेन्च भएका, ध्वाँसे नै सही कालो पाटी भएका देशका विद्यालय ढलेपछि खुला आकास वा पालमुनीको शिविरमै बसेर भए पनि आफ्ना दुःखहरु विर्सिन विद्यालय जान चाहने नानीहरुका लागि त्यो अवसर रहेन । हामी अझै छौं र गर्न सक्छौं आत्तिनु हुन्न भनेर ढाडस दिन शिक्षकहरुले अवसर पाएका छैनन् । अहिलेको आवश्यकता त्यो अवसरको सुरुवात गर्नु हो ।

घरहरु ढलेका छन् । खाने अन्न र लाउने लुगा घरसँगै पुरिएर माटोमा माटोमाटो  भएको छ । पहिलो आवश्यकता व्यक्ति र परिवारलाई सकुशल राख्नु पक्कै हो । यसका लागि केही समय लाग्छ नै, त्यो काम भइ पनि रहेको छ । यसै सँग अब विद्यालयलाई पनि बौराउने काम गर्नु पर्छ । त्रिपालमुनी बसेर, राहतको सामल खाएर नै सही चौरमै भए पनि केटाकेटी भेला पारेर हामीले भोगेको दुःखको वैज्ञानिक कारण र सुरक्षित हुने चेतनाबाट पढाइ थाल्नु पर्छ । दुख्दै गरेको दुःखको गाढा रंगलाई पुछ्दै जानु जरुरी छ । किनभने केटाकेटी हाँसे भने जस्तै दुःखमा पनि हाँस्न सकिन्छ, मुस्काउन सकिन्छ । मुस्कानले केही छिनलाई दुःख बिर्साउँछ र भविष्यको स्वस्फूर्त कल्पना गर्न सघाउँछ । केटाकेटी रोए र तिनको अनुहार अँध्यारो भयो भने, जस्तै खुसीमा पनि मुस्काउन सकिन्न । भविष्य अँध्यारो अँध्यारो देखिन्छ । हामीले नानीहरुको ओठमा मुस्कान फिर्ता गर्ने अभियान पनि अरु अभियानसँगै थाल्नु पर्छ ।

भूकम्पले भएको क्षतिको खास बिवरण अझै आइसकेको छैन । अहिले जति आएको छ त्यसलाई हेर्दा हामीले सयौँ विद्यार्थी र दर्जनौ शिक्षक गुमाएका छौं । कुनै पनि विद्यालयका लागि यो अपुरणीय क्षति हो । शिक्षा विभाग र नेपाल शिक्षक महासंघले भूकम्प प्रभावित विद्यालय, शिक्षक र बालबालिकाको तथ्यांक संकलन गरिरहेका छन् । हामी कामना गरौँ अक्षर चिनाउने गुरुहरु र अक्षर चिन्ने चेलाचेलीको अनिष्टमा परेको थप दुःखदायी खबर हामीले सुन्नु नपरोस् ।

प्रारम्भिक अध्ययनले १५ हजार धेरै कक्षा कोठा पुरै ध्वस्त छन्, ६ हजार धेरै कक्षामा गम्भिर क्षती पुगेको छ भने ११ हजार कक्षामा आंशिक क्षती पुगेको छ । सामुदायिक मात्रै होइन निजी क्षेत्रले भाडामा चलाउँदै आएका भवनहरु पनि सग्ला छैनन् । विशेषगरी शहरी क्षेत्रका विद्यालयका विद्यार्थीलाई कहाँ राखेर पढाउने अन्यौल छ । गाउँमा जेनतेन खुला चौर छ । चौतारो र रुखको सियालमै पनि कक्षा चलाउन सकिन्छ । शहरमा त्यो अवसर छैन ।

अहिले भवन भत्केका छन् । सद्दे भवनको अवस्था के छ ? भन्ने पनि कसैलाई थाहा छैन । निजी हुन् वा सामुदायिक विद्यालय भवन सग्लो देखेकै भरमा विद्यार्थीलाई भित्र राखिहाल्ने अवस्था पनि छैन । विद्यार्थी राख्नु र कक्षा सुरु गर्नु पहिले घरको भौतिक अवस्था शिक्षा कार्यालय वा दक्ष इञ्जिनियरबाट जाँच गर्नु जरुरी छ । त्यसमा शिक्षा मन्त्रालय अन्तर्गतका निकायले निजी सामुदायिकको विभेद नगरी सघाउनु पर्छ ।
विपत्तीमा सघाउने दाताहरु छन् । एडिविका लागि लियना हाइटिनले हालै लेखेको एउटा रिपोर्टमा भूकम्पपछि नेपालका विद्यालयको पुर्नसुरुवात गर्न असहज रहेको उल्लेख छ । दाताहरुले पनि त्यसमा केही चासो दिएका छन् । तत्कालका लाग समस्या छ, तर विपत्तिको सामना विद्यालय बन्द गरेर हुदैन । जति सकिन्छ र जसरी सकिन्छ स्थानीय स्रोत साधनको उपयोग गरेर कक्षा सुरु गर्नु अभिभावक, विद्यार्थी, शिक्षक र मुलुकका लागि हितमा हुन्छ ।

अहिले व्यक्ति व्यक्ति समस्यामा छन् । नानीहरु घरका भग्नावशेष खोतल्दै कुनाकाप्चाबाट आफ्नो किताब, कापी र कलम खोजिरहेका छन् । धूलोमैलो पुरिएको, पाना च्यातिएको किताब भेट्नेहरु त्यसलाई सुम्याइरहेका छन् । भविष्य खोजिरहेका छन् । नानीहरु आफ्नो भविष्य बनाउन आफै सक्षम छन्, अहिलेको विपत्तिमा हामी मात्रै त्यसका लागि उनीसित सँगै हिंडिदिने हो ।

यतिखेर मनकारीहरु घर बनाइदिने घोषणा, गाउँ बनाइदिने घोषणा गरिरहेका छन् । यो पक्कै राम्रो हो । जब घर र गाउँ बन्छ विद्यालय पक्कै बन्छ । तर अर्को कुरा के पनि सही हो भने घर र गाउँ बन्दैमा विद्यालय फेरि हिजोको जस्तै नबन्न पनि सक्छ । त्यसैले मनकारीहरुको मन ढलेका विद्यलायलाई कसरी सग्लो उभ्याउने भन्ने तिर पनि जानु जरुरी छ ।

व्यत्तिले आफ्नो घरमात्रै होइन आफ्नो विद्यालयका लागि पनि सोच्नु जरुरी छ । स्यौलाले बारेरै सही, चौरमा कालो पाटी अड्याएरै सही विद्यालय सूचारु ग्र्ने कुरामा अबेर गर्नु हुदैन । संरचनाको पुननिर्माण पछि मात्रै विद्यालय चलाउने भन्ने भयो भने त्यसका लागि वर्षौ लाग्न सक्छ । हामीले अहिले भत्केका संरचना मात्रै होइन भत्किएका मनहरुको पनि पुननिर्माण गर्नु जरुरी छ । त्यसको पुननिर्माण कक्षा चलाएर विद्यार्थीबाट र शिक्षकबाट गर्न सकिन्छ ।

यो आपत्को घडीमा पढाउन छुट्टै कक्षा कोठानै चाहिन्छ भन्ने पनि छैन । बहु कक्षा शिक्षण यस्तै बेलालाई उपयोग आउने हो । शिक्षकले यही बेला आफ्नो शिक्षण सीप पनि देखाउनु पर्छ ।

...

यो विपत्तिले बनाएको दुःखको दाग त हामी मेट्न सक्दैनौ तर अहिलेको गाढा पीडा र दुखको रंगलाई भने हामी घुर्मैलो बनाउन पक्कै सक्छौं ।
आफ्नो ठाउँबाट लागौँ । र हामीले सबैले भोगिरहेको दुखको यो रंगलाई अलिकति भए पनि मेट्ने प्रयासमा लागौँ ।

प्रतिक्रिया