हामीले झण्डै १४ महिना अघि गरिमामय संसदबाट शिक्षा ऐन २०२८ लाई संशोेधन गर्न बनेको विधेयक २०७३ पारित गरेका छौं । त्यो विधेयक पारित गर्दाको एउटा ऐतिहासिक क्षण स्मरण गर्न चाहन्छु । त्यसमा कैयौं बुँदाहरुमा हाम्रा असहमती थिए । त्यसका बाबजुत पनि हामीले सर्व सम्मतीले त्यो विधेयक पारित गर्यौं ।
त्यो किन भने करीव १८ बर्ष देखि विद्यालय शिक्षामा देखिएको समस्यालाई समाधान गर्न, खास गरी शिक्षक ब्यवस्थापनको सवालमा जो समस्या हामीले ब्यहोरेका थियौं त्यसलाई समाधान गर्न चाहन्थ्यौं ।
त्यो विधेयकले आउने एक बर्ष भित्रमा लामो समय देखि रहेका अस्थायी शिक्षकहरुलाई स्थायी गर्न ढोका खोलेको थियो । तत्कालिन शिक्षा मन्त्रीले हामीलाई एउटा सर्त राख्नु भएको थियो र भन्नु भाथ्यो – यो तात्कालिक समस्या समाधान गर्न मात्रै ल्याईएको विधेयक हो ।
मूलुक संघीयतामा गईसकेपछि एकिकृत शिक्षा ऐन ल्याउँछौ भनेर उहाँले भन्नु भाथ्यो । यी सबै कुरालाई तत्काल लागू गर्न शिक्षा नियमावली ल्याउँछु भन्नु भाथ्यो ।
आज १४ महिना वित्दा पनि नियमावली आएन । यसले १ लाख ७ हजार शिक्षक दरबन्दी मध्ये झण्डै २६ हजार नयाँ दरबन्दीमा स्थायी शिक्षक भर्ना गरेर शिक्षक ब्यवस्थापन गर्न सकिन्थ्यो । त्यो हामीले गर्न सकेनौं । यसैबाट पनि देखिन्छ सरकार कति निर्लज्ज, कति बेईमान र अर्कमण्य छ भन्ने कुरा ।
यसले त्यति मात्रै समस्या ल्याएको हैन, अस्थायी शिक्षकहरुले आन्दोलन गरे । त्यो आन्दोलनलाई सम्बोधन गर्न भनेर सरकारले गएको असार ९ गते गम्भिर सम्झौता गरेको छ । त्यो सम्झौता अनुसार शिक्षा ऐनमा फेरी नवौं संशोधन गरेर अर्को ब्यवस्था गर्ने भन्यो । शायद उसले त्यही प्राविधिक समस्या बुझेर होला त्यो ऐन संशोधन गर्न सक्ने ठाउँमा सरकार गएन । त्यसमा सरकारको गम्भिर कमजोरी थियो । त्यसकारणले आफ्नो कमजोरीलाई र अर्कमण्यतालाई ढाकछोप गर्नको निम्ति आगामी भाद्र ३ गते तोकिएको शिक्षक सेवा आयोगको परीक्षा सार्ने प्रपञ्चमा सरकार जुटेको छ भनेर समाचारहरुमा आईरहेको छ ।
यदी यसो हो भने त्यो २६ हजार मध्ये १५ हजार अस्थायी शिक्षकको स्थायी गर्ने प्रकृया बन्द हुन्छ । आफ्नो अर्कमण्यता र कमजोरी ढाकछोप गर्न यस किसिमको बदनियतपूर्ण काम गर्न पाईदैंन । त्यसकारण सम्माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु । सभामुखबाट विशेष प्रकारको रुलिङ् होस् धन्यवाद ।
पूर्व शिक्षा मन्त्री समेत रहेका एमालेका सांसद तुलाधरद्धारा बुधबार संसदको विषेश समयमा ब्यक्त धारणा ।
फाईल फोटो
प्रतिक्रिया