Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

सम्पत्ती विवरण फाराम : बीपी बढाउने ओखति !

आइतबार, १५ साउन २०७४

ललितपुर–लगनखेलको नमूना मच्छिन्द्र माविमा शुक्रबार दिउँसो पुग्दा केही शिक्षक अफिस कोठामा बसेर फाराम भरिरहेका थिए । खाली पिरीयडको सदुपयोग गर्दे फारम भरिरहेका शिक्षकलाई साझा प्रश्न सोधेँ, ‘के को फाराम भर्दे हुनुहुन्छ, सरहरु ?’ प्रश्न भुइँमा खस्न नपाउँदै एक शिक्षकले जवाफ दिए, ‘ ब्लड प्रेसर(बीपी) बढाउने फाराम !’

सो शिक्षकको उक्त अभिव्यक्तिपछि त्यहाँका शिक्षकहरुमा हाँसो छायो । हाँसो थामिएपछि भने एक शिक्षकले मलाई सजिलो हुने गरी भने, ‘सम्पत्ती विवरण फाराम ।’ उक्त शिक्षकको जवाफपछि सम्पत्ती विवरण फारम भरिरहेको त थाहा भयो तर अर्को शिक्षकले भने उक्त ‘फारामलाई किन बीपी बढाउने औषधिको रुपमा चित्रण गरे ?’ अर्को जिज्ञासा मनमा खेल्यो ।

सोबारेमा सोही शिक्षकसँग सोध्नै आँटेको बेला टिरिङ.. गरी घन्टी बज्यो । घन्टी लाग्ने बित्तिक्कै फाराम भरिरहेका शिक्षकहरु आआफ्नो कक्षामा जान तयारी गरे । मैले आफ्नो जिज्ञासा मेट्न पाइँन । त्यसपछि विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतसँग सोधेँ ।

उनी यसरी जवाफिए, ‘शिक्षकले भ्रष्टाचार गरे समय हो, ढिलो कक्षामा जाने, चाँडो कक्षाबाट बाहिरिने, आर्थिक हिनामिना र भ्रष्टाचार गर्न सक्दैन, त्यस्तो भएकोले शिक्षकले सम्पत्ती विवरण फाराम भर्नुलाई त्यसरी चित्रण गर्ने गरेका छन् ।’ उनले आफ्नो विद्यालयका शिक्षकले सम्पत्ती विवरण फारम भर्न हिच्किच्याउने नगरेपनि अधिकांश विद्यालयका शिक्षकले भने फाराम भर्न हिच्किच्याउने गरेको बताए । ‘धेरै शिक्षकहरु फाराम भर्न आनाकानी गर्छन् र कारबाहीमा पर्छन् ।

प्रअ महतले भनेजस्तै गरी गत वर्ष २०७३ मा पनि शिक्षकहरु ८ हजारको हाराहारीमा सम्पत्ती विवरण नभरेको निहुँमा कारबाहीमा परेको शिक्षक कितावखानासँग तथ्यांक छ । उक्त शाखाका शाखा अधिकृत सुरेन्द्र आचार्यले गत वर्ष मात्र ७२ हजार ५ सय २९ जना शिक्षकले मात्र सम्पत्ती विवरण कितावखानामा पठाएको बताए ।

शिक्षक समाजका प्रवुद्ध वर्ग, सचेत वर्ग भए पनि सम्पत्ती विवरण भर्न भने अन्काउने गरेका छन् । कोहीले बीपी बढाउने औषधिको रुपमा चित्रण गरेर, कोहीले किन चाहियो र ? भनी जिद्दी गरेर त कोहीले भने हेलचक्र्याइँ गरेर सम्पत्ती विवरण नभर्ने गरेको अधिकांश शिक्षक र प्रअहरुको धारणा छ ।

‘निजामति कर्मचारीले जस्तो शिक्षकले भ्रष्टाचार गर्ने गरेका छैनन, घूस खाएको छैन किन भर्नुपर्यो र ?’ भनी प्रतिप्रश्न गरी सम्पत्ती विवरण नभर्ने शिक्षकहरु पनि छन् ।’ शिक्षक रामसुन्दर देउजाले भने ।
कितावखानाका उपसचिव रवीन्द्र बुढाप्रिथी पनि शिक्षककै हेलचक्र्याइँको कारण सम्पत्ती विवरण फाराम सोचेअनुसार भर्ने नगरेको बताउँछन् । शिक्षकले सो फारम नभर्नुमा कितावखानका दामोदार चापागाइँ भने शिक्षकको मात्र दोष नभएर सरकारी निकायकै कमजोरी भएका बताउँछन् । निजामति ऐनमा सम्पत्ती विवरण भर्नुपर्छ भन्ने व्यवस्था भएजस्तै शिक्षा ऐनमा पनि सो व्यवस्था गर्न शिक्षा मन्त्रालयले नसक्दा शिक्षकमा यस्तो समस्या भएको हो ।’ उनले भने ।

यो वर्ष पनि शिक्षा मन्त्रालय, विभागले यही भाद्र २८ गतेसम्ममा कितावखानामा दर्ता भइसक्ने गरी शिक्षकको सम्पत्ती विवरण फारम भर्न जिल्ला शिक्षा कार्यालयमार्फत् शिक्षकलाई निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार फारम नभर्ने शिक्षक तथा अन्य निजामति कर्मचारीलाई रु. ५ हजारको जरिवाना तोकेको छ ।

फोटो स्रोत : पाटन स्रोतकेन्द्र

 

प्रतिक्रिया