Edukhabar
आइतबार, १६ मंसिर २०८१
विचार / विमर्श

शैक्षिक स्तरीयता : एउटा जातको विरुवा रोपेर अर्कै फलको अपेक्षा

आइतबार, १५ साउन २०७४

१. सन्दर्भ

शैक्षिक स्तरीयता व्यापक चल्तीको शब्द भएको छ– आजकाल । सामान्य नागरिक समेत यो विषयमा टिप्पणी गर्न रुचाउँछन् । शैक्षिक संस्थाहरुको त आफ्नै विषय हो यो । स्थानीय निकायमा शैक्षिक स्तरीयताले पर्याप्त स्थान लिइरहेको छ । राज्य एवम् शैक्षिक स्तरीयताको प्रसंगलाई दैनन्दिन तालिका समावेश गरेर सक्दो व्यापक बनाउन लागि परेको छ । मिडियामा मात्र होइन, तमाम संस्थाहरुको विषय बन्न सफल यो शैक्षिक स्तरीयता आखिर के हो ? कसरी प्राप्त हुन्छ ? भन्ने कुरो झनै महत्वपूर्ण सवाल बनेको पाइन्छ ।

आफ्नो अनुकूलता र क्षमतामा परिभाषित गर्ने गरिएका धेरै विषयमध्ये शिक्षामा स्तरीयता अग्रपंक्तिमा पर्दछ । आदि–अन्त्य नभएको सर्वव्यापक रहेको शैक्षिक स्तरीयताको सीमा नै नदेख्नेहरुदेखि निश्चित मापदण्ड अघि सारेर परिभाषा दिने विज्ञजनहरुको हामीकहाँ अभाव छैन । नेत्रहीनहरुले हात्ती छाम्दा कसैले कान छामेर यो नाङ्लो, कसैले खुट्टा छामेर यो खम्बा जस्तो भनेर आ–आफ्नो अनुभूति र बुझाई बमोजिम परिभाषित गरेजस्तो भएको छ– हाम्रो शैक्षिक स्तरीयता ।

विगतमा एसएलसीमा बढी प्रतिशत पास गर्नेलाई शैक्षिक स्तरीयताको प्रमुख सूचकको रुपमा हेरिएकोले हाल त्यसैको बदलिएको नाम एसईईको नतिजालाई हेरेर स्तरीय विद्यालय भन्ने एउटा छाप जनमानसमा गएकै छ । शैक्षिक स्तरीयताको यो धेरैमध्ये एउटा मापदण्ड वा सूचकचाहिँ स्वीकार्नै पर्छ । तर, समग्रमा स्तरीयताको सूचक यो मात्र बन्न सक्दैन ।

कोही सबैभन्दा बढी संख्या सहभागी गराउनु वा स्कूलमा बढी विद्यार्थी संख्या हुनुलाई शैक्षिक स्तरीयता भन्ने गर्दछन् ।

कसैले भौतिक पक्षको आकर्षक वातावरण र पर्याप्त सुविधालाई शैक्षिक स्तरीयता भन्ने गर्दछन् ।

कतै कार्यक्रम धेरै देखाएर दैनिकरुपमा मिडियामा आइरहने राम्रो आय आर्जन गर्न सफल एउटा व्यवसायलाई शैक्षिक स्तरीयताको दायरामा राखेर व्याख्या गर्नेहरु पनि धेरै पाइन्छन् ।

यो विषय स्वयंमा  व्यापक आयतन बोकेको अनेकन् विश्लेषण र चर्चा अटाउन सक्ने एउटा लेखमा संकुचन गर्ने नभई मोटा किताबमा समेत सिमित गर्न हम्मे पर्ने विषय भएको तथ्य हामी सबैले स्वीकार्नैपर्छ । यस लेखमा विषयवस्तुलाई स्थान दिएर चर्चा उठान गर्दा सम्बन्धित विज्ञजन र सरोकारवर्गको ध्यानाकर्षण हुने अपेक्षा लिइएको छ ।

२. स्तरीयता केलाई भनिन्छ ?

सामान्य अर्थमा राम्रो, सकारात्मक, उच्चतहको तथा तोकिएका निश्चित मापदण्ड हासिल गरेको कुनै वस्तु वा पदार्थ तथा घटनाको अवस्थालाई स्तरपूर्ण वा स्तरीयता भन्ने गरिन्छ । तोकिएका मापदण्ड भन्नाले सम्बन्धित वस्तु वा सेवाको मापन योग्य बुँदाहरु पर्दछन् । कुनै एउटा मात्र आधारमा स्तरीयताको दायरा रहँदैन । उच्च उपलब्धिसँग गुणस्तर र संख्यालाई स्तरीयताबाट अलग गर्न सकिँदैन । विभिन्न कालखण्डमा देश र परिस्थिति बमोजिम अनेकौं विज्ञजनबाट स्तरीयतालाई हेर्ने, बुझ्ने र परिभाषित गर्ने काम भएको छ ।

विद्वानहरुको भनाइमात्र साभार गर्ने हो भने पनि स्तरीयताको शीर्षकमा मोटो अलग किताब बन्नसक्छ । यो शब्दको प्रयोगलाई फ्रेञ्च भाषाबाट सर्वप्रथम प्रयोग गरिएको र सन् ११२५ देखि ११७५ सम्ममा मध्यकालीन अँग्रेजी भाषामा स्तरीय शब्दलाई चलन चल्तीमा ल्याउन व्यापक प्रयत्न गरिएको तथ्य पाइन्छ । स्तरीय शब्दको औपचारिक जन्मको कालखण्ड नै यही भएको तर्क विज्ञहरुले प्रस्तुत गरेका छन् ।

स्तरीयताले उस्तै प्रकृतिका दुई वा दुईभन्दा बढी संख्यामा वस्तु वा सेवाबीचको तुलना गर्दछ र उच्च कोटीको पदार्थ वा सेवालाई स्तरीय सेवा भनिन्छ । यो तुलनात्मक पद्दति हो, जसले एकै कालखण्डका समान वस्तु र सेवालाई उस्तै स्थान र वातावरणमा दाँजेर स्तरीयताको पहिचान गरिन्छ । त्यस्तै निश्चित वा प्रामाणिक खाका वा मोडललाई स्तरीयताको मापन गर्ने औजार भनिएको छ । त्यस्तो प्रमाणित मोडल वस्तु वा सेवाको प्रकृतिमा भर पर्दछ । जस्तो, स्तरीय दूध भन्दा तोकिएको ल्याक्टो र फ्याट प्रारम्भमा हेरिन्छ । सँगै एसएनएफ हेरेर अझ गाई वा भैंसीको अलग–अलग स्तरयुक्त दुध घोषणा गरिन्छ ।

पहिलो तुलना, दोस्रो प्रमाणित मोडल सँगै तेस्रो आधारको रुपमा साझा आकार वा गुणलाई पनि स्तरीयताको पहिचान अन्तर्गत समेटिएको छ । यसको उदाहरण नै विगतको एसएलसी र हालको एसईईको परीक्षाफल हेरेर स्तरीय स्कुल भनेको तथ्यलाई यहाँ उल्लेख गर्न सकिन्छ । चौथो आधार भनेको नियम तथा सिद्धान्तसँग जोडिएको हुन्छ, जसले स्थान, समय, मात्रा, परिवेशसँगै नतिजाको विश्लेषण गर्दछ । यसले न्यूनतम मापदण्ड वा योग्यता वा क्षमतालाई सँगै व्याख्या गर्ने अधिकार राख्दछ । यो स्तरीयताको मूल आधारस्तम्भको रुपमा स्थापित भएको तथ्यमा विमति छैन । त्यस्तै स्तरीयतालाई थप स्पष्ट गर्न सम्बन्धित वस्तु वा सेवाको गुणात्मक अवस्था, न्यूनतम संख्या, स्तर, तह, श्रेणीसहित स्थापित मान्यता एवम् त्यसको मूल्य र नैतिक एवम् संस्कारजन्य पक्षलाई समेत स्तरीयता मापनका आधार बनाएर विज्ञहरुले व्याख्या विश्लेषण गरेको पाइन्छ ।

३. शैक्षिक स्तरीयता केलाई मान्ने त ?

यसको जवाफमा विज्ञजनमा समेत एकैमत छैन । आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने छुट त छ नै, तर भ्रम र अन्यौलको सन्देश भने प्रचारित गर्न मिल्दैन । एउटामात्र कोणबाट कुनै एक शीर्षकले समग्र शैक्षिक स्तरीयताको जिम्मेवारी लिन सक्दैन । नतिजाको प्रतिशत मात्र हेरेर सतहबाट गरिने टिप्पणीमा तथ्यको अभाव हुन्छ नै, सम्बन्धित शिक्षण संस्थाको सेवाक्षेत्र र सरोकारवालाको चासोले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अझ मुख्य सवाल त विद्यार्थीको अवस्था नै हो ।

काठमाडौं र कर्णालीलाई एउटै तराजुमा राख्ने दुस्साहस नै मूर्खता हो । त्यहाँको अभिभावकको चेतनास्तर, आर्थिक अवस्था, शैक्षिक वातावरणमा व्यापक भिन्नता पाइन्छ । तुलना गर्न त उस्तै संख्या, उही प्रकृतिका विद्यार्थी, उस्तै शैक्षिक सुविधा, सिकाउने शिक्षक उही वा उस्तै, त्यही कालखण्ड, मूल्याङ्कनका औजारमा समानता जस्ता कुराहरु अनिवार्य सर्त हुन् ।

संख्या फरक छ, विद्यार्थीको स्तरमा भिन्नता छ, शैक्षिक सुविधामा विषमता छ, सिकाउने शिक्षकको अवस्थामा एकरुपता छैन, स्थान फरक छ र मूल्याङ्कनका औजार पनि भिन्न छन् सँगै ऐच्छिक विषयले समेत फरक पारिरहेको अवस्थामा हामी वार्षिक परीक्षाको नतिजा प्रतिशत हेरेर सम्बन्धित विद्यार्थी र संख्याको स्तरीयता यो वा त्यो भन्दै चर्चा गरिरहेका छौं, यसमा सत्यता छैन । शैक्षिक विज्ञानलाई नबुझेर वा नबुझेको अभिनय गरेर सतहमा आएका यस्ता अवस्थालाई अलि सूक्ष्म विश्लेषण गर्नैपर्ने अवस्था छ । कतै राजनीतिक आग्रह पूर्वाग्रहबाट कतै व्यक्ति विशेषको हेराईबाट शैक्षिक स्तरीयताको मापन गरिने संस्कारले हाम्रो सन्दर्भमा जरा गाडेको छ । सँगै कुनै व्यक्ति विशेषको देवत्वकरण गर्ने र कतै कसैलाई खुइल्याइरहने संस्कार हावी हुनु भनेको शैक्षिक दरिद्रता हो, अल्पज्ञानको उपजमात्र भएको यथार्थ स्वीकार्नैपर्छ ।

वास्तविकताबाट टाढा रहेर प्रतिशोध र पूजाको सामग्री मात्र बोकेकासँग भन्नु केही छैन । कसैलाई उचालेर सगरमाथाको चुचुरोमा लाने संस्कार भनेको विगतकै स्तुतिगानको निरन्तरता हो । यथार्थ तथ्यले बोल्छ, सत्य समयले बोल्छ, ढाकछोप गरेर आफ्नो बढाइचढाइ गर्ने प्रवृत्ति पनि हाम्रो संस्कारमा नभएको होइन । आखिर शैक्षिक स्तरीयता भनेको विद्यार्थीमा देखिने नतिजाको प्रभाव हो । प्रत्येक विद्यार्थीमा आएको व्यावहारिक परिवर्तन र आर्जित ज्ञान तथा सिकेको सीपले शैक्षिक स्तरीयताको पुष्टि गर्दछ । शिक्षकमात्र धरोहर बन्न सक्दैन । एउटै कक्षाका विद्यार्थीमा भिन्न स्तर हुनुले यसको थप प्रमाण हुनसक्छ ।

हाम्रो सन्दर्भमा सरकारी स्कूलका भन्दा निजी स्कूलका विद्यार्थीको स्तर उच्च रहेको भन्ने गरिन्छ । तर, यी दुई भिन्न प्रकृतिका स्कूल र भिन्न वातावरण तथा अभिभावकको अलगअलग चेतनास्तरबाट आएका विद्यार्थीबीचको तुलना गर्नु नै गलत देखिन्छ । सरकारी स्कूलबीच त तुलना गर्न समस्या हुन्छ । जबकि स्थान, शैक्षिक वातावरण, उपलब्ध शैक्षिक सुविधामा तालमेल वा एकरुपता हुँदैन । अर्कोतर्फ निश्चित मापदण्डका आधार यहाँ शिक्षा मन्त्रालयले प्रस्तुत गर्न सकेको छैन– यो स्तरीय स्कूल हो भनेर । पारिश्रमिक लिएर सिमित मिडियाले उत्कृष्टताको पगरी जबर्जस्ती भिराएको हाम्रो सन्दर्भमा निश्चित न्यूनतम क्राइटेरिया निर्धारण गर्न नसक्नु शिक्षा प्रशासनको लाचारीपन नै हो ।

स्तरीय शिक्षा यो हो अर्थात् शैक्षिक स्तरीयता भन्नाले नतिजाको प्रतिशतसँग परीक्षामा सम्मिलित संख्या र विद्यार्थीको व्यवहारमा देखिएको परिवर्तन, जुन उनीहरुले हासिल गरेको सिकाई उपलब्धिसँग जोडेर शिक्षाको स्तर आँकलन गर्नुपर्छ । मूल्याङ्कनको एक औजार लिखित परीक्षालाई मात्र आधार बनाएर शैक्षिक स्तरीयताको चर्को नारा दिनु भनेको शैक्षिक स्तरीयताको वास्तविक अर्थ ढाकछोप गर्नु नै हो । शिक्षाको नीति, कानून अनि राजनीतिक दलको स्वार्थपूर्ण हस्तक्षेपसँगै केही कार्यकर्ता भर्तिकेन्द्र बनाएर फर्जी स्कूल, फर्जी शिक्षकको व्यवसाय गर्नेहरु नै उच्च स्वरमा शैक्षिक स्तरीयताको कोकोहोलो गर्न प्रतिस्पर्धा गरेको पाइन्छ । यो राम्रो होइन ।

एउटा जातको विरुवा रोपेर अर्कै जातको फल किन फलेन भनेर भन्नुको कुनै तुक छैन । अब स्थानीय तहमा स्कूल सञ्चालन व्यवस्थापनको जिम्मेवारी संविधानले प्रदान गरेको छ । शिक्षासँग जोडिएका तमाम विषयको योजना बनाउने र कार्यान्वयन गर्ने अभिभारा स्थानीय तहमा हुनुले अब व्यवहारिक र वैज्ञानिक मापदण्ड बनाएर शैक्षिक स्तरीयताको परिभाषासहित न्यूनतम आधारलाई प्रस्तुत गर्ने र सो हासिल गर्न सबैखाले अवरोध हटाएर सहज मार्ग बनाउँदै शिक्षामा आमूल परिवर्तनको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया