Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

‘पढ्नचाहिँ के के पढ्नुपर्ने हो कुन्नि ?’

शनिबार, १४ साउन २०७४

‘लाखौं शब्दका पृष्ठमध्ये / केही अध्याय मन परेका छन् /कक्षाभित्र पढ्दै गरेपछि/माक्र्स फ्रायडले झगडा गरेका छन्’। दिल पौडेल समसामयिक विषयमा कविता लेख्छन् । ‘कात्रोमा मेरो देश’ नामक कविता संग्रह उनको प्रकाशित कृति हो ।
पढ्नुको अर्थ जीन्दगीलाई सार्थक बनाउने बाटोमा हिँड्नु हो । बदलिएको समयसँगै आएका थुप्रै खालका विचारहरुसँगै विद्यार्थी, प्राध्यापक र शिक्षकहरुमा विकार नआएको होइन, तर पनि पढ्ने अथवा, सिक्ने क्रम रोकिएको छैन । र, रोकिने पनि छैन । औपचारिक रुपमा पढ्न जाने वा गएका मात्र विद्यार्थी होइनन्, जो सिकिरन्छ, अनुभवबाट, अध्ययनबाट तिनीहरु पनि विद्यार्थी नै हुन् । ‘म विद्यार्थी हुँ’ नामक कविता साताको शिक्षा साहित्यमा ।
—    दिल पौडेल
म विद्यार्थी हुँ
प्रत्येक दिन सार्थक अक्षर पढिरहेछु ।
आनन्द, उल्लास, उज्यालोको खोजीमा
झोलाभित्र भविष्य बोकी
ज्ञानका मृगतृष्णा मेट्न
महापुरुष उत्पादनशाला पुग्दै
प्राध्यापकहरुकै इसारामा निर्धक्क अघि बढिरहेछु ।

म विद्यार्थी हुँ
जाँगरिला, फुर्तिला अध्यापक छन्
समय नफाटुञ्जेल मनको पाटीमा
म्द, मात्सर्य र अभिमान मेट्दै
हार्दिकता र मित्रता कोर्छन्
हलन्तरुपी दुर्बल शब्दमा
रस फुटाउँदै अलंका बेर्छन्
चेतना र वुद्धि ढुंगामा ढोग्ने अन्धास्थाका समय त्याग्दै
यसबेला फेरि म शब्दसिँढी चढिरहेछु ।

म विद्यार्थी हुँ
साथीहरु थरीथरीका छन्
कहिल्यै रिक्तस्थान रातो पार्छन्
कहिले पूरै बेञ्च भरिएका छन्
लाखौं शब्दका पृष्ठमध्ये
केही अध्याय मन परेका छन् ।
कक्षाभित्र पढ्दै गरेपछि
माक्र्स फ्रायडले झगडा गरेका छन्
कीराहरु नपसेका हैनन् सिद्धान्तभित्र
भित्ताहरुको पहरा भए तापनि
गान्धी र गौतम वुद्ध ब्युँझेर
यसबेला बारुद भरेका छन्
रंगहीन जीर्ण भवनलाई
पोप र माओका समर्थकले
हरेक वर्ष घेरेका छन् ।
नेपोलियन जोशी फाइनको परीक्षा हुन्छ यहाँ
अलिकति खेल मैदान छ जहाँ
हिलोमा होस् कि धूलोमा परोस् ?
लिलामी सिद्धान्त अनि थोत्रा वाद उफारेका छन्

म विद्यार्थी हुँ
घन्टीमा विभक्त छ चिन्तन धारा
विचारका चस्मा लगाएर
इन्द्रेणी पर्ने बगैंचा छ नभन्नु होला यसभित्र
नरोपेको दर्शन फूल खोज्दै
पल्ला कोठाको आकाशको सूर्य छुन
म सगरमाथा चढिरहेछु
पढ्नचाहिँ के के पढ्नुपर्ने हो कुन्नि
म सुगा भई आफ्नै जीन्दगी पढिरहेछु ।

 

 

प्रतिक्रिया