Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

विश्वविद्यालय कि फोटोकपि पसल !

विहीबार, १२ साउन २०७४

त्रिभुवन विश्वविद्यालयको आन्तरिक संरचना हेर्दा राजनीतिबाट टाढा छैन । त्रिभुवन विश्वविद्यालय किन निर्माण गरियो भने त्यतिबेला प्रजातन्त्र आयो । राणाकालमा पढ्न दिँदैनथे, सर्वसाधारणलाई । त्यसपछि पञ्चायत प्रणाली कस्तो बनाउनुपर्छ ? के गर्दा निर्दलीय पञ्चायत व्यवस्था अझ दीगो हुन्छ ? भन्ने सोचेर त्यो व्यवस्थालाई सघाउने जनशक्ति निर्माण गरेर, पञ्चायतलाई सल्लाह सुझाव दिने मान्छे चाहिए पछि विश्वविद्यालय  स्थापना गरियो । त्यही भएर अहिले पनि सिनास भन्नेजस्ता अनुसन्धान केन्द्रहरुमा राजनीतिक मान्छेहरु भर्ना गरिन्छ । पशुपति शमसेर जबरा पनि कुने बेला सिनासका डाइरेक्टर हुन् । त्यही भएर विश्वविद्यालयमा उपकूलपति पार्टीको मान्छे हुन्छ । त्यहाँ विज्ञ हुँदैन । कोही पढ्नमा निक्कै अघि छन् भने उसले त्यो पद पाउने अवस्था छैन । पार्टीको राजनीतिक मान्छेलाई नियुक्ति गर्छ । त्यो भनेको आफ्नो पार्टीका मान्छेलाई मात्र अघि लैजाने रित हो ।

विश्वविद्यालय भनेको त जमिन्दारी हो । कसरी भने, यहाँ जुन मान्छे उच्च शिक्षा लिन आउँछन् तिनीहरुलाई पाठ्यक्रम मार्फत् पढाउनु भनेको राजनीतिक रुपले प्रभावित पार्नु हो । पाठ्यक्रम अनुसार विषय बनाउनु भनेको  नितान्त ज्ञानको कुरा मात्र हुँदैन । जसरी पञ्चायतकालमा हामीले स्कुलमा ‘हाम्रो राजा, हाम्रो देश...’ भन्ने पढ्यौं । हामीलाई पञ्चायती व्यवस्थाले राजतन्त्र भनेको अमूल्य कुरा भन्दै सामाजिकीकरण गर्योे ।

राष्ट्रिय एकता अक्षुण विषय हो । यसलाई जोगाएर राख्नुपर्छ । भाषा भनेको एउटा हुनुपर्छ । राष्ट्रियता यसैले  निर्माण हुन्छ भन्दै पञ्चायतले विशुद्ध एउटा जातको, भाषाको लिंगको प्रवद्धृन गर्ने काम विश्वविद्यालयबाट भयो । यसले विविधतालाई नष्ट गर्ने काम गरेको छ । त्यतिबेलाको शिक्षा पञ्चायतको राजनीतिक व्यवस्थालाई टिकाउने र त्यसलाई संरक्षण गर्ने तरिकाले निर्माण गरिएको हो ।

विश्वविद्यालय पनि राजनीतिक मान्छेहरुलाई ठाउँ दिन बनाएको हो । यहाँ स्ववियुको सभापति जो हुन्छ, त्यही प्राध्यापक हुन्छ । यसको मतलब प्राध्यापक बन्ने तरिका खुल्ला छैन । यहाँ कोहीले पढाउन थालेको खण्डमा उसलाई कुनै न कुनै तरिकाले करार गरिन्छ, कुनै न कुनै तरिकाले स्थायी । कपी चेक कसले गर्छ, प्रश्न कसले बनाउँछ भन्ने कुरा यहाँ त अगाडि नै थाहा हुन्छ ।

बहुदलीय व्यवस्था आयो त्यस पछि पनि विश्वविद्यालयमा सत्ताको प्रभाव उसैगरी पर्यो । जो प्रधानमन्त्री, मन्त्री बन्छ, त्यसैको मान्छे भीसी हुन्छ, त्यसैको मान्छे सेवा आयोगको अध्यक्ष हुन्छ । सेवा आयोगको अध्यक्ष भनेको विश्वविद्यालयमा अध्यापन गर्न कसलाई दिने नदिने भनेर निर्णय गर्ने निकाय हो ।

राजनीतिलाई बलियो बनाउने एउटा हतियारको रुपमा विश्वविद्यालयलाई प्रयोग गरिरहेको छ । कुन प्रकारको व्यवस्थाले उसलाई नियुक्ति गरेको हो, त्यसलाई सपोर्ट पुग्ने खालको नीति बनाउँछ । त्यस्तो नीति निर्माण गर्नलाई कस्ता–कस्ता मान्छे चाहिन्छ ? त्यस्ता मान्छे छानेर मात्र प्राध्यापक बनाउँछ । तिनीहरुले त्यो पार्टीको लागि सहयोग पुग्ने नीति बनाउँछन् । अनि तयसैलाई विश्वविद्यालयले अनुसन्धान गरेर निकालेको वैज्ञानिक नीति भनिन्छ ।

विज्ञान राजनीतिबाट टाढा छैन । विज्ञान के हो ? के होइन भन्ने कुरा राजनीतिले निर्धारण गर्ने कुरा हो । त्यही भएर यो जमिन्दारी हो । त्यहाँ हालिमुहाली गर्ने त्यस्ता बर्गका मान्छेले विश्वविद्यालयलाई आफ्नो बाउको विर्ता ठान्छ र आफ्ना भाइ, भारदार, बुहारीलाई जागिर दिन्छ । नजिकका मान्छेलाई मात्र जागिर दिन्छ, एक्पर्ट मान्छे त यहाँ झुक्केर मात्र आउँछ । एक्सपर्ट मान्छेलाई ठाउँ नै हुन्न विश्वविद्यालयमा ।

यसको प्रभाव विश्वविद्यालयमा मात्र होइन, देशलाई नै परिरहेको छ । हरेक देशका विश्वविद्यालय भनेका  कुनै न कुनै राजनीतिक प्रभावबाटै जन्मिएका हुन्छन् । विशुद्ध ज्ञान भनेको संसारमा परिकल्पना मात्र हो ।

जस्तो भारतमा जवाहारलाल नेहरु (जेएनयु) विश्वविद्यालय किन बनाइयो भने, भारत स्वतन्त्र भैसकेपछि भारतको पहिचान ब्रिटिशको जस्तो होइन, भारतकै हुनुपर्छ भन्ने अवधारणा निर्माण गर्नलाई बनाएको हो । हामी ब्रिटिश तरिकाले होइन, फरक तरिकाले अध्ययन गर्छौं भन्ने मान्यताले जेएनयु निर्माण भएको हो । नेहरु र गान्धीको प्रजातन्त्र भनेको ब्रिटेनको मोडेल हो । त्यही मोडेललाई संरक्षण गर्नलाई विश्वविद्यालयबाट ज्ञान निर्माण गर्ने र त्यसलाई सहयोग गर्ने । यो त अनुसन्धान गरेर निकालेको ज्ञान हो । भनेर प्रमाणित गरे वैधानिकता दिनलाई विश्वविद्यालय निर्माण गरिन्छ । विश्वविद्यालयबाट उत्पादन हुने ज्ञानले मूलत : देशको प्रमुख राजनीति शक्तिलाई जहिलै पनि सपोर्ट गर्छ । उनीहरुको ज्ञानको प्रणालीले हाम्रो ज्ञानको प्रणालीलाई खाइसकेको छ । हामीले यहाँ ब्रिटिशका, अमेरिकनका थ्योरीहरु, उनीहरुले देखाएका सिद्धान्तहरु, विधि र उनीहरुले त्यहाँ कसरी गरे ? हामी पनि त्यही तरिकाले गर्नुपर्छ भन्ने पढिरहेका छौं । जुन गलत हो । जसले विविधतालाई नष्ट गर्यो । हामीले हाम्रो मौलिक ज्ञान के हो ? मौलिक परम्परा, मौलिक तरिका के हो भन्ने कुरा न  विश्वविद्यालयका पाठ्यक्रममा राख्यौं न त हामी आफैं पढाउँछौं नै ।

त्यो ज्ञानले कालान्तरमा उनीहरुको ज्ञानलाई संसारभर फिँजाउन मद्दत गर्यो । हामी नबुझेका, अज्ञानी किन भयौं भने उनीहरुले जस्तो ज्ञान जानेनौं । हामी त भिन्न ज्ञान जान्छौं, पूर्वीय दर्शन जानेका छौं ।  पूर्वीय र पश्चिमी दर्शन त फरक हो । हामीले हाम्रो दर्शनको बारेमा पढाएनौं, हाम्रो नैतिकताको विषयमा पढाएनौं । हामीले हाम्रो नैतिकता के हो ? भन्ने कुरा उनीहरुबाट सिक्नुपर्ने भएपछि के हुन्छ ? यस्तो भएपछि के युवाहरु यहाँ बस्छन् ? तिनीहरुको आर्दश सिकाएर हामी हाम्रो समाज कसरी बनाउन सकौंला र ? हामीले विविधतामा पनि विकास गर्न सकिन्छ भन्ने कुरा सिकाएनौं । उनीहरुको जस्तो भएपछि, उनीहरुले जस्तो भाषा बोलेपछि, उनीहरुको जस्तो डे«स लगाएपछि विकसित हुन्छ भन्ने सिकाएपछि हाम्रो समाज भ्रष्ट नभएर के हुन्छ ?

अहिले पूँजीवादको रुप फेरिएको छ । माक्र्सले कल्पना गरेको पूँजीवाद आर्थिक कुरामा मात्र थियो । यसको दायरा फराकिलो भएको छ । पछि ग्राम्सीले त्यसलाई हेजिमोनी भनेर भने । त्यो हेजिमोनीलाई हामीले के बुझ्न थाल्यौं भने हामीले आफूलाई एकदम कमजोर ठान्ने, हीनताबोध गर्न थालेपछि, विश्वविद्यालयहरुमा उनीहरुकै किताब पढाउन थालेपछि, उनीहरुकै ज्ञान पढाउन थालेपछि समाज एकात्मकतामा गइरहेको छ । जसरी प्राकृतिक वातावरण जैविक विविधताले सुन्दर हुन्छ, त्यसरी नै समाज भनेको सामाजिक र साँस्कृतिक विविधताले सुन्दर हुन्छ ।

हाम्रा विश्वपजद्यालयले यस्तो समाज निर्माण गर्दैछ, जुन समाजमा गुलाब मात्र फुल्छ । अरु फूलहरुको त्यहाँ कुनै अस्तित्व हुँदैन । अरु फूलको मान्यता हुन्न । अरु फूल हीनताबोधमा बाँच्नुपर्छ । त्यस्तो समाजको डिजाइन भैरहेको छ । पहिला उपनिवेशवादमा केवल राजनीतिक उपनिवेश, आर्थिक उपनिवेश हुन्थ्यो, अहिले ज्ञानको उपनिवेश विश्वपवद्यालय मार्फत् सिर्जना भएको छ, लादिएको छ । पढाइ नै त्यस्तो भएपछि हामीलाई  क्रमशः पश्चिमा समाज र पूँजीवादको भक्त बनाउँदैछ । पूँजीवादविना हामी समाजको कल्पना गर्न सक्तैनौं अब । किनभने अब हरेक कुरा पश्चिमाबाट आउने भएको छ, हामी यहाँ बाँच्नै सक्तैनौं जस्तो लागिसक्यो, हामीलाई । ज्ञान पनि त्यही नै ओकल्छौं । क्रियटिभिटी भन्ने हामीले मारिसक्यौं । क्रियटिभिटीलाई हामीले प्रमोट गरेनौं । त्यही कारण हाम्रा विश्वविद्यालय भनेका नितान्त पश्चिमाको फोटोकपि बेच्ने संस्था भएको छ । विश्वविद्यालय त फोटोकपि पसल बनेको छ । जसले पश्चिमा ज्ञानलाई फोटोकपि गरेर विद्यार्थीमा ट्रान्सफर गर्छौं, अनि विद्यार्थीलाई पनि त्यो फोटोकपिविना बाँच्नै सक्तैनौं भन्ने सिकाइरहेका छौं ।

त्यहीकारणले प्लस टु पढेका, साइनस पढेका विद्यार्थी सबै उहीँ जान्छन् । हामीले विदेशीका लागि जनशक्ति उत्पादन गर्ने होइन, हामीले त हाम्रै देशको लागि उत्पादन गर्ने हो ।  हामीले १०÷१२ वर्ष लगानी गरेर उत्पादन गरेका विद्यार्थी अमेरिका गएर अमेरिकालाई योगदान दिन्छ भने हाम्रो शिक्षाले के गर्यो त ? हामीले कस्तो खालको शिक्षा दियौं त ? देशमा हामीले पूर्वीय ज्ञान, पूर्वीय विचारले पनि देश बन्छ भन्ने कुरा सिकायौं त ? किन हाम्रो ओरियन्टेशन अमेरिका नै जाने भयो ? किन अष्टे«लियानै जाने भयो ? किनभने हामीले शिक्षा नै त्यही खालको दियौं । तिमी विदेश गएर गर्यौ भने तिम्रो सम्भावना बढी छ भन्ने शिक्षा दियौं ।

अब गर्ने के त ?

अब नितान्त नयाँ सोचबाट जानुपर्छ । हीन ग्रन्थी पालेपछि, हाम्रो ज्ञान, हाम्रो विधि, हाम्रो संस्कृति कमजोर हो भन्ने स्वीकारेर बसेर हुँदैन । हाम्रो विधि, हाम्रो दर्शनले पनि समाज रुपान्तरण गर्न सक्छ भन्ने जुन आदर्श हो, त्यसलाई लागू गर्नुपर्छ । हामीले सामाजिक, साँस्कृति इञ्जिनियरिङ गर्नुपर्छ भनिरहेका छौं । हाम्रो संस्कृतिलाई प्रवद्र्धन गर्ने, विशिष्ट खालका हाम्रा सामाजिक सम्बन्धहरुलाई पढाउने र सिकाउने पाठ्यक्रम, सोच विश्वविद्यालयको उच्च ओहोदामा बस्ने, कोर्स निर्माण गर्नेले बनायो भने परिवर्तन हुन्छ । स्कुलका प्राथमिकदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम कस्तो बनाउने भन्ने भिजन चाहिन्छ । दश वर्षपछि यो मान्छे निस्कँदा यो खालको भिजन निस्किन्छ भन्ने खालको बनाउनुपर्छ । हामीले पश्चिमा व्यक्तिकरण हुन सिकायौं । त्यसलाई समूहकरण गर्ने तरिका बदल्नुपर्छ ।

हामीले के सिकायौं भने एक्लो हुनुलाई प्रगति सिकायौं । नाम कमाउनुलाई प्रगति भन्ने कि पैसा कमाउनुलाई ? हामीले पैसा कमाउनुलाई प्रगति ठानेर, जीवनको उद्देश्य नै पैसा कमाउनुलाई बनायौं । पैसालाई प्रयोग गरेर नाम कमाउने हो । सामाजिक काम गर्ने हो नि । त्यो हामीले सिकाएनौं । त्यो  नत पाठ्यक्रमले सिकायो, न त शिक्षकले नै न समाजले नै । त्यही भएर हाम्रो पारिवारिक इञ्जिनियरिङ ह्रासोन्मुख भैरहेको छ । त्यो पश्चिमा प्रभावमा परेर विश्वविद्यालयमा पनि, विद्यालयमा पनि देखिएको छ ।

अहिले हाम्रो शिक्षाको समाज कस्तो छ भने जसले अलिकति मौलिक काम गर्छु भन्ने छ, त्यस्ता व्यक्तिलाई सपोर्ट छैन, न त विश्वपिवद्यालयले सपोर्ट गर्छ, । विश्वविद्यालयमा रहेको जमिन्दारीले उसैको गुणगान गाउने र अहिलेको जुन व्यवस्था छ, त्यसलाई समर्थन गर्यो भयो भने सपोर्ट गर्छ ।

अर्थात् विश्वविद्यालय शक्तिको वरिपरि घुमिरहेको छ । शिक्षा पनि शक्तिबाट बाहिर छैन । अनि जसले नयाँ खालको कुरा गर्छ, त्यसलाई सकेसम्म मिडियामा पनि नल्याउने, कसैले ठाउँ नदिने, विश्वविद्यालयले प्रमोट पनि नगर्ने गरी निराश बनाउने काम गर्छ, अहिले भैरहेको पनि त्यही नै हो । त्यसैले अहिलेको शिक्षाको समाज निकै साँघुरो बन्दै गएको छ । निश्चित मान्छेले करिकुलम डिजाइन गर्छ । भिजन नभएका, सतही खालका मान्छेहरु करिकुलमको डिजाइन गर्न जान्छ । अनि निर्देशित । शिक्षाले २०÷३० वर्षपछिको समाज देखेर पाठ्यक्रम डिजाइन गर्नुपर्नेमा त्यो हुन सकेको छैन । हामी भने पश्चिमा जगतमा फेल भएका ज्ञानहरु बाँडिरहेका छौं ।

विश्वविद्यालयको मर्म

विश्वविद्यालयमा सोच भएका मान्छेहरुको अभाव छ । मन्थन गरेर केही राम्रो कुरा निकाल्छु भन्ने सोच अधिकांशमा छैन । भएका मान्छेहरुमा पनि जागिर भैहाल्यो, अब त्यसको पारिश्रमिक सरकारले दिइहाल्छ, मैले गरे पनि भो, नगरे पनि भो भन्ने रोग छ । त्यो रोग भएपछि पढ्नका लागि हौसला दिने साथीहरु पनि भेटिँदैन । विश्वविद्यालयले पनि नगर्ने भएपछि जसले चाकडी गर्छ, उसको प्रमोशन हुने संस्कार पनि छ । त्यही कारणले केही मान्छेहरु भने नितान्त व्यक्तिगत रुपले लागेका छन् । नयाँ सोच, दर्शन, विचार र तरिकाले केही व्यक्तिहरु लागेका छन् । यसलाई विश्वविद्यालयले सपोर्ट गर्नुपर्छ ।

उपप्राध्यापक गिरीसँग हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित । गिरी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा मानवशास्त्र तथा समाजशास्त्र अध्यापन गर्छन् ।

प्रतिक्रिया