सोर्स नभए, फोर्स नभए, राजनीतिक पहुँच, सम्बन्ध नभए, योग्यता र क्षमता भए पनि योग्य र सक्षमले रोजगारी नपाउनु विडम्वना र दुःखलाग्दो कुरा हो । तर, यथार्थ नै यही छ । रोजगारीका हरेक क्षेत्रमा नातावाद, कृपावादसँगै फरियावाद पनि हावी छ । योबाट विमुख छैन, शैक्षिक क्षेत्र पनि । ‘विशुद्ध’ शिक्षक सेवा आयोग पनि ‘चोखो’ छैन । जसको सिकारमा परिरहेका छन्, थुप्रै पहुँचविहीन र स्वाभिमानमा रमाउनेहरु । यही यथार्थलाई लघुकथा ‘योग्यताको कदर’ मार्फत् विधान आचार्यले देखाएका छन् । सोही कथा साताको शिक्षा साहित्यमा ।
त्यस दिन रमाबल्लभ फेरि पनि निराश भयो । डिस्टिङ्शनको सर्टिफिकेटले कोठामा पस्नासाथ गिज्यायो । ऊसितै पढ्दा उसैका नोट पढेर मुस्किलले ५२ प्रतिशत ल्याएको विक्रम मात्र उसको सहारा बन्यो, किनकि उसका क्याम्पस प्रमुख काकाले कताकता आंशिक शिक्षकमा लगाइदिने गुलियो वचन दिएका थिए ।
–
दुवै एकै विषयका थिए । काकाले एकै विषयमा दुवैलाई राख्ने कुरै थिएन । आंशिक त हो, सातामा दुईचार क्लास मात्र ! फेरि रमाबल्लभको त डिस्टिङ्शन थियो, विक्रमले अन्त काम पाउने सम्भावना कम्ती थियो भनेर काकाले उसैलाई राखे ।
–
त्यसपछि हाँगै फाट्यो, दुईको भेट पातलिँदै गयो । रमाबल्लभले उपाय नभएर ट्युशन पढायो, म्याथ र इङ्लिस । राम्रो त ऊ छँदैथियो ।
–
देशमा उथलपुथल भयो । आआफ्ना अधिकारका लागि सबै सचेत भए । कलेजका आंशिक शिक्षकले करारका लागि आन्दोलन गरे । करार भए । करारमा हुनेहरूले स्थायीका लागि आन्दोलन गरे । सेवा आयोग खुलाए ।
–
कैलेकैले आक्कलझुक्कल खुला पनि विज्ञापन हुनुपर्छ भनी दवाब हुनथाल्यो । धेरै वर्षमा एकपटक भयो पनि । रमाबल्लभले सोच्यो– जे पर्ला, आफ्नो राजनीतिक र पारिवारिक वा कुनै स्रोत नभए पनि दरखास्त हालेर भिड्नै उचित होला ।
–
लिखित त ऊ पास भयो नै ।
अन्तरवार्ताका लागि जाँदा पो ऊ छक्क भयो । विक्रम आफैले बतायो, ऊ त अर्को वर्षै स्थायी भएर अहिले माथिल्लो पदका लागि पो भिडदै थियो ।
–
गज्जब ! आफन्तका रूपमा आंशिक, अनि त्यही आंशिकलाई करार, र त्यही करारलाई स्थायी ! कहाँ छ प्रतियोगिता ? कहाँ छ संविधानले भनेको समानता ?
–
भाउन्न भएर रमाबल्लभ अन्तर्वार्ता नै नदिई बाहिरियो ।
प्रतिक्रिया