Edukhabar
बुधबार, १० पुस २०८१
विचार / विमर्श

कान जोगाउने उपाय

विहीबार, १५ साउन २०७१

- आचार्य लक्ष्मण भण्डारी

मानिसले जन्मजात प्रतिभा लिएर जन्मिएको हुन्छ । सबै मान्छेले आफू भित्रको सम्भावनालाई विकसित तुल्याउन सक्दैनन् । जसले अध्ययन र अभ्यास गरे, उनीहरूले मात्र आफ्नो जन्मजात प्रतिभालाई फूलाउन र फलाउन सकेका छन् । वरपरको वातावरण र त्यसको प्रभाव व्यक्तिको व्यक्तित्व विकासको अर्को महत्त्वपूर्ण पाटो हो । वंशजका नाताले जन्मैदेखि उसले बोकेर आएको क्षमतालाई वरपर यदि उत्प्रेरक परिवेश छ, साथ र सहयोग प्रदान गर्ने मानिसहरू छन् भने राम्ररी विकसित गर्न सकिन्छ । वंशानुगत गुण र वातावरणीय प्रभाव, यी दुई कुराको संयोजनमा नै व्यक्तिको व्यक्तित्व प्रकाशित हुने हो, मुख्यतया । संस्कृत काव्य परम्पराका मनीषिहरूको पनि प्रतिभा, व्यत्पत्ति र अभ्यासका बलमा मात्र सुन्दर कविताको रचना हुन सक्दछ भन्ने मत रहेको छ । तर, बालकले केही न केही विशेष रचनात्मक क्षमता लिएर आएको हुन्छ । उसको त्यो जन्मजात रचनाशिल्प प्रकाशित हुने वा समाप्त भएर जाने भन्ने कुरा मुख्यतः उसको वरपरको वातावरणले निर्धारित गर्ने गर्दछ ।

यदि, बालकले घर,परिवार, समाज र वातावरणबाट आफ्नो प्रतिभाअनुकूलको उत्प्रेरक वातावरण पाएको छ भने अवश्यमेव उसको प्रतिभा विकसित भएर जान्छ । कुनै पनि शिशु जन्मँदैमा बदमास भएर जन्मिएको हुँदैन । बरु साँचो कुरा के हो भने सबै केटाकेटीहरूभित्र प्रचण्ड प्रतिभा रहेको हुन्छ र सबै अत्यन्त सुन्दर र निर्दोष जन्मिएका हुन्छन् । साना बालबालिका सबैका प्रिय हुन्छन् । मानिसका मात्रै होइनन्, पशुपक्षी, बोटबिरुवा, किटपतङ्ग सबै सानामा अत्यन्त मायालु र कोमल हुन्छन् । यसको अर्थ मानिस बदमास, उद्दण्ड र अनुशासनहीन यही संसारमा आएपछि हुने हो, यहीँको वातावरणले सिकाएपछि हुने हो । त्यसैले, समाजका हरेक व्यक्ति बालबालिकाले बिर्सिएर पनि खराब कुरा सिक्न नपाऊन् भनी सचेत हुनुपर्दछ । मुख्यतः बालबालिका राम्रो घरपरिवार, विद्यालयको राम्रो वातावरण र साथीभाइको राम्रो सङ्गत पाए भने आदर्श बन्न सक्दछन् । विद्यालय, घर र परिवेशमध्ये पनि घरको वातावरण निकै महत्त्वपूर्ण हुन्छ । एउटा बालकलाई हेरेर उसका बाबुआमाको अनुमान गर्न सकिन्छ, उसको घरपरिवारको परिवेश मूल्याङ्कन गर्न सकिन्छ । घर पहिलो र अन्तिम पाठशाला हो । त्यसो त जीवन नै एउटा पाठशाला हो र हामीले जीवन रहेसम्म केही न केही सिकिरहेका हुन्छौँ तथापि हामी जीवनभर घरमै रहने हुनाले घर हाम्रो सधैँको पाठशाला हो ।

बालबालिकाका लागि घरले ठूलो अर्थ राख्दछ । घरका बाबुआमा त्यसैले, सदावहार शिक्षकशिक्षिका हुन्, बालबालिकाका । विद्यालयमा एक जना शिक्षकले जति पढाउँछन् वा सिकाउँछन्, त्योभन्दा धेरै घरमा बाबुआमाले सिकाएका हुन्छन् र सिकाउनुपर्ने पनि हुन्छ । विद्यालयमा एक जना शिक्षकले एउटा मात्र विषय पढाएका हुन्छन् । घरमा आमाले अनेक विषयबारे सिकाइरहेकी हुन्छिन् । घरबाहिर सिकेको सिकाइलाई व्यावहारिक रूपमा अनुमोदन गर्ने थलो पनि घर नै हो । यसैले, आफ्नो छोराको सिकाइलाई कसरी व्यवस्थित गर्ने वा अनुमोदन गर्ने भन्ने कुरामा बाबुआमा निकै सचेत हुनुपर्ने देखिन्छ ।

कतै एउटा बालक थियो । नजिकैको एउटा विद्यालयमा पाँच कक्षामा पढ्दै थियो । पाँच सात कक्षामा पढ्दै गरेका केटाकेटीहरूमा सिकाइको चाहना तीव्र रहेको हुन्छ । उनीहरू हरेक विषयहरू कसरी बनेका हुन्छन् र तिनको निर्माणको रहस्य के हो भन्ने विषयमा अत्यन्त जिज्ञासु हुने गर्दछन् । सामान्य ठीकबेठीकको कुरा थाहा भए पनि सम्पूर्ण उचित र अनुचितको भेद गर्ने भने भइसकेका हुँदैनन् । एक दिन कक्षामा त्यो बालकसँगै बस्ने उसको अर्को साथीले राम्राराम्रा कथाहरूले भरिएको कथाको पुस्तक लिएर आएको रहेछ । साथीले बालकलाई त्यही कथाको सङ्ग्रहबाट निकै मिठामिठा कथाहरू पढेर सुनायो । त्यो बालकले पनि ध्यान दिएर ती कथाहरू सुनिरह्यो । उसलाई साथीले ल्याएको त्यो किताब निकै मन प¥यो । उसले सोच्यो,‘यो किताब मसँग भए कति राम्रो हुन्थ्यो होला रु’ यति सोच्दासोच्दै ऊसँगैको साथी शौचालय गएका बेलामा साथीको झोलाबाट किताब चोरेर आफ्नो झोलामा राख्यो र छुट्टी भएपछि घर लिएर गयो । घरमा पुगेपछि उसले आफ्नी आमासँग आपूmले लिएर आएको पुस्तक देखायो ।

छोराले त्यति राम्रो किताब ल्याएको देखेर आमा निकै खुसी भइन् र उसलाई धन्यवाद दिइन् । भोलिपल्ट पनि अर्को एक जना साथीको कापी झोलामा हालेर लिएर आएछ । उसकी आमाले यसपटक पनि केही भनिनन् । बिस्तारै त्यो बालकमा चोरी गर्ने बानीको विकास भएर गयो । उसले सजिलैसित चोर्ने कला सिक्यो । उसको पढाइ बिग्रन थाल्यो । पढाइमा भन्दा चोरीचकारीमा नै उसले ध्यान दिने गर्न थाल्यो । विद्यालयमा छँदै उसले पत्याउनै गाह्रो पर्ने प्रकृतिका चोरीहरू गरेको थियो । विद्यालय छोडेर आएपछि पनि उसको चोरी गर्ने बानी हराएन । उसको पढाइलेखाइको सम्पूर्ण काम उहिल्यै रोकिइसकेको थियो । वर्षहरू बितेर गए । ऊ कुख्यात डाँका भएर निस्कियो । मानिसहरूलाई उसले दिनु दुःख दिनथाल्यो । अति भएपछि खति हुन्छ । यस्तै एउटा डकैतीको घटनामा ऊ समातियो । अदालतले उसलाई फाँसीको पैmसला सुनायो । उसले आफ्नो विगत सम्झ्यो । आफूले गरेका तमाम कुकृत्यहरूप्रति उसलाई पछुतो लागेर आयो । आखिर, समय गुज्रिइसकेको थियो । लगनपछिको पोतेको काम नभएजस्तै मृत्युको मुखको पछुतोले उसलाई बचाउन सक्ने अवस्था थिएन । उसलाई फाँसीको लागि तयार बनाइयो ।

फाँसीका समयमा अपराधीलाई उसको अन्तिम इच्छा के छ भनेर सोध्ने गरिन्छ । उसलाई पनि सोधियो,‘तिम्रो अन्तिम इच्छा के छ रु तिमी मर्नुअघि कुन इच्छा पूरा होस् भन्ने चाहन्छौ रु’ उसले धेरैबेर सोच्यो र भन्यो,‘म मेरी आमासँग केही कुरा गर्न चाहन्छु ।’ उसकी आमालाई बोलाइयो । फाँसीको फन्दामा झुन्ड्याइने अवस्थामा पुगेको छोराको आवाज सुन्न उसकी आमा पनि नजिकै गईन् । उनले आफ्नो छोराको आवाज सुन्न आफ्नो दाहिने कान उसको नजिकै पु¥याइन् । उसका दुवै हात बाँधिएका थिए । आफ्नी आमालाई केही भन्ने बहानामा मुख उनको कानमा पु¥यायो र मुखले टोकेर उसले आमाको दाहिने कान बाहिर निकालिदियो । उसकी आमा चिच्याइन् । वरपरका मानिसले पनि उसलाई धिक्कार्न थाले । यो भन्दा गए गुज्रिएको कुपुत्र अर्को को होला रु भन्दै मानिसहरूले उसप्रति घृणा व्यक्त गर्न थाले ।

मानिसहरूले गालीगरिरहँदा उनीहरूतिर फर्किउर उसले भन्यो,‘तपाईँहरू मलाई किन गाली गर्नुहुन्छ । मलाई फाँसीमा झुन्ड्याउने मेरी आमा नै हुन् । यिनलाई गाली गर्नुस् ।’ मानिसहरूले कुरा बुझेनन्, सोधे,‘होइन, कसरी तिम्री आमाले तिमीलाई फाँसीमा चढाइन्, हँ ? उनी तिम्रो शोकमा कति शोकमग्न देखिन्छन् । तिमी मर्ने भयौ भनेर छाती पिटिपिटी रोइरहेकी छिन् । त्यस्ती आमालाई पनि तिमी त्यस्तो आरोप लगाउँछौ ?’ उसले भन्यो,‘जतिबेला म पाँच कक्षामा पढ्थेँ, त्यतिखेर मैले किताब चोरेर ल्याएका बेलामा मलाई मेरी आमाले गाली गरेका भए र दुई थप्पड गालामा लगाइदिएका भए सायद म आज यसरी फाँसीमा झुन्डिनुपर्ने थिएन । उमेर नपुगी मर्नुपर्ने पनि थिएन ।’ उसले थप्यो,‘ त्यसदिन मैले पहिलो पटक पुस्तक चोरी गरेको थिएँ र मेरी आमालाई देखाउन लिएर आएको थिएँ । मेरो हातको पुस्तक कहाँबाट कसरी मैले लिएर आएँ भनेर मेरी आमाले केही पनि सोधिनन् बरु उल्टै राम्रो पुस्तक लिएर आएकोमा मलाई धन्यवाद दिइन् । उनको धन्यवाद पाएर म निकै फुर्किएको थिएँ । त्यसपछि म आमाले चोरी गर्दा पनि केही गर्दिनन् भन्ने बुझेर एकपछि अर्को चोरी गर्दै गएँ र आज मृत्युदण्डको सजायँसम्म आईपुगेको छु । मैले आमाको कान टोकेर मेरो आक्रोश व्यक्त गरेको हुँ उनीप्रति । मेरो ज्यान जाँदै छ, मेरी आमाको कान गएर केही हुँदैन । उनले पनि त छोरालाई डाँकु बन्न गरेको प्रोत्साहनको दण्ड पाउनुप¥यो नि !’ मृत्युदण्ड पाएर फाँसीको डोरीमा झुन्डिने तयारीमा रहेको त्यो अपराधीका यी कुरा सुनेर सबैका शिर झुके । कसैले पनि त्यसपछि उसलाई केही भन्न सकेनन् । उसले भनेको कुरा ठिकै भए पनि तर ऊ मृत्युबाट उम्कने अवस्था भने कतै बाँकी थिएन । केही समयपछि उसलाई मृत्युदण्डको सजायँ दिइयो । उसकी आमा धेरैबेरसम्म छाती पिटिपिटी रोइरहिन् । अरण्यरोदन जस्तै उनको रुवाइको त्यहाँ कुनै अर्थ थिएन ।

बालबालिकाका अनेक रुचि, इच्छा र चाहनाहरू हुन्छन् । हरेक नयाँ र आश्चर्य लाग्दा विषयप्रति उनीहरू जिज्ञासु हुन्छन्, तिनका ती इच्छा कुन अवस्थासम्म उचित वा अनुचित हुन्, तिनको जानकारी दिने काम अभिभावकको हो । हामीले दण्ड वा पुरस्कार दिन कतै एक पटक मात्र चुक्यौँ भने पनि त्यहाँ अनर्थ हुन सक्दछ । बालबालिका अपरिपक्व हुन्छन् त्यसैले तिनको विवेक पनि जागृत भइसकेको हुँदैन । त्यसैले, विवेकशील अभिभावकले समाजले निर्धारण गरेका मूल्य, आदर्श र नीतिनियमको अभ्यासलाई घरमै पनि व्यवहारमा ल्याउन सिकाउनुपर्ने हुन्छ । चोरी,डकैती, लुटपाट, दुव्र्यसन आदिलाई छुट दिने बाबुआमा वास्तवमा शत्रु नै हुन् । हाम्रा केटाकेटीले यदि नयाँ सामान लिएर आएका छन् भने कहाँबाट केकसरी लिएर आए त्यसको जानकारी लिएर तदनुसार दण्डित वा पुरस्कृत गर्ने हो भने भविष्यमा हुनसक्ने सम्भाव्य दुर्घटनाबाट उनीहरू समयमै जोगिन सक्दछन् । चोरी चाहे जुनसुकै किसिमको किन नहोस्, आखिर त्यो चोरी नै हो । विद्यालयमा चिट चोर्नुलाई हामीले बदमासी मान्ने गरेका छौँ ।

विद्यार्थीले चिट चोरेका बेलामा देखेको नदेख्यै गर्ने शिक्षकले पनि अन्ततः आफ्नो विद्यार्थीलाई दुर्गतिको दिशामा धकेलिरहेका हुन्छन् । चोरीको नयाँ चिज लिएर आउँदा प्रोत्साहन दिने बाबुआमा बाबुआमा नभएर हत्यारा हुन् । सुसंस्कृत अभिभावकका छोराछोरीहरू पनि सुसंस्कृत हुनेगर्दछन् । आफ्ना छोराछोरीलाई समाजले मान्यता दिएका मूल्य, आदर्श र व्यवहारप्रति प्रतिबद्ध हुन अनेक तरिकाले प्रोत्साहन गर्ने बाबुआमा नै सुसंस्कृत अभिभावकको कोटीमा पर्दछन् । हाम्रा बदमासीलाई स्याबासी दिनेहरू तत्कालका साथी र सहयोगीजस्ता देखिए पनि कालान्तरका अपराधी हुन् । मानिसले जानेर अपराध गरेको हुँदैन । व्यक्तिले गरेका ससाना अपराधलाई नजिकका मानिसले अनुमोदन वा समर्थन गरेकाले र यो यी अपराध हुन् भनेर थाहा नदिएका हुनाले नै ऊ अपराधी हुने गरेको हो । हामीले हाम्रा केटाकेटीलाई दिने माया कतै भविष्यका लागि विष हुने खालको त छैन रु विचार नगरिनहुने भएको छ । आज ढाँटछल, लुटपाटजस्ता क्रियाकलाप बायाँ हातका खेल भएका छन् ।

हामीले छोराछोरीलाई त्यस्ता क्रियाकलापमा सहभागी भएको यदि मन मराउँदैनौँ भने तिनका जालझेल र छलकपटप्रति सचेत बन्नु र आवश्यकतानुसार दण्डित गर्नु पनि हाम्रो अभिभावकीय धर्मभित्र पर्दछ । आफ्ना केटाकेटीले गरेका गल्तीहरूको अन्धाधुन्ध समर्थन गर्ने र शिक्षकसँग जोरी खोज्ने बाबुआमाले पनि छोराछोरीलाई बिगारिरहेका हुन्छन् । हामीले त बालबालिकालाई सुन्दर बनाउनु छ । उनीहरूले भोलिका दिनमा दुःख पाउन नपरोस् र आदर्श नागरिक बनेर प्रतिष्ठित जीवन बाँच्ने अवस्था सिर्जना होस् भन्नका लागि हरेक अभिभावकले आज आफ्ना बालबालिकाले गरेका नराम्रा कामहरूमा दण्डित गर्ने र राम्रा कामहरूमा पुरस्कृत गर्ने संस्कारको विकास गर्नु अत्यन्त आवश्यक छ । अन्यथा हाम्रा कान पनि चुँडिन सक्दछन् र आफ्ना छोराछोरीको असामयिक मृत्युमा छाती पिटिपिटी रुनुपर्ने अवस्था पनि आउन सक्दछ ।

हामीले आज भनेका कुरा केटाकेटीलाई नमिठा लागे पनि अन्ततः तिनले कुनै दिन अवश्य महसुस गर्नेछन हामीले भनेका कुराको मिठास । त्यसैले, भोलि कान गुमाउनुभन्दा आजै समय छँदै ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सिकाउने हो भने हाम्रो कान पनि जोगिन्छ र हाम्रा केटाकेटीले असमयमै ज्यान गुमाउनुपर्ने अवस्थाको पनि सधैँका लागि अन्त्य हुन सक्दछ ।

 

प्रतिक्रिया