Edukhabar
बुधबार, १० पुस २०८१
विचार / विमर्श

विश्वास गुमाउँदै विश्वविद्यालय, विदेशिदै विद्यार्थी

विहीबार, २६ भदौ २०७१

- श्रीधर पौडेल

देशमा नौ वटा विश्वविद्यालय छन् । घरकै मानो मुठी खाएर, नेपाली शुल्क तिरेर पढ्ने सुविधा यहीँ छ ।

विदेशी विश्वविद्यालयसित सम्बन्धन लिएर चलेका कलेजको संख्या पनि सयभन्दा बढी छ । तर, नेपालका विश्वविद्यलायले विश्वास गुमाउने र नेपाली विद्यार्थीे विदेशिने क्रम भने वर्षेनी बढिरहेकै छ ।


विदेश अध्ययनको रहर विशेष गरी प्लस टु उत्तिर्ण उमेर समूहका विद्यार्थीमा सबैभन्दा बढी देखिन्छ । विश्लेषकहरुका अनुसार यसले स्वदेशका उच्च शिक्षा प्रदायक शिक्षालयप्रति अविश्वास बढ्दै गएको देखाउँछ । चरम राजनीतिकरण, आर्थिक अनियमितता र कमजोर व्यवस्थापनका कारण विश्वविद्यालयले शैक्षिक क्यालेन्डर लागू गर्न सकेका छैनन् ।

शैक्षिक क्यालेन्डर लागु नहुदाँ विश्वविद्यालयहरुको शैक्षिक स्तर वर्षनै गडबड भएको छ । जसले गर्दा तीन वर्षमा सकिनु पर्ने स्नातक तह ६ देखि ७ वर्ष, २ वर्षमा सकिनु पर्ने स्नातकोत्तर तह ५ वर्ष सम्म लाग्ने गरेको छ । बेलामा कक्षा, परीक्षा सञ्चालन नहुने र नतिजा प्रकाशन पनि ढिलाइ हुने हुदाँ विद्यार्थीले योजना अनुसार अघि बढ्न पाएका छैनन् ।


‘नेपालका विश्वविद्यालयले नेपाली विद्यार्थीमाझ आफूलाई विश्वसनीय बनाउन सकेनन्,’ त्रिभुवन विश्वविद्यलायसित सम्बन्धन लिएर चलिरहेको एउटा कलेजका सञ्चालकले भने, ‘पछिल्लो समय विश्वविद्यलायमा बढ्दै गएको आर्थिक अनियमितता, अख्तियार दुरुपयोग अनुसन्धान अयोगको छापा तथा विश्वविद्यालयका पदाधिकारीको गिरफ्तारीले त्यो अविश्वास झन् बढाएको छ । अभिभावक तथा विद्यार्थी दुवै सकेसम्म विदेशमै पढाउन,पढ्न चाहन्छन् ।’


शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार आर्थिक वर्ष २०७०/०७१मा २८ हजार १ सय २६ जना विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएका छन् । यो तथ्यांक भारत बाहेकका मुलुकमा अध्ययन जाने विद्यार्थीको हो । छिमेकी भारतमा अध्ययनका लागि जान नो अब्जेक्सन लेटर नचाहिने भएकाले कति विद्यार्थी भारतका विभिन्न विश्वविद्यलायमा अध्ययन गर्छन् भन्ने जानकारी राज्यसित छैन ।

युनिभर्सिटी भिलेजका सञ्चालक सोमनाथ घिमिरेको अनुमानमा भारत बाहेकका मुलुकमा २५ हजार र झन्डै त्यही संख्यामा नेपाली विद्यार्थी भारत अध्ययनमा जाने गरेका छन् । मन्त्रालयमा नो अब्जेक्सन लेटर लिन विद्यार्थीको दिनहँु लाम लाग्ने गरेको छ ।


स्रोतहरुका अनुसार ९ विश्वविद्यालय मध्ये ७ विश्वविद्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन् । अख्तियारले विश्वविद्यालयको परीक्षादेखि प्रशासन सम्म अनियमितता भएको आशंकामा कागजात तथा पदाधिकारीलाई समेत नियन्त्रणमा लिदाँ विश्वविद्यलायका दैनिक काम प्रभावित भएका छन् ।

 

यसको सबैभन्दा ठूलो प्रभाव नेपाली विद्यार्थीको मनोविज्ञानमा परेको छ । आयोगले अहिले सम्म नेपाल संस्कृत, त्रिभुवन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा छापा मारिसकेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १६ जना अधिकारीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्धा  दायर भएको छ ।

अन्य विश्वविद्यालयका कागजात तथा गतिविधि छानविनमा छन् । विश्वविद्यालयहरुले पूर्वाधार निर्माण, समान खरिद प्रक्रिया, शिÔक तथा कर्मचारी नियुक्त र सम्बन्धन दिदाँ आर्थिक अनियमितता हुने गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १६ जनलाई १ करोड ८९ लाख ८६ हजार ४८ रुपैया“ बिगो कायम गरी भ्रष्टाचार गरेको प्रमाणित गर्दैं विशेष अदालतले जरिवाना गराएको छ ।


एक विश्वविद्यालयबाट सम्बन्धन लिएको नीजि कलेजका सञ्चालक अख्तियारको कारवाहिले विद्यार्थी सँख्या घटेको दावि गर्छन् । उनी भन्छन् ‘ठिक्क भर्नाको मुखमा आएर कारवाहि गर्नुले विदेश जाने विद्यार्थीलाई बल पुग्यो ।’ कोही पनि अभिभावक अस्थिरतामा आफ्नो सन्तानलाई पढाउन चाहँदैँन ।

 

उनी भन्छन्, ‘पोहोर यो समयमा मारामार फर्म वितरण हुन्थ्यो अहिले फाट्टफुट्ट मात्रै भएको छ ।’
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईराला विदेश जाने विद्यार्थीको प्रबृत्तिका बारेमा फरक धारणा राख्छन् । उनी भन्छन्, ‘गुणस्तर भएन भनेर विदेशीने नेपाली विद्यार्थीको सँख्या न्यून छ, अधिकाँश अभिभावक र विद्यार्थीका लागि विदेशको पढाई भनेको बहाना मात्रै हो, उनीहरु मध्ये अधिकाँश पढ्न भन्दा पनि समाजमा रवाफ देखाउनका लागि मात्रै सन्तानलाई विदेश पठाउँछन् ।’


त्यसो त, बढ्दो प्रविधि र विकासले संसार साघुरिँदै गएको छ, अहिलेको पुस्ता एकै ठाउँमा बसेर भन्दा संसारको ठूलो घेरामा बसेर आफूलाई फराकिलो बनाउन चाहन्छन् । विदेशी शैक्षिक योग्यता संसारमा बिक्न सक्ने र काम सँगै आफ्नो अािर्थक हैसियत पनि बढाउन सक्ने भएकाले पछिल्लो पुस्तामा विदेश मोह देखिन्छ ।


शिक्षाविद् प्रा.डा. विनय कुसीयत विद्यार्थी विदेशिनुलाई बाध्यता मान्छन् । उनी भन्छन् ‘अति राजनीतिकरणले त्रिवी जस्तो ईतिहास भएको विश्वविद्यालयले गुणस्तरमा ध्यान दिन सकेन, यसले दक्षता घट्यो र विद्यार्थीलाई विदेश नगई नहुने बाध्यता सृजना भयो ।’ विद्यार्थी विदेशिनुमा अरु रहर पनि सँगै गाँसिएर आएका हुन्छन् ।

 

विशेष गरी विकसित मुलुकमा पढ्न जाँदा तिनले पढाइमात्रै सिक्दैनन् त्यहाँको संस्कार र काम गरेर केही रकम पनि आर्जन गर्छन् । शिक्षा मन्त्रालयका पदाधिकारीहरु भने विद्यार्थी यसरी विदेशिदाँ देशको अर्बौ रकम बाहिरिएको तर्क गर्छन् । भन्छन्, हामीले हाम्रा विद्यार्थीलाई स्वदेशमा रोक्न नसकेर अर्बौ रुपैया बाहिरिएको छ ।


नेपालका कलेज सञ्चालकहरु चाहिँ नेपालको पढाइ कमजोर नभए पनि त्यो विश्वास दिन नसकिएको स्वीकार्छन् । भन्छन्, ‘कति विद्यार्थीमा देखासिकी पनि छ । सँगै पढेका, टोल छिमेकका र चिने जानेका साथीभाइ विदेश पढ्न जाने भएपछि देखा सिकीका लागि पनि विद्यार्थी विदेशिएका छन् । अभिभावक पनि छिमेकीको जस्तै आफ्नो छोराछोरी पनि विदेश पढेको हेर्न भन्न चाहन्छन् ।’


‘विद्यार्थी विदेशिदाँ उनीहरुबाट अर्बौ रुपैयाँ विदेशियो भने पनि विद्यार्थीले पाउने सीप र विदेशमा थोरै काम गरेर भए पनि आर्जेको रुपैँयाले देशलाई पनि फाइदा भइरहेकै हुन्छ’ भन्ने तर्क पनि उत्तिकै सुन्निछ । यस्तो तर्क गर्नेहरु भन्छन् ‘सिकाइको दायरा पनि फराकिलो हुन्छ ।’

 

तर शिक्षाविद् भोला दहाल विदेशीने विद्यार्थीबाट देशले फाईदा पाउँछ भन्ने तर्क सँग असहमत छन् । उनी भन्छन्, ‘विदेशमा पढ्न जाने भनेको सजिलै भिसा पाउने बहाना मात्रै हो, देशका लागि दिर्घकालमा यसको डरलाग्दो समस्या हुन्छ ।’

पछिल्लो ५ वर्षमा विदेश अध्यनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या

आर्थिक वर्ष         नो अब्जेक्सन लेटर लिने  विद्यार्थी संख्या
०६६/६७             २४ हजार ८ सय २४
०६७/६८             २६ हजार ९ सय ४८
०६८/६९             ११ हजार ९ सय १२
०६९/०७०             १६ हजार ४ सय ९९
०७०/०७१          २८ हजार १ सय २६ जना

प्रतिक्रिया