Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

स्थानीय सरकारलाई सुझाव, शिक्षकको जाँच पनि समय समयमा गर्नु

बुधबार, २१ असार २०७४

काठमाडौं - रमेश कुइँकेललाई सार्वजनिक विद्यालयप्रति त्यति विश्वास छैन । तर पनि उनी आफ्ना दुई छोरीहरु रीना र मिनालाई कंकेश्वरीस्थित परोपकार माध्यमिक विद्यालयमा पढाइरहेका छन् ।

‘छोरीहरुलाई यहाँ रहरले नभएर बाध्यताले पठाएको हुँ । काठमाडौंमा बस्नुपर्छ, ज्यालादारी काम गर्नुपर्छ, बोर्डिङमा पढाउन सकिन्न, आम्दानीले पुग्दैन ।’ उनले बाध्यता सुनाए ।

सीमित आय भएका कारण बोर्डिङमा पढाउन नसकेको पिडा उनी खुलस्तै बताउँछन् । सामुदायिक विद्यालयमा राम्ररी पढाउँदैन भन्ने कुरा आफूलाई थाहा भएको बताउँदै रमेश निर्वाचनपछि चुनिएर आएका जनप्रतिनीधिहरुले विद्यालय सुधार गर्ने उपाय खोज्छन् की भन्ने झिनो आशामा भने बसिरहेका छन् ।

काठमाडौंकै साँखुस्थित भाग्योदय माविको कक्षा ७ मा सन्तान पढाउने लक्ष्मी मानन्धरसँग पनि स्थानीय जनप्रतिनीधिहरुले काम सम्हालेसँगै शिक्षामा राम्रो काम होला कि भन्ने अपेक्षा छ ।

काठमाडौंका यी दुई अभिभावकले जस्तै गरी सामुदायिक  विद्यालयमा आफ्ना सन्तान पढाइरहेका अधिकांश अभिभावकहरुले शिक्षामा सुधारको आशा गरेका छन् । माध्यमिक तह अर्थात् प्रारम्भिक कक्षादेखि कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहतमा आइसकेको बेलामा पनि शिक्षामा सुधार गर्न नसके अरु बेला शिक्षामा सुधार नआउने अभिभावकहरुको भनाइ छ ।

शिक्षामा सुधारका लागि जनप्रतिनीधिको अगाडि चुनौतिको चाङ नै छन् । तैपनि अभिभावक आशावादी छन् । ‘आशा छ त नि, हामीले भोट दिएर जिताएका नेताले नगरे कसले गर्छ ?’ कागेश्वरी मनहरा नपास्थित आनन्द भैरव माविको कक्षा ९ मा सन्तान पढाइरहेका कमल लामिछानेले भने ।

पछिल्लो समयमा सामुदायिक विद्यालयप्रति अभिभावकहरुको आर्कषण घट्नुमा सरकारलाई भन्दा बढी विद्यालयमा पठनपाठन गराउने शिक्षक, प्रधानाध्यापकलाई नै दोषी ठानेको धारणा राख्दै विद्यालय सुधारको लागि शिक्षक र प्रअलाई नै बढी जिम्मेवार बनाउने किसिमको नीति निर्माण गर्न स्थानीय तहमा चुनिएर आएका जनप्रतिनीधिहरुलाई सुझाव दिन्छन् अभिभावक ।

स्थानीय तहमा आएको शिक्षाको अधिकारका विषयमा विभिन्न स्थानका अभिभावकसँग भएको भेटमा उनीहरुले शिक्षकको परीक्षा पनि समय समयमा हुनुपर्ने बताए । ‘स्थानीय तहमा आएको शिक्षालाई सुधार गर्न अब स्थानीय तहमा रहेका विद्यालयमा पढाउने शिक्षकको पनि समय समयमा जाँच लिनुपर्छ ।’ भक्तपुरको चाँगुनारायण नपा ९ फैढोकास्थित फैढोका निमाविमा सन्तान पठाएका अभिभावक उत्तम साखकर्मीले भने ।

उनले विद्यार्थीको जाँच लिएजस्तै गरी शिक्षकको पनि समयसमयमा जाँच लिन सकेको खण्डमा शिक्षकहरु अपडेट हुने र विद्यार्थीप्रति जिम्मेवार बनाउन सहज हुने बताए ।

कुइँकेल भने विद्यार्थीको सिकाइ उपलब्धि अनुसार शिक्षकलाई सेवा र सुविधा निर्धारण गर्न सुझाव दिन्छन् । ‘अहिलेका शिक्षकमा जसरी पढाए पनि हुन्छ भन्ने छ, त्यो हुँदा जिम्मेवार बनाउन सकिएको छैन, यसैले शिक्षकको सेवा सुविधालाई सिकाइ उपलब्धिसँग जोड्नुपर्छ ।’

त्यस्तै मानन्धरले भने शिक्षकको समयलाई ख्याल गर्नुपर्ने, तिनीहरुलाई नजिकबाट निगरानी गर्नुपर्नेमा जोड दिन्छिन् । शिक्षकहरु कोही ९ बजे आउने, कोही ११ बजे, अनि कोही छिट्टै जाने गरेका छन्, त्यस्ता शिक्षकहरुलाई निगरानी गर्नुपर्छ । यतिमात्र नभएर कक्षाकोठामा जाने समय, विद्यालयमा बिताउने समयका बारेमा पनि ध्यान दिनुपर्छ ।’ उनको सुझाव छ ।

शिक्षकका सन्तानलाई पनि सामुदायिकमै पढाउन सकेको खण्डमा शिक्षामा सुधार आउने अभिभावक बताउँछन् । ‘हामी चाहिँ सरकारीमा पढाउने, अनि हाम्रा सन्तान पढाउने शिक्षकका सन्तानचाहिँ बोडिङ्मा पढाउने भएपछि त्यस्ता शिक्षकलाई अभिभावकले कसरी विश्वास गर्छ, त्यही भएर सरकारी शिक्षकले आफ्ना सन्तान पनि सरकारीमै पढाउने नियम बनाउनुपर्छ ।’ सूर्यविनायक कटुञ्जे निवासी अर्का अभिभावक राजाराम कार्की भन्छन् ।

अभिभावकहरुबाट आएको त्यस किसिमका सुझावलाई निर्वाचित जनप्रतिनीधिहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । चाँगुनारयण नपा ९ ताथलीका वडाध्यक्ष गणेश त्यात भन्छन्, ‘शिक्षाको अधिकार स्थानीय तहमा आइसकेपछि सार्वजनिक शिक्षा सुधारका बारेमा पनि चासो बढेको छ, हामी पनि हाम्रो स्थानमा रहेका विद्यालयको सुधारको लागि के गर्न सकिन्छ भनेर सल्लाह र सुझाव मागिरहेका छौं ।’

त्यस्तै काठमाडौंको कागेश्वरी मनहरा नपाका मेयर हरिकृष्ण थापाले पनि जनताबाट आएको राय, सल्लाह अनुसारै काम गर्ने बताउँदै सम्भव भएका विषयलाई नीति नै बनाएर अघि बढाउने बताए ।

प्रतिक्रिया