Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

पासो लगाउनुपूर्व शिक्षकले लेखे, ‘मलाई माफ गर’

शनिबार, १७ असार २०७४

निजी विद्यालयहरुमा पढाउने शिक्षक कम पारिश्रमिकमा पढाउन बाध्य छन् । पढ्यो, अन्तिममा कुनै काम भेटिँदैन, बेरोजगार भएर बस्नुको सट्टा प्राइभेट स्कुलमा पढाएर भए पनि केही दिन गुजारौं, सम्भव भयो भने त्यहीँबाट जीन्दगी चलाउँ भन्ने हेतुले पढाउन पुगेका जोशिला युवाहरु विद्यालयका प्रिन्सिपल र सञ्चालकहरुको जोताइमा परिरहेका छन् । आफू खटेअनुसारको, आफ्नो क्षमता र योग्यताअनुसारको पारिश्रमिक नपाएपछि तलब बढाइदिनुपर्यो भन्ने अनुरोध गर्न जाँदा कस्तो सम्म अकल्पनीय घटना हुन पुग्छ ? भन्ने भावको लघुकथा हो, ‘प्रिन्सिपलको प्रपञ्च’ । सो कथा नारायणप्रसाद निरौला उर्फ नानि भारद्वजले लेखेका हुन् । सोही कथा साताको शिक्षा साहित्यमा ।

‘म जस्तो सोझो र इमान्दार शिक्षकको स्वभिमान माथि प्रिन्सिपलले......’ उमेश सर विद्यालय शिक्षा निकेतन बोर्डिङ स्कूलका विज्ञान शिक्षक थिए । भर्खरैमात्र बाइस वसन्त पार गरेका उमेश सर भौतिक शास्त्रमा प्रथम श्रेणीमा स्नातक उत्तीर्ण भई स्नातकोत्तर तहको प्रथम वर्षमा अध्ययनरत छात्र पनि थिए । संखुवासभाबाट एसएलसी उत्तीर्ण गरेपछि सातवर्ष अघिदेखि काठमाडौंमा दुःख गरी पढ्दै थिए । गाउँमा बाउ, आमा ,हजुर्बा, हजुरआमा र एउटी बहिनी,  एउटा सानो पाखे बारी र पाँच पाथे बेसीमा दुःखजिलो गरेकै थिए ।
उमेशले घरको दुःख सम्झी घरबाट पैसा खेप्न गाह्रो हुन्छ भनी एघार बाह्र टिउसन पढाएरै पढे । बाह्र उत्तीर्ण भएपछि विद्यालय शिक्षा निकेतन बोर्डिङमा पढाउन थाले । फरासिलो मिजासका उमेश समयमै विद्यालय जान्थे । विद्यार्थीलाई रत्याएरै पढाउँथे ।
विद्यालय प्राङ्गणको एक कुनामा दश–बिसजना अभिभावक, केहि छात्रा, शिक्षक अनि प्रिन्सिपल विवेकवान उपाध्याय भेला भएका छन् । उमेश सर प्राङ्गणभित्र प्रवेश गर्नबित्तिकै उनलाई प्रिन्सिपलले त्यहि भेला तिरै बोलाए । उमेश सर पुग्नेवित्तिकै कक्षा नौकी सरीता नाम गरेकी छात्रा, घुँक्क घुक्क रूँदै ‘मलाई उमेश सरले कत्ति दिनदेखि मेरो अस्मिता लुटिरहनुभएको छ ।’
प्रिन्सीपलः ‘के हो उमेश सर चाला माला ?’
उमेश सर : ‘होइन सर मैले त्यस्तो गलत काम गरेको छुइन ।’
अभिभावकः ‘माष्टर भएर यस्तो कुकर्म गर्ने ? यस्ता माष्टरलाई तुरून्त हटाउनुस् र पुलिसको जिम्मा लगाउनुस् प्रिन्सिपल ज्यू !’
प्रिन्सिपल : ‘पुलिसलाई त नदिउँ तर विद्यालयबाट चैं आजैदेखि निस्कासन गरिन्छ ।’
उमेश सरलाई तथानाम गाली गर्दै भोलि पल्टदेखि नै विद्यालय नआउने मौखिक उर्दि गरिन्छ । भोलि पल्ट उमेश सर बस्ने घरमा थुप्रै मान्छेको भिड लागेको छ ।
घरपटी आमैः ‘लौ न नी के भको यस्तो !’
पुलिस पनि आइपुग्छ अनि सिलिङ पङ्खा झुण्ड्याउने ठाउँबाट डोरी काट्दै उमेश सरको लास पोष्टमार्टमको लागि लाने भन्दै भ्यानमा राख्छन् । उमेश सरले लगाएको सर्टको गोजीमा एउटा कागज थियो जसमा लेखिएको थियो : प्रिय मेरा आफन्त जन, अभिभावक, विद्यार्थी भाइबैनाहरू एवं शिक्षक !
मलाई नखाएको विष लगाइयो । म जस्तो सोझो इमान्दार शिक्षकको स्वभिमानमाथि प्रिन्सिपलले हिलो छ्यापे । आखिर मैले समय अनुसार अलिकति तलब सुविधा मागेको मात्र थिएँ, मलाई नाटकीय रूपमा हटाउने षडयन्त्र गर्न मेरो स्वभिमानमा आँच आउने गरी प्रपञ्च रचेकाले सहन गर्न नसकी मैले यो कदम उठाएँ मलाई सबैले माफ गर्नू ।
– उमेश वि क
त्यसैबेला सरीता पनि आएर रूदै भन्न थाली :‘यो सबै प्रिन्सिपलको कर्तुत हो उसैले मेरो बाबालाई फिस माफी गर्दिने लोभमा फसाएर यस्तो हुन गयो । उमेश सर सबैभन्दा असल शिक्षक हुनुहुन्थ्यो ।’

 

प्रतिक्रिया