Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

मनिग्राम र चौधरी फाउन्डेसनले बनाए १० विद्यालय

सोमबार, ३१ जेठ २०७३

काठमाडौँ, ३१ जेठ । विप्रेषण सेवाप्रदायक कम्पनी मनिग्रामले गत वर्ष वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट प्रभावित क्षेत्रमा क्षतिग्रस्त १० वटा प्राथमिक विद्यालय पुनर्निर्माण सम्पन्न गरेको छ । कम्पनीले स्थापना गरेको मनिग्राम फाउन्डेसन र चौधरी समूहको बहु–राष्ट्रिय फिलान्थ्रोपिक इकाइका रूपमा रहेको चौधरी फाउन्डेसनको संयुक्त प्रयासमा विद्यालय पुनर्निर्माण गरिएको हो ।

१० वटा सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण गर्न मनिग्राम फाउन्डेसनले करिब ८० हजार डलर सहयोग रकम प्रदान गरेको थियो । नेपालका सबैभन्दा बढी भूकम्प प्रभावित अन्य ११ वटा जिल्लालाई पुनस्र्थापित गर्ने चौधरी फाउन्डेसनको प्रतिबद्धताअनुरूप सामुदायिक विद्यालय पुनर्निर्माण गरिएको हो ।

कार्यक्रमबारे जानकारी दिँदै नेपाल र भारतका वरिष्ठ क्षेत्रीय निर्देशक कौशिक रायले भने, ‘मनिग्राम फाउन्डेसनले सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्ने प्रयासमा सहयोग पुर्‍याउँदै आएको छ । मनिग्राम र चौधरी फाउन्डेसनको सहकार्यविना भूकम्पप्रभावित क्षेत्रका बालबालिकाले सहज रूपमा विद्यालय भवन पाउने थिएनन् ।’

उनका अनुसार चौधरी फाउन्डेसनसँग मिलेर सन् २०१५ मा निर्माण भएका र सन् २०१६ मा निर्माण हुने विद्यालयले बालबालिकाको जीवनमा परिवर्तन आउनेछ । त्यस्तै, विनाशकारी भूकम्पमा परी क्षतिग्रस्त भएका विद्यालयको समुचित व्यवस्थापन गर्न र समुदाय पुनर्निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीले बताएको छ ।

कार्यक्रममा चौधरी समूहका उपाध्यक्ष मुन लीले भने, ‘नेपाललाई सहयोग गर्ने जोकोहीलाई पनि चौधरी फाउन्डेसनले सधैँ स्वागत गरेको छ । गत वर्ष विद्यालय र घर पुनस्र्थापना गर्ने प्रयासमा मनिग्राम फाउन्डेसनले विद्यालय पुनर्निर्माणका लागि गरेको सहयोगले हामीलाई उद्देश्य प्राप्तिमा थप हौसला मिलेको हो ।’

भूकम्पमा परी क्षतिग्रस्त भएका स्थानमध्ये नेपालको शैक्षिक क्षेत्र पनि एक हो । भूकम्पमा परी लगभग २० हजार विद्यालय क्षतिग्रस्त हुनुका साथै ४ लाखभन्दा बढी विद्यार्थी प्रभावित भएका थिए ।

नेपालको युवा शक्तिको विकासलाई बढावा दिने, शिक्षाको प्रचारमा सहयोग गर्ने लक्ष्य लिएको चौधरी समूहको साथमा मिलेर मुलुकलाई पुनस् पहिलेकै अवस्थामा ल्याउन मनिग्राम फाउन्डेसनले विद्यालय पुनर्निर्माणमा सहयोग गरेको कम्पनीको भनाइ छ ।

चौधरी फाउन्डेसनले मनिग्राम फाउन्डेसनसँगको सहकार्य उद्देश्यअनुरूप सहयोग गरेको जनाएको छ । पुनर्निर्माणमा जारी प्रयासबारे सम्बन्धित पदाधिकारीलाई जानकारी गराउँदै पुनर्निर्माण अगाडि बढाउन चौधरी फाउन्डेसनसँग आबद्ध इन्जिनियर प्रशासनिक खर्चविनै आधारभूत खर्चमा भूकम्प प्रभावित क्षेत्रमा खटिइरहेको फाउन्डेसनले जनाएको छ ।

मनिग्राम फाउन्डेसन संसारभरका बालबालिकाको शैक्षिक क्षेत्रमा पहुँच र शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रहँदै आएको छ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया