Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पदाधिकारीको विवादले त्रिविको काम प्रभावित

सोमबार, ३१ जेठ २०७३

काठमाडौँ, ३१ जेठ ।  त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीचको विवादले उग्ररूप लिन थालेको छ । पदाधिकारीबीच एकले गरेको प्रस्ताव अर्कोले नमान्ने र छलफल नै नगरी काम गर्ने क्रमले त्रिविको नियमित कामसमेत प्रभावित भएको छ ।

उपकुलपति प्रा.डा.तीर्थराज खँनिया र रजिस्ट्रार डिल्ली उप्रेतीबीच विवाद चर्किएको छ । कर्मचारी स्रोतका अनुसार पदाधिकारीहरूले आफूसाग छलफल नै नगरी निर्णय गर्ने गरेको गुनासो उपकुलपतिको छ । पदाधिकारीले पनि उपकुलपतिले आफूहरूको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउने गरेका छन् ।

एक–अर्काका कार्यक्रम रोक्ने प्रयास

विवाद बढ्दै जाँदा दुवै पदाधिकारी एउटै कार्यक्रममा देखिन छाडेका छन् । पछिल्लो समय दुवैथरी एक–अर्काले आयोजना गरेको कार्यक्रम नै भाँड्न लागेका छन् ।

भर्खरै त्रिवि सेवा प्रवेश गरेका कर्मचारीका लागि आयोजना गरेको कार्यक्रमबाट उपकुलपति र रजिस्ट्रारबीचको विवाद छताछुल्ल भएको हो । त्रिवि कर्मचारी स्रोतका अनुसार रजिस्ट्रारले त्रिवि सेवामा प्रवेश गरेकालाई सेवाकालीन तालिम सञ्चालन गर्न १२ जेठको समय तोकेका थिए ।

तर, आफूलाई जानकारी नै नदिई रजिस्ट्रारले कार्यक्रम राखेको भन्दै उपकुलपतिले कार्यक्रम रोके । त्यसपछि उपकुलपतिले अर्कै कार्यक्रम तय गरेको स्रोतले बतायो । भर्खरै सेवामा प्रवेश गरेका कर्मचारीलाई २८ जेठमा नियुक्ति दिएर ३० जेठमा तालिम दिने तयारी गरिएको छ । रजिस्ट्रार डिल्ली उप्रेतीले पहिलोपटक सेवा प्रवेश गर्न लागेका कर्मचारीलाई तालिम दिन लागिए पनि प्राविधिक कारणले पूरा हुन नसकेको बताए ।

नियुक्तिमा समेत मतभिन्नता

त्रिविको प्रशासनिक कामको जिम्मेवारी रजिस्ट्रारलाई दिइएको छ । झन्डै दुई महिनाअघि रजिस्ट्रार उप्रेतीले गोविन्द प्रधानलाई सामान्य प्रशासनको प्रमुखमा नियुक्त गरेका थिए । तर, सो निर्णय तत्काल रद्द गर्न लगाएर उपकुलपति प्रा।डा खँनियाले विष्णुप्रसाद थपलियालाई नियुक्त गरिसकेका छन् ।

रजिस्ट्रार उप्रेतीले लगेको अर्को प्रस्ताव पनि उपकुलपतिले फिर्ता गरेका छन् । त्रिविका क्षेत्रीय कार्यालयमा काम गर्ने कर्मचारीलाई इन्टेन्सिभ दिने प्रस्ताव उपकुलपतिले छलफल नै नगरेको भन्दै फिर्ता गरेको कर्मचारीको भनाइ छ ।

हस्तक्षेप गर्ने चाहना देखियो  : रेक्टर त्रिपाठी

त्रिवि रेक्टर प्रा।डा। सुधा त्रिपाठीले केही विषयमा कार्यक्षेत्रबाहिर जान खोजेको देखिएको बताइन् । ‘हस्तक्षेप गर्ने चाहना देखिएको छ, मैले त्यस्तो हुन दिएकी छैन,’ रेक्टर त्रिपाठीले भनिन्, ‘मैले भिसी र रजिस्ट्रारलाई आ–आफ्नो कार्यक्षेत्र स्पष्ट हुनुपर्‍यो भनेकी छु ।’ त्रिपाठीले तीनजना पदाधिकारी सफल भए मात्र विश्वविद्यालय सफल हुने भन्दै सबैले ध्यान दिनुपर्ने बताइन् ।

त्रिविका पदाधिकारीले एकमत भएर काम गर्न नसक्दा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा स्रोत जुटाउनसमेत समस्या रहेको छ । त्रिविले पुनर्निर्माणको काम सुरुवात गरे पनि तीव्रता दिन सकेको छैन ।

 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया